महानगरको मेयरको टिकट लिन पोखरा र चितवनबाट काठमाडौँ आएका कांग्रेस नेता रित्तै
काठमाडौँ : स्थानीय तहका नेताले तथ्याङ्कै देखाएर अन्तिम समयसम्म भरतपुर र पोखरा महानगरपालिकाको नेतृत्व नछाड्न कांग्रेस नेतृत्वलाई मनाउन खोजे पनि सफल भएनन्। नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा अनि चितवनका सभापति राजेश्वर खनाल मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएपछि जिल्लाको तथ्यांकसहित आएका थिए।
तर प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले दुवै ठाउँको नेतृत्व जसरी पनि एकीकृत समाजवादी र माओवादीलाई नदिई नहुने भो भन्दै उल्टै जिल्लाका नेताहरूलाई सम्झाउने जिम्मा दिएर पठाए।
तालमेल गर्ने भनेपछि अन्य दललाई पनि केही स्थान दिनुपर्ने जिम्मेवारी रहेको भन्दै उनले चितवन कांग्रेसका सभापति खनाललाई पार्टीको निर्णय बदल्न निर्देशन दिएका थिए। उता पोखराबाट आएका शर्माले कांग्रेसले नपाए पोखरामा दुर्घटना हुन्छ भन्दै तथ्याङ्क राखेपछि देउवाले निर्णय दिएनन्।
तर गठबन्धनको बैठकमा पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भयो। पोखराको नेतृत्व नलिई नछाड्ने सङ्केत एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दिउसै दिइसकेका थिए'गठबन्धनले हेप्यो' भन्दै।
स्थानीय तहको निर्वाचनमा जितेर एमालेभन्दा आफू बलियो रहेको सन्देश दिने एकीकृत समाजवादी पोखरा महानगरको नेतृत्व चाहन्थ्यो। त्यसमा ६ महानगरमध्ये चार वटा कांग्रेसले लिए पनि बाँकी २ वटा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पाउने भएपछि एक महानगरको नेतृत्व एकीकृत समाजवादीका लागि अस्तित्वकै लडाई बनेको थियो।
उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कुनै हालतमा भरतपुरमा छोरी रेणु दाहाललाई दोहोर्याएर मेयर बनाउनु थियो। उनी भरतपुर छाड्ने पक्षमा प्रारम्भदेखि नै थिएनन्।
जिल्ला नेताहरूले विद्रोहको चेतावनी दिए पनि उनी केन्द्रबाटै कांग्रेसका मतदातालाई आफ्नो पक्षमा मतदान गराउन बाध्य बनाउने रणनीतिमा लागे।
पार्टी महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गठबन्धन गर्दा भरतपुर कांग्रेसको भागमा नआए गठबन्धन नगरी मित्रवत् प्रतिस्पर्धा गर्न प्रस्ताव समेत गरेका थिए। तर माओवादी तयार भएन। प्रचण्ड कांग्रेसलाई धम्क्याउन गठबन्धनभित्र अर्को गठबन्धनको गृहकार्यमा लागेपछि देउवा प्रचण्डको माग मान्न बाध्य भए।
पोखरा र भरतपुरको नेतृत्व छाडेर कांग्रेसले वीरगन्ज सहित तीनै महानगरमा उपप्रमुख लियो। काठमाडौँ, ललितपुर र विराटनगरको मेयर पायो। माओवादी केन्द्रले ललितपुर महानगरपालिकाको उपप्रमुख पायो। एकीकृत समाजवादीले काठमाडौँमा उपप्रमुख र जनता समाजवादी पार्टीले विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ। वीरगन्ज महानगरको नेतृत्व जसपाले पाएको छ।
११ उपमहानगरपालिकाको नेतृत्वबारे भने अझैँ सहमति हुन सकेको छैन। महानगरको सहमति टुङ्ग्याएर रोकिएको बैठक बेलुका १० बजे बसेर सबै भागबन्डा टुङ्ग्याउने तयारी छ।
वैशाख ६, २०७९ मंगलबार २०:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।