समाजवादीलाई पोखरा महानगरमा रोक्ने कांग्रेसको प्रयास असफल, समाजवादीको भागमा मेयर

समाजवादीलाई पोखरा महानगरमा रोक्ने कांग्रेसको प्रयास असफल, समाजवादीको भागमा मेयर

पोखरा : एकीकृत समाजवादीको भागमा पोखरा महानगरपालिका परेको छ। मंगलबार बसेको गठबन्धनको बैठकले भागवण्डा टुंग्याउँदै पोखरा एकीकृत समाजवादीलाई दिने निर्णय गरेको हो। गठबन्धनका दलबीच पोखरा समाजवादीलाई दिनेगरी समहति भएको छ।

गतहप्ता कास्की कांग्रेसका सभापति किशोरदत्त बरालसहित तीन दर्जन भन्दा बढी नेताहरुले पार्टी सभपति शेरबहादुर देउवालाई भेटेर पोखराको मेयरमा कांग्रेसले कुनै पनि हालतमा छाड्न नहुने बताएका थिए।

जिल्ला नेताहरूको भेटमा सभापति देउवाले एक्लै चुनाव लड्दा जित्न सक्छौँ? तिम्रो साझा उम्मेदवार को हो? भन्दै प्रश्न गरेपछि उनीहरू मुखामुख गरेर पोखरा फर्किएका थिए। पोखरा फर्किएसँगै मेयर , उपमेयर लगायतका पद बाँडफाँडका लागि सहमति जुटाउन कास्कीमा रहेका गठबन्धनका दल बीच छलफल चलेका थिए। तर, सोमबार छलफल चलिरहेकै अवस्थामा कांग्रेसको एउटा गुटले पार्टी सभापति बराललाई जानकारी नै नदिइ गठबन्धन भित्रको दल समाजवादी सँगको सहकार्य टुटेकाले गठबन्धनका दल मिलेर चुनावमा जाने भन्दै विज्ञप्ति जारी गरेको थियो। 

सोमबार पोखराको न्यूरोडस्थित होटल दिपशागरमा गठबन्धनका दलबीच बैठक चलिरहेको अवस्थामा पार्टी सभापति लगायत शीर्षस्थ नेताहरूको सहमति बिना नै कांग्रेस महामन्त्री गगन कुमार थापा निकटका रुपमा चिनिने कास्की कांग्रेसका सचिब भानुभक्त ढकाल र देबेन्द्र रानाभाटले समाजवादीबाहेकका दलबीच मात्र चुनावी तालमेल हुने र पोखरा महानगरको मेयर कांग्रेसले लिने भन्दै विज्ञप्ति जारी गरेका थिए। 

उनीहरूको समाजवादीलाई गठबन्धनबाट हटाएको भन्दै विज्ञप्ति जारी गरेपछि केन्द्रमा जारी बैठकबाट समाजवादीका अध्यक्ष माधब कुमार नेपाल र कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्ना पार्टीका जिल्ला अध्यक्षहरूलाई फोन गरेका थिए। 

पोखराको मेयरलाई लिएर गठबन्धनमा विवाद बढेपछि मंगलबार सभापति देउवाले कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, शुक्रराज शर्मा र पूर्वमन्त्री यज्ञ बहादुर थापालाई काठमाडौँ बोलाएका थिए। देउवाले उनीहरूसँग काठमाडौँमा छलफल गरेर ६ वटा महानगरमध्ये तीन कांग्रेस एक समाजवादी, एक माओवादी र एक जसपालाई दिने पर्ने वध्यता भएकाले समस्या बुझ्न भन्दै आग्रह गरेका थिए।
 
कास्की कांग्रेसका नेताहरूसँगको छलफलपछि भएको गठबन्धनका दलको बैठकमा पोखरा समाजवादीलाई दिने गरी सहमति भएको हो।

यसअघि पोखरा महानगरपालिका कसले पाउने भन्नेमा विवाद थियो। पोखरा महानगरमा नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायतले गठबन्धनबाट दाबी गर्दै आएका थिए। तर आजको निर्णयसँगै विवाद अन्त्य भएको छ। 

समाजवादीबाट पोखरा महानगरको मेयरमा सम्भावना कस्को?
एकीकृत समाजवादीले पोखरा महानगरको मेयरमा १४ जना आकांक्षीहरुको नाम सिफारिस गरेको छ। पोखरा महानगरपलिकाको मेयरमा समाजवादीले जिल्ला अध्यक्ष धनराज आचार्य, केन्द्रीय सदस्य श्रीनाथ बराल, दामोदर शर्मा, विजयबाबु बनबासी, मदनकाजी श्रेष्ठ, प्रेम थापा, दिलु पन्त, नारायण बाँस्तोला, चित्रप्रसाद आचार्य, दुर्गाप्रसाद सुवेदी, भिमा पौडेल, नवराज अधिकारी, दाताराम आचार्य र देवेन्द्र बास्तोलाको नाम सिफारिस गरेको छ।

पार्टीले ठूलो संख्यामा नाम सिफारिस गरे पनि गठबन्धनका तर्फबाट मेयरमा धनराज आचार्यले पाउने निश्चित छ। त्यसपछिको सम्भावना श्रीनाथ बरालको रहेको छ। पार्टी अध्यक्ष धनराज आचार्यले पोखरा महानगरपालिकामा समाजवादीका संगठित सदस्यहरुको संख्या १२ हजार भएको ४८ पेज लामो लिस्ट पार्टी अध्यक्ष माधब कुमार नेपाललाई बुझाएका छन। साही लिस्टलाई देखाएर अध्यक्ष नेपालले गठबन्धनमा पोखरा समाजवादीलाई दिनु पर्ने अडान राखेका थिए। समाजवादीको यति ठुलो संगठन अन्य पालिकामा नरहेको र जिल्ला अध्यक्ष आचार्यको नेतृत्वमा पोखरा क्षेत्रमा आफ्नो पार्टीको ठूलो संगठन बनेकाले मेयरमा पार्टीले धनराजलाई नै सिफारिस गर्ने सम्भावना अधिक छ। 

अध्यक्ष आचार्य पोखरास्थित पृथ्बी नारायण क्याम्पसको पूर्व स्ववियू सभापति हुँदै एमालेमा रहँदा विभिन्न जिम्मेवारी निर्वाह गरेकाले एमालेको भोट तान्न सक्ने आँकलन पार्टीमा रहेको छ। राजनीति बाहेक व्यवसायी संघ–संस्था र सामाजिक कार्यमा लागेका उनले विभिन्न पार्टीको भोट तान्न सक्ने अनुमान गरिएको छ। 

उनी विभिन्न पब्लिकेशन, हाइड्रोपावर,उद्योग लगायत क्षेत्रमा लगानी रहेकाले चुनावका लागि खर्च गर्न सक्ने नेताका रुपमा समेत चिनिन्छन। 

वैशाख ६, २०७९ मंगलबार १८:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।