१०औँ बुटवल श्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता वैशाख १० मा हुने
बुटवल : बुटवलमा आगामी बैशाख १० गते १० औं बुटवल श्री अन्तर प्रदेश स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ। रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा १० औं संस्करणको बुटवल श्री हुन लागेको हो।
संघका अध्यक्ष सितु श्रेष्ठले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिए। युवाहरूलाई दुर्व्यसनबाट सचेत बनाउनुका साथै स्वास्थ्य प्रति सचेत गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता ६ वटा वजन समूह हुनेछ। ५५, ६०, ७०, ७५ र ७५ केजी भन्दा बढी तौल समूह गरी ६ वटा वजन समूहमा प्रतियोगिता हुने अध्यक्ष श्रेष्ठले बताए।
लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा आसपासका स्थानबाट १ सय ५० जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने छन्। प्रतियोगितामा विजेतालाई नगद १ लाख सहित ट्रफि र बुटवल श्रीको उपाधिबाट सम्मानित गरिने छ। उपविजेता पाँच जनालाई नगद १० हजार र ट्रफि सहित सम्मान गर्ने आयोजकले जनाएको छ।
प्रत्येक वजन समूहमा प्रथम हुने खेलाडीलाई मेडल सहित प्रमाण तथा ओभर अल प्रतियोगितामा सहभागिताका लागि अवसर दिइने अध्यक्ष श्रेष्ठले बताए। त्यस्तै प्रत्येक वजन समूहमा द्धितिय हुनेलाई ८ हजार र तृतिय हुने खेलाडीलाई ५ हजार प्रदान गरिनेछ। श्रेष्ठका अनुसार वजन समूहका विजेता खेलाडीहरूबिच प्रतिस्पर्धा गराएर ओभरअल विजेता हुने खेलाडीलाई १ लाख सहित बुटवल श्रीको उपाधि दिइने छ।
प्रतियोगितामा कुल ८ लाखको खर्च हुने अनुमान गरिएको छ। बुटवल उपमहानगरपालिकाले मात्र प्रतियोगिताका लागि ३ लाख प्रदान गरेको छ।
वैशाख ६, २०७९ मंगलबार १३:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।