लुम्बिनीमा गठबन्धनः कतै तालमेल भंग, कतै भागबण्डा मिल्दै नमिलेर सकस

लुम्बिनीमा गठबन्धनः कतै तालमेल भंग, कतै भागबण्डा मिल्दै नमिलेर सकस

बुटवलः लुम्बिनी प्रदेशका १२ जिल्लामा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धन दलहरूबीच अझै भागबण्डा मिलेको छैन। प्रदेशका चार उपमहानगरपालिकामा केन्द्रले नै भागबण्डा टुंगो लगाउँदैछ। 

केन्द्रमा गठबन्धनको बैठकबाट लुम्बिनीका चार उपमहानगरमध्ये चार वटैमा कांग्रेसले मेयर पाउनेगरी सहमतिको ड्राफ्ट तयार भएको छ। यद्यपि यसको निर्णय भइसकेको छैन। 

माओवादीले घोराही उपमहानगरपालिका र समाजवादीले कुनै एक उपमहानगरपालिका दावी गरे पनि अन्ततः गठबन्धनका अरू दल कांग्रेसकै सहयात्री बन्ने देखिएको छ। 

सहमतिको ड्राफ्टअनुसार बुटवलको मेयरमा कांग्रेस, उपमेयरमा एकीकृत समाजवादी, घोराही उपमहानगरको मेयरमा कांग्रेस, उपमेयरमा जनमोर्चा र माओवादीमध्ये एक, तुलसीपुर उपमहानगरको मेयरमा कांग्रेस, उपमेयरमा एकीकृत समाजवादी र नेपालगञ्ज उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा माओवादीलाई दिने गरी सोमबार गठबन्धनले सहमतिको ड्राफ्ट तयार पारेको स्रोतले बताएको छ। 

कांग्रेसले चार वटै उपमहानगरमा प्रमुख पाउने गरी तयार गरेको ड्राफ्टमा माओवादी र समाजवादीले भने विरोध गरेका छन्। आज अन्तिम निर्णय आउनुअघि माओवादी र समाजवादीलाई पनि सम्बोधन हुनेगरी सहमति बन्ने समाजवादीका एक नेताले बताए।

उपमहानगरको भागबण्डा टुंगो लागेको छैन। पालिकामा पनि गठबन्धनलाई भागबण्डा मिलाउन सकस छ। 

राष्ट्रिय जनमोर्चाको आधार ईलाका मानिएको प्युठानमा गठबन्धनका अन्य दलले जनमोर्चालाई एक्ल्याएको छ। झिमरुक गाउँपालिकामा जनमोर्चालाई गठबन्धनबाट एक्ल्याउँदै कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको छ। जबकी अघिल्लो निर्वाचनमा यो गाउँपालिकामा जनमोर्चा विजयी भएको थियो। 

त्यहाँ अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसले पाउने सहमति भएको छ। 

त्यस्तै नौबहिनी गाउँपालिकामा पनि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल गरेर जनमोर्चालाई एक्ल्याइएको छ। 

कांग्रेसलाई अध्यक्ष र माओवादीलाई उपाध्यक्ष दिनेगरी नौबहिनीमा पद बाँडिएको छ। 

यता दाङमा भने पार्टीमा गुटबन्दी, सिण्डिकेट, निषेधको प्रवृत्ति देखिएको भन्दै माओवादीका जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा समेत दिइसकेका छन्। उनको राजीनामाले गठबन्धनभित्रको असन्तुष्टिलाई सतहमा ल्याएको छ। 

रोल्पामा अहिलेसम्म भागबण्डा टुंगिएको छैन। १० गाउँपालिका रहेको रोल्पामा कांग्रेसले ५ पालिकामा आफूले नेतृत्त्व गर्न पाउनुपर्ने अडान राखेको छ। जबकी अघिल्लो निर्वाचनमा यहाँ जम्मा एक सिट मात्र कांग्रेसले जितेको थियो। 

माओवादीको आधार ईलाका मानिएको रोल्पामै कांग्रेसले १० मध्ये ५ वटा पालिका मागेपछि सहमति हुन सकेको छैन।

नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले भने ५ वर्षमा पार्टी संगठन विस्तार भएकाले आधा पालिका माग गरेको बताए।

यसैगरी रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेका ६ वटा पालिकामा मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनबीच सहमति भएको छ। एमालेलाई एक्लाएक्लै चुनावमा लडे पनि जित्न सक्ने निष्कर्षसहित गठबन्धनले लुम्बिनी सांस्कृतिक नगरपालिका, मर्चवारी, गैडहवा, सम्मरीमाई, कोटहीमाई र मायादेवीमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएको हो। 

अन्य पालिकामा गठबन्धन रहने बताए पनि कांग्रेस तिलोत्तमाले वडा अध्यक्षहरू एकलौटी सार्वजनिक गरेपछि भने यहाँ विवाद भएको छ।

कांग्रेसले सबै वडाध्यक्षका उम्मेदवार घोषणा गरेपछि माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले गठबन्धन रोक्ने षडयन्त्र भन्दै आएका छन्। 

सिद्धार्थनगर नगरापालिकामा जसपाले गठबन्धन नगर्ने भएको छ। जसपा सिद्धार्थनगर समितिका अध्यक्ष अर्जुनप्रसाद जैसवालले निर्वाचनमा गठबन्धनले जसपालाई कुनै उपलब्धि नहुने भएकाले गठबन्धन नगर्ने बताए। 

यता नेपालगञ्ज उपमहानगरपालिकामा मेयरको दावी गर्दै आएको जसपाले नपाउने भएपछि गठबन्धनबाट बाहिरिएको छ। रुकुमपूर्वमा कांग्रेसले दुई  पालिकामा दावी गरेपछि सहमति हुन सकेको छैन। तीन पालिका रहेको रुकुमपूर्वमा यसअघि ३ वटै पालिकामा माओवादीले विजय हासिल गरेको थियो। 

कपिलवस्तुको दक्षिणी क्षेत्रमा जसपाले तालमेल नगर्ने बताएको छ। निर्णय भने भइसकेको छैन। नवलपरासीमा कांग्रेसभित्रै गठबन्धन गर्ने वा नगर्ने भन्नेबारे विवाद छ।

गुल्मीमा मालिका गाउँपालिकामा मात्र भागबण्डा लगाएको गठबन्धनले अन्य पालिकामा अझै टुंग्याउन सकेको छैन्। मालिकामा माओवादीलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष दिने सहमति भएको छ।

लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनको शुक्रबार बसेको दलहरूको संयन्त्रको बैठकले वैशाख ६ गतेभित्र भागबण्डाको टुंगो लगाउन निर्देशन दिएको छ। तर पनि अझै भागबण्डा टुंगिने स्थिति देखिएको छैन। 

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जिल्लागत विवरण पठाउन भनिएको र छिट्टै गठबन्धबीचमा सहमति हुने बताए।

कांग्रेसका प्रदेश सभापति अमरसिंह पुन, माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बराल, एकीकृत समाजवादी प्रदेश अध्यक्ष मेटमणि चौधरी, जसपा प्रदेश अध्यक्ष अशोककुमार यादव, राष्ट्रिय जनमोर्चाका बद्रे आलम भागबण्डा मिलाउन दैनिकजसो छलफलमा बसेका छन्। तर जिल्ला तहमा बढी असन्तुष्टि हुँदा अन्तिम टुंगो लगाउन सकिरहेका छैनन्।

संयन्त्रको बैठकमा प्रदेशका १०९ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ८० वटा स्थानीय तह आफूले पाउनुपर्ने दावी गरेपछि अन्य दलका नेताहरू आक्रोशित भएको बताइएको छ। 

एकीकृत समाजवादीले २२ वटा पालिका पाउनुपर्ने प्रस्ताव अगाडि सारेको छ। माओवादीले यसअघि आफूले जितका १९ वटा र दोस्रो स्थानमा रहेका पालिकाहरू पाउनुपर्ने दावी गरिरहेको छ। 

जसपाले र जनमोर्चाले पनि पहिला आफूले जितेका र दोस्रो स्थानमा रहेका पालिकामा दावी गरेका छन्। 

गठबन्धनमा साना दलले अपेक्षा गरेभन्दा धेरै पालिकामा दावी गरेका कारण समस्या भएको कांग्रेस नेताहरूको भनाइ छ।

लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका गरी १०९ स्थानीय तह रहेका छन्। जसमध्ये २०७४ सालको निर्वाचनमा एमालेले ३ उपमहानगरपालिकासहित ४३ स्थानीय तहमा जित निकालेको थियो।

कांग्रेसले ३४, माओवादी केन्द्रले १९, संघीय समाजवादी फोरमले ६, राष्ट्रिय जनमोर्चा, मधेशी जनअधिकार फोरम र स्वतन्त्र उम्मेदवारले २/२ र राप्रपाले एक स्थानीय तहको प्रमुखमा जितेका थिए।

वैशाख ६, २०७९ मंगलबार १०:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।