कुश्मा निर्वाचन : गठबन्धनको बलमा जित्ने कांग्रेसको दाउ, जोखाना हेर्दै एमाले
पर्वत : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्वतमा चुनावी सरगर्मी बढ्न थालेको छ। आगामी पाँच वर्षका लागि नेतृत्वमा पुग्न विभिन्न पार्टीबाट उम्मेदवारका आकांक्षीहरु मरिमेटेर लागेका छन्।
दुई नगरपालिका र पाँच गाउँपालिका सहित सात स्थानीय तह रहेको पर्वतमा नेता तथा कार्यकर्ताले उम्मेदवार बन्ने आआफ्नो ढंगले लविङ गरिरहेका छन्।
२०७४ सालको स्थानीय निर्वाचनमा पर्वतमा एक्लाएक्लै लडेका दलहरू अहिले कांग्रेस सहितका पाँचदलीय गठबन्धन र एमाले एक्लै निर्वाचन लड्ने अवस्था देखिएको छ।
चुनाव जित्ने योजना बुन्दै दल
एमालेबाट दुई पटकसम्म सांसदमा उम्मेदवार बनेर पराजय भएका मोति पौडेल अहिले समाजवादीमा लागेर जिल्ला अध्यक्ष बनेकाले राम्रै एमालेलाई क्षति पुग्ने अनुमान गरिएको छ। पार्टीमा आएको फुटले आगामी निर्वाचनमा पराजय भोग्नु पर्ने भयले अहिले पर्वत एमालका नेताहरु त्रसित देखिन्छन्।
विगतका निर्वाचनमा कांग्रेस र एमालेले निर्वाचन जित्दै आएको पर्वतमा यसअघिको निर्वाचनमा जित हासिल गरेको एमालेले त्यही बिरासत जोगाउने योजना बनाइरहेको छ।
एमालेले केन्द्रीय नेताहरुलाई बोलाएर प्रचार अभियान गरिरहेको छ। उसले अध्यक्ष केपी ओलीलाई नै डाकेर आमसभा समेत गरिसकेको छ।
अर्कोतर्फ, एमालेमा आएको विभाजनको फाइदा उठाउँदै पर्वतका अधिकांश स्थानीय तहमा आफ्नो पक्षमा पार्ने दाउमा कांग्रेस, माओवादी लगायतका गठबन्धनका दल छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको गृह जिल्ला समेत भएकाले पर्वतमा अहिले निर्वाचनको माहोल तातिएको छ। निर्वाचन उनीहरुको प्रतिष्ठासँगै जोडिएकाले दुवै जना आ-आफ्नो पार्टीलाई जिताउनका लागि लागिपरेका छन्।
यतिबेला पर्वत सदरमुकाम कुश्माको चुनावी गतिविधिमा सबैको चासो देखिन्छ। कुश्मा नरपालिकामा कांग्रेस, एमाले, माओवादीका तर्फबाट मेयरको उम्मेदवार बन्नका लागि झण्डै एक दर्जन नेताले आकांक्षा देखाएका छन्।
नगरको प्रमुख र उपप्रमुखको टुङ्गो लगाउन गठबन्धनमा रहेका दलहरूले आन्तरिक रुपमा छलफल गरिरहेका छन्। त्यसैगरी अर्को प्रतिस्पर्धी नेकपा एमालेले पनि उम्मेदवारको बारेमा आन्तरिक छलफल चलाइरहेको छ।
कुश्मा नगरपालिकामा आगामी निर्वाचनमा मेयरमा उम्मेदवार बनाउनका लागि दुवै पक्षबाट १२ जनाले आकांक्षा देखाएका छन। २०७४ को निर्वाचनमा कुश्मा नगरपालिकामा कांग्रेसका तर्फबाट मेयरमा रामचन्द्र जोशी र उपमेयरमा सीता काफ्ले लामिछाने विजयी भएका थिए।
यस्ता छन् एमालेका आकांक्षी
नगरको मेयरका लागि एमालेका तर्फबाट केन्द्रीय सल्लाहकार सदस्य गणेश पौडेल, जिल्ला कमिटीका सचिव गोविन्द पहाडी, उपसचिव शिव पौडेल र एमाले प्रदेश कमिटी सचिवालय सदस्य मेघनाथ सुवेदीको नाम चर्चामा छ। यीमध्येका सुवेदी यसअघिको स्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका थिए। उनी नेपाली कांग्रेसका रामचन्द्र जोशीसँग पराजित भएका थिए।
अर्का आकांक्षी पौडेल पर्वतको पुराना कम्युनिष्ट नेता हुन्। झण्डै पाँच दशकभन्दा लामो समय कम्युनिष्ट राजनीतिमा बिताएका पौडेलले अहिलेसम्म कुनै लाभको पद पाएका छैन। विगतमा उनलाई पार्टीले दुई पटकसम्म सांसदमा उठाएको थियो। तर दुवै निर्वाचनमा उनी पराजित भएका थिए।
त्यसैगरी पार्टीका उपसचिव शिव पौडेलले पनि मेयरमा आकांक्षा देखाएका छन्। उनी २०७४ को निर्वाचनमा कुश्मा नगरपालिका- ११ बाट वडाअध्यक्षमा निर्वाचित भएका थिए। उनी यस क्षेत्रको विकास निर्माणमा सक्रिय नेताका रुपमा परिचित छन्।
त्यसैगरी एमालेका सचिव पहाडीले पनि मेयरमा आकांक्षा देखाएका छन्। उनी अहिले पर्वत एमालेको संगठन विस्तारमा सक्रिय रहँदै आएका छन्।
कांग्रसका आकांक्षी बढी
कांग्रेसका तर्फबाट बहालवाला मेयर रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, कांग्रेस पर्वतका सभापति युवराज जोशी, उपसभापति चुडामणि शर्मा, बसन्तबहादुर सिके र शिव शर्मा अधिकारीको नाम चर्चामा छ।
पर्वतका विकट गाउँहरुलाई मिलाएर नगरपालिका बनाएकाले पहिलो कार्यकालको पाँच वर्षमा नगरपालिकाका जग बसाल्ने कार्य गरेकाले जनताले महसुस गर्ने गरी काम गर्न पुनः एक कार्यकाल मेयरमा उठन चाहेको आकांक्षी रामचन्द्र जोशी बताउँछन्।
उनी भन्छन्,‘पाँच वर्षको अवधिमा शून्य अवस्थाबाट जग बसाल्ने काम गरेको छौं। नगरपालिका घोषणा गरिए पनि आधिकांश ठाउँ ग्रामीण क्षेत्र भएकाले ती ठाउँमा नगरपालिका बन्नका लागि आवश्यक पर्ने सामान्य पूर्वाधार बनाउनमा नै पाँच वर्ष खर्चियौं। पुनः पाँच वर्ष मेयर बनेर जनअपेक्षा अनुसारका काम सम्पन्न गर्न चाहन्छु।’
त्यसैगरी पाँच वर्षमा कुश्माको उपमेयर भएर महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेकाले आगामी निर्वाचनमा आफू मेयरको स्वभाविक दावेदार भएको उपमेयर सीता काफ्ले लामिछाने बताउँछिन्।
स्थानीय सरकारको उपप्रमुखको रुपमा काम गर्दा पाँच वर्षको कार्यकालमा धेरै खालका सिकाइ र अनुभव हासिल गरेकाले आगामी निर्वाचनमा कुश्मा नगरपालिकाको प्रमुखमा दावी गरेको उनी बताउँछिन्।
त्यसैगरी कांग्रेसबाट अन्य आकांक्षीहरुमा पर्वतका सभापति युवराज जोशी, उपसभापति चुडामणि शर्मा, बसन्तबहादुर सिके र शिव शर्मा अधिकारी छन्।
माओवादीलाई गठबन्धनकै भर
चुनावको मिति नजिकिए पनि उम्मेदवार छान्नका लागि नेकपा माओवादी केन्द्र अलमलमै देखिन्छ। आकांक्षीहरु पनि खासै खुल्न सकेका छैनन्। एमालेसँग पार्टी एकता गरेपछि ध्वस्त भएको पार्टी संगठनलाई पनि माओवादीले तीव्र रुपमा अगाडि बढाउन सकेको छैन।
गठबन्धन दलमध्येको दोस्रो ठूलो दल भए पनि माओवादी उम्मेदवारको नाम चर्चामा नल्याई चुनावी प्रचार-प्रसारमा जुटिरहेको छ। केन्द्रमा पाँच पार्टीबीच गठबन्धनको चर्चा चलेकाले पर्ख र हेरको अवस्थामा माओवादी देखिएको छ।
पाँच दलबीच गठबन्धनको कुरा चलिरहेकाले माओवादीका आकांक्षी भए पनि नाम सार्वजनिक नगरिएको माओवादीका जिल्ला तहका नेताहरु बताउँछन्।
कुश्मा नगरपालिकाको मेयरमा माओवादीका कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरी मात्र आकांक्षीका रुपमा देखिएका छन्। विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका गिरी अहिलेसम्म माओवादीबाट खुलेका एकल उमेदवार हुन। गिरी पर्वत जिल्ला अस्पताल समितिको अध्यक्ष भएर जिम्मेवारी निर्वाह गर्दै आएका छन्। माओवादीका आकांक्षी गिरी युवापुस्तामा लोकप्रिय उम्मेदवार हुन्।
त्यसैगरी पाँचदलीय गठबन्धनका तर्फबाट कुश्मा नगरको प्रमुखमा उम्मेदवार बन्न जनता समाजवादी पार्टी (जसपा) बाट दुई जनाले आकांक्षा देखाएका छन्। आकांक्षा देखाउनेमा सजपा जिल्ला अध्यक्ष ढाका राम गौतम र महोदत्त शर्मा रहेका छन्।
एकीकृत समाजवादीले कुश्मा नगरपालिकाको प्रमुखमा आफ्नो पार्टीको दावी नगरेको बताएको छ। गठबन्धनबाट निर्वाचन लड्ने भएकाले कुश्मा नगरपालिकाको अध्यक्ष अन्य दललाई छाडेर समाजवादीले उपमेयरमा दावी गरेको समाजवादी पर्वतका जिल्ला अध्यक्ष मोतीप्रसाद पौडेलेले बताए। उनले भने, ‘गठबन्धनबाट निर्वाचन लड्ने सहमति भएकाले हाम्रो पार्टीले मेयर अन्य पार्टीलाई छाडेर उपमेयरमा दावी गरेको छ।
अध्यक्ष पौडेलले पार्टीको तर्फबाट कुश्मा नगरपालिकाको उपमेयरमा प्रेम गुरुङले आकांक्षा देखाएको बताए। उपमेयरका आकांक्षी गुरुङ समाजवादीका केन्द्रीय परिषद् सदस्य समेत छन्।
यस्तो छ निर्वाचनको अंकगणित
२०७४ सालको स्थानीय तहको निर्वाचनमा कुश्मा नगरपालिकाको मेयरमा कांग्रेसका तर्फबाट रामचन्द्र जोशी आठ हजार ५७ मत पाएर विजयी भएका थिए। उनका प्रतिस्पर्धी एमालेका मेघनाथ सुवेदीले सात हजार दुई सय ३९ मत पाएका थिए। जोशीले र एमालेका सुवेदीलाई आठ सय १८ मतान्तरले पराजित गरेका थिए।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लामा १ लाख २२ हजार ५० जना मतदाता रहेका छन्। त्यसमध्ये कुश्मा नगरपालिकामा ३१ हजार तीन सय १३ जना मतदाता रहेका छन्।
२०७४ सालको स्थानीय निर्वाचनको बेला कुश्मा नगरपालिकामा २५ हजार एक सय ६५ मतदाता रहेका थिए। यो निर्वाचनमा कुश्मा नगरमा ६ हजार एक सय ४१ जना मतदाता थपिएका छन्।
त्यसैगरी जिल्लाको अर्को फलेवास नगरपालिकामा २३ हजार ५ सय ६५ जना मतदाता रहेका छन्।
जलजला गाउँपालिकामा १६ हजार ३ सय ७४, पैयूमय ११ हजार ६ सय ५, मोदी गाउँपालिकामा १९ हजार ६ सय ७ जना मतदाता रहेका छन्। त्यसैगरी महाशिलामा ८ हजार ३ सय ८२ र विहादी गाउँपालिकामा ११ हजार १ सय ३७ जना मतदाता रहेका छन्।
वैशाख ६, २०७९ मंगलबार ०७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।