गठबन्धन भित्रको अर्को गठबन्धन देखाएर कांग्रेस गलाउने नीतिमा माओवादी र एकीकृत समाजवादी

गठबन्धन भित्रको अर्को गठबन्धन देखाएर कांग्रेस गलाउने नीतिमा माओवादी र एकीकृत समाजवादी

काठमाडौँ : स्थानीय तह चुनावमा महानगर र उपमहानगरको टुङ्गो केन्द्रबाटै लगाउने सहमति कार्यान्वयन गर्न पाँच दलका नेता बैठकमा बस्छन्। तर सहमति हुन सकेको छैन। सोमबार दोस्रो पटक बसेको शीर्ष नेताहरूको बैठक निष्कर्षमा पुगेन।

भन्नलाई सन्चारमन्त्रिसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले मंगलबारको बैठकले महानगर र उपमहानगर टुङ्ग्याउने दाबी गरे।

गठबन्धन बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सरकारका प्रवक्ता कार्कीले ६ वटा महानगर र ११ वटा उपमहानगरको प्रमुख र उपप्रमुखबारे सहमति नजिक पुगेको बताए। उनले मङ्गलवार साढे ११ बजे गठबन्धनको बैठक बस्ने र सहमतिको खाका सार्वजनिक हुने थप दाबी गरे।

‘हामी समग्ररुपमा सहमतिको नजिक पुगेका छौँ। भोलि साढे ११ बजेको बैठकपछि मैले तपाईँहरूलाई सहमतिको खाका सुनाउनेछु। गठबन्धनमा सबै कुरा सकारात्मक भइरहेको छ’, मन्त्री कार्कीले भने।

तर उनले गरेको दाबी र सोमबारको बैठकको माहौल भने भिन्न देखियो। भरतपुर महानगरको नेतृत्वका लागि माओवादी अनि पोखरा महानगरको नेतृत्वका लागि कांग्रेसलाई ब्याक गराउन गठबन्धन भित्रै माओवादी र एकीकृत समाजवादीको अर्को गठबन्धन देखियो। यसमा जनता समाजवादीलाई नि मिसाउने प्रयत्न भइरहेको छ। उनीहरूको रणनीति कांग्रेसलाई तर्साएर गलाउने देखिन्छ। उता कांग्रेस अझै परिआए एक्लै चुनावमा जाने दबाबमा छ।

सोमबारको बैठकमा पेचिलो बन्यो पोखरा महानगरपालिका नेतृत्व। गत निर्वाचनमा एमालेले जितेको स्थानमा स्वतः दाबी गरेको एकीकृत समाजवादीले पोखरा महानगरको दाबी छाडेन। काङ्ग्रेस पनि पछि हटेन।

‘कांग्रेसलाई काठमाडौँ, ललितपुर र विराटनगर महानगरको नेतृत्वमा मोटामोटी सहमति देखिन्छ। माओवादीलाई भरतपुर र जसपालाई वीरगन्ज महानगर दिने सहमति हुने देखियो।

केन्द्रमा भरतपुर महानगर माओवादीलाई दिने माहौल बने पनि जिल्लामा भने विवाद बढेको छ। केन्द्रमा गठबन्धन भए अवज्ञा गर्ने तयारी छ।

तर गठबन्धनको बैठकलाई बिचमा रोकेर पार्टी कार्यालय पेरिस डाँडा पुगेका माओवादी अध्यक्ष प्रचण्डले ६ वटा महानगरमध्ये एक महानगर माओवादीको भागमा पर्ने दाबी गरेका थिए।

प्रचण्डले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकामा मेयरका लागि दोहोराउन चाहेका छन्। तर, प्रचण्डले आफूहरूले भरतपुर र रेणु नै नभनेको दाबी गरे।
‘भरतपुर नै नभएर, रेणु नै नभएर हुने होइन, हाम्रो अडान पनि त्यो होइन,’ प्रचण्डले भने,‘तर, भरतपुर जितिराखेकोले सजिलो हुन्छ भनेर मात्रै भनेको हो।’

भरतपुरमा सहमति जुट्न नसके काठमाडौँ वा विराटनगर महानगरपालिकामा माओवादीको दाबी रहने माओवादी नेताहरू बताउँछन्।

वीरगन्जमा जसपालाई मेयर दिन गठबन्धनलाई समस्या छैन। ०७४ को निर्वाचनमा कांग्रेस पहिलो भए पनि पार्टी एकता पछि बनेको जसपाको शक्ति र उसको मधेस पृष्ठभूमिले जसपालाई सहज बनायो।

७४ मै एक महानगरको मेयर जितेकाले माओवादीलाई दाबी गर्न सहज भयो। प्रचण्डको बोलीले हाम्रो पुरानै भाग छ है भन्ने देखाउँछ। गठबन्धनको अर्को दल एकीकृत समाजवादीलाई कुनै पनि महानगरको मेयर आफूसँग छैन।

त्यसैले उसलाई महानगरको प्रमुख पदको हिस्सा दिन कांग्रेस हिचकिचाइरहेको छ। तर गठबन्धनको समान हैसियतको दल देखाउन उ पछि हट्ने पक्षमा छैन।आफ्नो दाबीमा गठबन्धन सहमत हुनेमा एकीकृत समाजवादी आशावादी छ।

‘छलफल जारी छ त्यसैले हाम्रो मागलाइ गठबन्धनमा सुनुवाइ हुन्छ ,हामीले पनि कम्तीमा एक महानगर त पाउनुपर्छ,’ एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने। एमालेले जितेका ठाउँको पहिलो हिस्सेदार आफू हुनुपर्ने उसको माग छ।

‘हामी एमालेबाट विद्रोह गरेर आएका हौँ। एमालेले जितेको ठाउँमा पहिलो दाबी हाम्रो हुन्छ,’ प्रवक्ता खतिवडाले भने। गठबन्धनको ठुलो दल कांग्रेस भएकाले उ बढी लचक र जिम्मेवार हुनुपर्ने समाजवादीको माग छ।

‘कार्यकर्ताको असन्तुष्टि छ, कांग्रेस हेपाहा जात हो योसँग काम गर्न सकिँदैन भन्ने ब्रिफिङ तल्ला तहबाट आएका छन्, एक्लै चुनावमा जान नेतृत्वलाई दबाब छ,’ समाजवादीका एक नेताले उकेरासँग भने।

मंगलबारको फाइनल भनिएको बैठक कुर्न कार्यकर्तालाई समाजवादीका प्रवक्ता खतिवडाको अनुरोध छ। एकीकृत समाजवादीको बलमा कांग्रेस सभापती देउवा प्रधानमन्त्री बनेको भन्दै आफूलाई कम नआँक्न एकीकृत समाजवादीले चेतावनी दिँदै आएको छ।

गठबन्धनमा सहमति नभए एक्ले चुनावमा जान र गठबन्धनबाट जुन दल बाहिरिन्छ सो दल बाहेकको गठबन्धनको लागि तयार रहन कार्यकर्तालाई समाजवादीले सर्कुलर समेत जारी गरिसकेको छ।

माओवादीले पनि गठबन्धनमा सहमति नजुटे एक्लै चुनावमा जान पार्टी पङ्क्तिलाई भनिसकेको छ। ‘गठबन्धनभित्र सबैको बिचमा सहमति भएन भने ज–जसको बिचमा सहमति हुन्छ, त्यसका बिचमा सहमति गरेर जान्छौँ,’ पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले भने,‘अब कसैसँग भएन भने एक्लै भिड्ने तयारी त हामीले तीन महिनादेखि गरेकै छौँ नि।’

एक्लै चुनाव लडे माओवादी नै जित्ने दाबी प्रचण्डको छ। उनले पत्रकार सम्मेलनमा सरकारमा रहेका दलबिच गठबन्धन नभए मिल्न सकिने दलसँग गठबन्धन गर्ने देखिन्छ। जसपाका २ नेतासँगको वार्ता त्यसैको सङ्केत हो।

एकीकृत समाजवादीले पनि सरकारमा रहेका दलबिच गठबन्धन नबने नयाँ गठबन्धन वा एक्लै चुनावमा जाने दाबी गरे पनि दुवै दल वर्तमान गठबन्धन कायम राखेरै चुनावमा जाने पक्षमै देखिन्छन्। तर आफू अनुकूल भाग नपाइएला भनेर दुवै दल कांग्रेसलाई घुर्क्याउन गठबन्धन भित्र पनि अर्को गठबन्धन हुनसक्ने दाबी गरिरहेको छ। यसको कारण भरतपुर लगायत जहाँ सहमति हुन्न त्यहाँ मित्रवत् प्रतिस्पर्धाको कांग्रेस प्रस्ताव नै हो।

वैशाख ५, २०७९ सोमबार २२:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।