विद्युतको समस्याले आजित भैरहवा क्षेत्रका उद्योगीलाई राहत दिने प्रशारण लाइन निर्माणसम्पन्न हुँदै

विद्युतको समस्याले आजित भैरहवा क्षेत्रका उद्योगीलाई राहत दिने प्रशारण लाइन निर्माणसम्पन्न हुँदै

बुटवलः भैरहवा–परासी कोरिडोर क्षेत्रमा विद्युत आउने-जाने समस्याले हैरान छन् युवा उद्योगी अमृत भुसाल। विद्युत आउने-जाने कारणले उद्योगको दैनिक उत्पादनमा प्रभाव त परेकै छ, मेसिनहरू पनि छिटो बिग्रने, मोटर जल्ने समस्या भइरहेको छ।

अहिले उद्योगमा मागअनुसार विद्युत आपूर्ति भए पनि झ्याप्प-झ्याप्प विद्युत जान्छ। भुसालको उद्योगले क्षमताअनुसार उत्पादन गर्नै सकेको छैन।

परासी-भूमही क्षेत्रमा पनि विद्युतको समस्या उस्तै छ। कम भोल्टेजका कारण उद्योग सञ्चालनमा समस्या भएको छ। भुसालले नै सञ्चालनमा ल्याएको 'भुसाल प्लाई एण्ड ब्याम्बो इण्डष्ट्रिज'मा विद्युत भोल्टेज कम हुँदा चैत २० देखि उद्योग नै बन्द छ। 

मेसिन चल्न नसक्ने भएपछि उद्योग बन्द गरेको उनले बताए।

भैरहवा–लुम्बिनी औद्योगिक करिडोरमा पनि विद्युत आउने जाने समस्या भइरहन्छ। दैनिक १० देखि १५ पटकसम्म उद्योगमा विद्युत जान्छ। 

बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रविरञ्जन कुमार विद्युत आपूर्तिमा समस्या हुँदा दैनिक उत्पादनमा कमी भएको बताउँछन्।

अर्का उद्योगी राजेश अग्रवाल पनि विजुली अभाव र कम भोल्टेजमा प्रवाह हुने विद्युतले तीव्र गतिमा अघि बढेको भैरहवा क्षेत्रको औद्योगिकरण अवरुद्ध हुन पुगेको बताउँछन्। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य समेत रहेका अग्रवालले विद्युतको सहज आपूर्ति भए भैरहवा-परासी क्षेत्रमा उद्योगीको आकर्षण अझ बढ्ने बताए।

तर, यो समस्या अब छिट्टै सम्बोधन हुने देखिन्छ। कम भोल्टेज, बेला बेला हुने ट्रिपिङ समस्याले आजित बनेका भैरहवा, परासी, लुम्बिनीका उद्योगीहरू अबको केही महिनापछि यो समस्याबाट मुक्त हुनेछन्। कारण- मैनहियामा बुटवल–लुम्बिनी १३२ केभी प्रशारण लाइन आयोजना छिट्टै सम्पन्न हुँदैछ।

आयोजनाका प्रमुख हरि पाण्डेले अहिले उद्योगमा भइरहेको समस्या आयोजना सम्पन्न भएपछि समाधान हुने बताए। उनले उद्योगीले माग गरेअनुसारको विद्युत पनि अब सहजै पाउने बताए।

‘अहिले कतिपय उद्योगीले विद्युत माग गर्दा नपाउने स्थिति छ। तर यो आयोजना सम्पन्न भएपछि थप नयाँ उद्योगहरूलाई समेत मागे जति विद्युत दिन सकिन्छ’, उनले भने।

हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको यो आयोजना ०७२ सालदेखि निर्माण सुरु भएको हो। कुल एक अर्ब १९ करोड रुपैयाँको लागतमा बन्न लागेको आयोजना सम्पन्न भएपछि उद्योगले व्यहोर्नुपरेको विद्युत अभाव, ओभरलोड, बारम्बार हुने ट्रिपिङ, कम र उच्च भोल्टेजलगायतका समस्या समाधान हुनेछ।

आयोजना अन्तर्गत भैरहवानजिकै मैनहियामा सवस्टेशन निर्माण गरिएको छ। बुटवलमा रहेको राष्ट्रिय प्रशारण लाइन ग्रिडसँग जोडेर २ सय मेगावाट क्षमताको लाइन सवस्टेशनमा ल्याइएको छ।

आयोजना सम्पन्न हुनासाथ ९० मेगावाट विद्युत तत्कालै आपूर्ति गर्ने तयारीमा आयोजना छ। पछि माग थप भएमा २ सय मेगावाट विद्युत मैनहिया सवस्टेशनबाट उपलब्ध गराउन सकिने छ। 

मैनहिया सवस्टेशनसँग जोडेर ‘मैनहिया सम्पत्तिया १३२ केभी प्रशारण लाइन आयोजना’ पनि सँगसँगै अघि बढेको छ। मैनहिया सवस्टेशनदेखि २७ किमी दक्षिण, भारतको सम्पत्तियामा भारत सरकारले सवस्टेशन तयार गरिसकेको छ। 

मैनहिया र सम्पत्तिया सवस्टेशन विद्युत लाइन जोडिएपछि नेपाल–भारत बीच २ सय मेगावाट क्षमताको विद्युत आयात निर्यात गर्ने बाटो तयार हुनेछ। 

आउँदो असार महिनासम्ममा यो योजना पनि सम्पन्न हुने तयारीमा छ। 

वैशाख ५, २०७९ सोमबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।