बलात्कार मुद्दामा सर्वोच्चको नजिर : पीडितले बयान फेरे पनि दोषी ठहरिन सक्छन् पल

बलात्कार मुद्दामा सर्वोच्चको नजिर : पीडितले बयान फेरे पनि दोषी ठहरिन सक्छन् पल

काठमाडौँ : माया गर्छु, विवाह गर्छु भन्दै फकाएर बलात्कार गरेको भन्दै अभिनेता पल शाहविरुद्ध बयान दिने नाबालिगले जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा आइतबार बलात्कार गरेको हैन भन्दै बयान बदलेपछि घटना पुन बहसमा आएको छ।

जाहेरी, प्रारम्भिक बयान, साक्षीहरूको बयान, स्वास्थ्य परीक्षण प्रतिवेदन लगायतका प्रमाणलाई हेरेर अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि एकाएक पीडित मानिएकी नाबालिगले बयान बदल्दा होस्टायल भएको आशङ्का गरिएको छ। बकपत्र बदलिएपछि पलका पक्षमा रहेकाहरू खुसी देखिन्छन्। नाबालिगको पक्षमा वकालत गरेकाहरू निराश।

तर यस अगाडिका यस्तै घटना जहाँ पीडितसहित पुरै परिवारले बयान बदलेको आधारमा जिल्ला अदालत अनि पुनरावेदन अदालतबाट समेत सफाइ पाएको मुद्दा सर्वोच्च अदालत पुग्दा उल्टिएर दोषी ठहर भएको छ।

नेपाल कानुन पत्रिकामा रहेको २०६९ भदौ ११ मा आएको फैसलाका धेरै आधारहरू पल शाहको केससँग मिल्छ। जस्तो जाहेरी परेपछि प्रतिवादी फरार भएको, पीडितको अभिभावकले पहिला बलात्कार भएको भनेर जाहेरी दिएको तर पछि मलाई पढ्न नि आउँदैन थाहा छैन भनेर बयान बदलेको, पीडितले पहिला बलात्कार गरेको बयान दिएको तर अदालतमा बयान बदलेको, स्वास्थ्य परीक्षणमा कन्या जाली च्यातिएको देखिएको र अभियुक्तले आंशिक अभियोग स्वीकार गरेको लगायतका पक्षहरू पलको मुद्दामा समेत मिल्छ नै।

भोलि यो मुद्दा अगाडि बढ्दै जाँदा फैसलामा सर्वोच्चको यो फैसलालाई नजिरका रूपमा लिने सम्भावना देखिएकाले यहाँ त्यही घटना र मुद्दाबारे उल्लेख गरिएको छ।

OOO

२०६३ पुस १९ गते साढे आठ बजे। झापाको दमक –१४ मा रहेको चन्द्रबहादुर तिवारीले दुई तले घरको मुनि तलामा जवर्जस्ती करणी गरेको जाहेरी पर्यो। पीडितको उमेर थियो १३ वर्ष। तिवारीको छोरी र पीडित एकै स्कुलमा पढ्ने साथी भएकाले उनी तिवारीको घरमा गइरहन्थिन्। पढ्न जानेक्रममा कहिलेकाहीँ पीडित तिवारीकै घरमा सुत्थिन्। पीडितको बुबा रिक्सा चलाउँथे।

पुस १९ गते बेलुका खाना खाएर पीडित तिवारीकै घरमा गइन्। टिभी हेर्दाहेर्दै पिसाब लागेपछि बालिका घरको तलामुनि झरेपछि तिवारी पछिपछि आएर घरको भान्छामा लगेर बलात्कार गरेको जाहेरी परेको थियो।

'घरमुनि भान्सा कोठामा लगेर बिछ्याएको गुन्द्रीमा जवर्जस्ती करणी गरी सकेपछि हल्ला गरिस् भने तेरो बेइज्जत हुन्छ भनी डर त्रास देखाएको कारण चुपचाप माथि गई साथीसँग सुती भोलि घर आइन्,' जाहेरीमा लेखियो' केही नभनी बसेकी, छोरी ज्यादै डराउने चिन्तित भई रहने, टोलाई रहने जस्तो देखी मैले सोधपुछ गर्दा २२ गते मात्र उक्त कुरा भनेकी हुँदा मेरी छोरीलाई जवर्जस्ती करणी गर्ने प्रतिवादीलाई कारबाही गरिपाऊँ।'

पीडितले पनि जाहेरी अनुसारै बयान दिइन्। पीडितको स्वास्थ्य परीक्षणमा योनीभित्रको हाइमन तथा जाली च्यातिएको, महिनावारी भएको ५ दिन भएको र योनी सुन्निएको वा योनी वरपर चोटपटक डाम छैन भन्ने अञ्चल अस्पतालले प्रतिवेदन दियो।

विद्यालयको रेकर्डमा उनको जन्म मिति २०५० पुस २७ रहेको पुष्टि भयो। जन्म दर्ताको प्रमाण पत्र आयो। आरोपी फरार थिए। पीडितको बुबा, स्थानीय साक्षी लगायतको बयान र प्रमाणका आधारमा अदालतमा  जवर्जस्ती करणी गरेको भन्दै अभियोग पत्र दर्ता भयो।

आरोपी पक्राउ परेपछि उनले करणी गर्न देउँ भनेर स्तन समातेको तर करणी नगरेको दाबी गरे। आरोपी पुर्पक्षका लागि थुनामा गए। अदालतमा बकपत्र गराउँदा पीडितको बाबुले बयान बदले

'म पढ्न लेख्न जान्दिन। प्रहरीले के कागजमा सही गराए थाहा भएन। छोरीलाई प्रतिवादीले करणी गरेको बारे केही थाहा छैन' भनेर बयान दिए।

प्रतिवादीलाई सफाइ दिने गरी बकपत्र गरेको, प्रतिवादीले केवल करणी गर्ने प्रस्ताव राखेको, प्रतिवादीको बयानको आधारले र १९ गते भएको घटनामा २६ गते जाहेरी परेको भनेर २०६४ फागुन १९ मा जिल्ला अदालत झापाले सफाइ दियो।

सरकारी वकिल तत्कालीन पुनरावेदन अदालतमा पुनरावेदन लिएर गए।

पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिगले अदालतमा बयान बदलिन्

नाबालिगको पक्षमा बहस गरेकी अभिवक्ताले लेखिन्' पल प्रकरणको मोड शक्ति,पैसा र प्रभावको विडम्बनायुक्त उदाहरण'

अदालतमा नाबालिगको बयान बदलिँदैमा पलले सफाइ पाउँछन् ?

पीडितले मौकामा कागज गर्दा प्रतिवादीले निजलाई मुखमा कपडा राखी बोल्न कराउन नदिई योनीभित्र लिङ्ग पसाई जवर्जस्ती करणी गरी वीर्य स्खलन भएपछि अर्को कोठामा गई प्रतिवादीले बयानमा करणीको आशयले पीडितको स्तन समाते स्विकारेको, प्रतिवादीबाट यौन दुर्व्यवहार भएको कारणबाट तत्काल उठेको रिसको आवेगमा आई पीडितले घटना विवरण कागज गरिदिएकी र सोही ब्यहोराको जाहेरी परेको, पीडितको परिवार र प्रतिवादीको परिवारपछि समझदारीमा आई जाहेरवाली समेतले अदालतमा जवर्जस्ती करणी नभएको वास्तविक ब्यहोरा दर्सिने गरी लेखाइदिएको भन्दै तत्कालीन पुनरावेदन अदालत इलामले पनि जिल्लाको फैसला सदर गरिदियो।

अपराधीलाई बचाउने नियतले स्वयं पीडित लगायतले बयान दिन सक्ने स्थितिलाई ध्यानमा राखी न्यायकर्ताले निर्णय गर्दा कसैले सफाइ दिने बयान दिँदैमा अभियुक्तलाई निरपराध ठहर गर्नुपर्ने वा कसैले अभियुक्त विरुद्ध बयान दिँदैमा अपराधी ठहरिनै पर्ने भन्न सकिन्न भन्दै सरकारी वकिल सर्वोच्चमा पुनरावेदन गरे।

सरकारी वकिलले पीडितलाई मुख थुनी बोल्न नदिई बोले मारी दिने धम्की दिई पैसा दिन्छु भनी स्तन माडी जवर्जस्ती करणी गरेको, प्रतिवादीले जवर्जस्ती करणी गरेको कारण पीडितको हाइमेन च्यातिएको भन्ने स्वास्थ्य परीक्षण प्रतिवेदनबाट देखिएकोले करणीको कसुर पुष्टि भइरहेको अवस्थामा प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय हुनुपर्ने भनेर बहस गरे।

तत्कालीन न्यायाधीश सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले करणी गरेको भन्दै पीडितले दिएको प्रारम्भिक बयान, करणी गर्ने मनसायले पीडितको स्तन समातेको तर करणी नगरेको भन्ने अभियुक्तको बयानलाई हेरेको देखिन्छ।

त्यस्तै पीडितको शारीरिक परीक्षण गर्दा निजको योनीभित्रको हाइमन तथा जाली च्यातिएको, पिडीता र जाहेर बालीले अदालतमा घटनाको सम्बन्धमा इन्कार गरेता पनि प्रतिवादीले पीडित तथा जाहेरवालीलाई डर त्रास वा अनुचित प्रभावमा पारी झुटा बकपत्र गर्न नसक्ने अवस्था विद्यमान हुन नसक्ने भन्ने अवस्था तर्फ अदालतले अनुमान गर्न सक्ने विश्लेषण गर्यो।

'प्रतिवादी स्वयंले आफ्नो बयानमा १३ वर्षकी पीडितलाई करणीको आशयले निजको स्तन समातेको कुरामा साबित भई आफ्नो अदालत समक्षको बयानको बयान गरेको देखिन्छ । निज पीडितको कन्या जाली च्यातिएको भन्ने डाक्टरको प्रतिवेदनलाई प्रतिवादीले अन्यथा भन्न सकेको छैन' सर्वोच्चले भन्यो।

प्रतिवादीले अदालतमा इन्कार गरे पनि अन्य स्वतन्त्र प्रमाणले कसुर स्थापित हुन्छ हुँदैन भन्ने पक्षको विश्लेषण गर्दै पीडितलाई  एक सय दिन्छु भनेर प्रलोभनमा पारेर घरभित्र भान्साको गुन्द्रीमा सुत्न लगाई करणी गरेको पीडितको पहिलो बयान, पीडितको हाइमन कन्या जाली च्यातिएको भन्ने शारीरिक परीक्षण प्रतिवेदनलाई आधार बनायो।

जवर्जस्ती करणीको घटना स्थापित हुन प्रमाणको पहिलो कडी स्वयं पीडितको भनाई र दोस्रो पीडितको शारीरिक परीक्षण भएको विश्लेषण गर्दै संयुक्त इजलासले पीडितले मौकामा गरेको कागजमा घरको भान्सा कोठामा मलाई समाती मुख थुनी लगी मैले भनेको मान एक सय दिन्छु भनी बलात्कार गरेको किटानी साथ लेखाएकोलाई आधार मान्यो।

पीडित १३ वर्षकी नबालिका रहेको र कलिलो उमेरका बालबालिकामा कुनै जालझेल, छलकपट वा बनावटी कुरा गर्ने स्वभाव नहुने भन्दै घटना नभएको भए नाबालिकाले प्रतिवादीलाई दोष लगाउने अरू कारण नदेखिएको भन्दै कसुर इन्कार गर्नु मात्रै निर्दोष ठहर हुने आधार बन्न नसक्ने भनियो।

'जाहेरवालीको जाहेरी, पीडितले मौकामा गरेको कागज तथा वस्तुस्थिति मुचुल्काका व्यक्तिहरूले गरेको कागज तथा चिकित्सकीय प्रतिवेदनको प्रतिकूल हुने गरी जवर्जस्ती करणीको वारदात नै भएको होइन भनी निष्कर्षमा पुग्नु न्यायोचित हुँदैन' इजलासले भन्यो' त्यस कारण प्रतिवादीको अदालतको इन्कारी बयानको विरुद्धमा प्रमाण यथेष्ट मौजुद रहेको अवस्थामा अदालतको इन्कारी बयान मात्र निर्दोषिता साबित हुने एक मात्र आधार हुन सक्दैन।'

फैसलामा कस्तो अवस्थामा जवर्जस्ती करणी गरेको ठहरिने भन्ने कानुनी व्यवस्था उल्लेख गर्दै. पीडितको शारीरिक परीक्षण प्रतिवेदनबाट पीडितको हाइमन एवं कन्या जाली च्यातिएको भन्ने उल्लेख भएको अवस्थामा जवर्जस्ती करणी भएको हो होइन भनी थप प्रमाणको आवश्यकता र विश्लेषण गरिरहनु पर्ने आवश्यकता नदेखिँने भनियो।

अन्य स्वतन्त्र प्रमाणहरूले पुष्टि गरेको अवस्थामा यी प्रतिवादी निर्दोष रहेछन् भनी मान्न नमिल्ने भन्दै अपराधको अनुसन्धान हुँदा आरोपी फरार रहेको, घटनाको दिन पीडित आफ्नो घरमा छोरीसँग पढ्न आएको,  पीडितले टिभी हेरिरहेको अवस्थामा करणी गर्न देऊ भनी निजको छाती सुमसुम्याएको तर करणी नगरेको भनेर घटनालाई आंशिक स्वीकार गरेको भन्दै प्रतिवादीको अदालतको बयानलाई पत्यार लायक देखेन।

जाहेरी ढिला परेको रहेछ भन्दैमा भइरहेको अपराधलाई खण्डित गर्न खोज्ने प्रतिवादीका गलत मार्गहरूलाई अदालतले केलाउने प्रयास गर्नुपर्ने भन्दै किटानी जाहेरी, पीडितको मौकाको कागज, जाहेरवाला र मौकामा बुझिएका व्यक्तिको भनाई, पीडितको शारीरिक परीक्षण, प्रतिवादीको अदालतमा भएको आंशिक साविती बयानलगायतका मिसिल संलग्न प्रमाणहरूबाट उसको इन्कारी बयान, जाहेरवाला र पीडितको अदालतको होस्टायल बकपत्रलाई मात्र आधार लिएर अभियोग दाबीबाट सफाइ दिँदा अपराधले प्रशय पाउने र दण्डहीनताको स्थिति सिर्जना हुने भन्दै ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला भएको थियो।

वैशाख ४, २०७९ आइतबार २२:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।