राजनीतिक आवरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ अर्ब बढाइयो : रमेश खरेल

राजनीतिक आवरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ अर्ब बढाइयो : रमेश खरेल

पोखरा : नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश प्रसाद खरेलले पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ अर्ब घोटाला भएको आरोप लगाएका छन्। आइतबार पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै खरेलले ९ अर्बमा निर्माण सम्पन्न हुने विमानस्थलको लागत २३ अर्ब पु¥याएर पार्टीका नेताहरूले भागबण्डा गरेर १४ अर्ब लागत बढाएको जिकिर गरे। 

उनले भने,‘दलका नेताहरूले पोखरा विमानस्थल जस्ता दर्जनौँ परियोजनामा भागबण्डा गरेर आर्थिक अनियमितता गरिरहेका छन्। पछिल्लो समय राजनीति आवरणमा नेताहरूले लुटमच्चाएर मानवतामै कलंक मच्चाएका छन्। मुलुकमा अहिले मानव,दानव तथा सत्य र असत्यको बिचको लडाई चलिरहेको छ।’

अध्यक्ष खरेलले राजनीतिक दलको व्यक्तिगत स्वार्थ र कुशासनले मुलुकलाई खोक्रो बनाएको आरोप लगाए। पूर्व डिआईजी समेत रहेका खरेलले देश क्रमशः चोर, फटाहा र संगठित डाकाहरुको पञ्जामा पुगेको बताए। उनले मुलुकलाई कुशासनको दुसचक्रबाट उन्मुक्ति दिने सोच बनाएर आफू नेपाल सुशासन पार्टीलाई वैकल्पिक शक्तिका रुपमा स्थापित गर्न चाहेको बताए।

अध्यक्ष खरेलले आगामी निर्वाचनमा देश लुट्ने संगठित अपराधीलाई मत नदिन आग्रह समेत गरे ।उनले भने,‘आगामी निर्वाचनमा तपाईँहरूले विवेक प्रयोग गर्नु होला। वर्षौँदेखि देशमा कुशासन, भ्रष्टाचार जस्ता जघन्य अपराधमा संगठिनरुपमा लागेको पार्टीका नामधारी लुटेराहरूलाई मतदान नगर्नु होला । तपाइहरूले असल नेतृत्वलाइ गरेको मतदानले देश समृद्ध बन्न सक्छ।’

उनले आफू आम नागरिकको भविष्य उज्ज्वल बनाउने उद्देश्य बोकेर राजनीतिमा होमिएको उल्लेख गरे। अध्यष खरेलले मुलुकमा जनताको सरकार नभएको टिप्पणी गर्दै देश अफ्टेरो अवस्थामा रहेको अवस्थामा मनलाग्दो गरी लुट्ने लुटेराहरूले देशलाई बर्बादी तर्फ धकेलिरहेको आरोप लगाए। 

उनले अहिले मुलुकको अर्थतन्त्र इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको बताउदै राजनीतिका नाममा हालीमुहाली गर्ने असक्षम नेतृत्वका कारण राष्ट्रको अस्तित्व नै संकटमा परेको बताए। 

वैशाख ४, २०७९ आइतबार २०:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।