ए मेरो हजुर ४ : गम्भीर विषयका छुस्स-छुस्स कथा

ए मेरो हजुर ४ : गम्भीर विषयका छुस्स-छुस्स कथा

काठमाडौं : धनी बाउको छोरो भए पनि प्रेम उपाध्याय (अनमोल केसी) एक क्याफेमा कफी बनाउने काम गर्छ। पहेंलो रङको स्कुटरमा हिँड्छ। जनावरप्रेमी प्रेमले अलपत्र परेको कुकुर बाटोमा भेट्छ। जसको नाम राख्छ, कोको।

यता नेवारकी छोरी हुन्, आर्या महर्जन (सुहाना थापा)। उनको पनि प्रेमको जस्तै पहेंलो स्कुटर छ। उनको कुकुर टोनी हराएको छ। त्यही पीडामा रक्सी खाँदै हो–हल्ला गरिरहेको समयमा पहिलो पटक भेट हुन्छ प्रेम र आर्याको। अनि प्रेमकथा अघि बढ्छ। उनीहरुको प्रेममा के–कस्ता आरोह–अवरोह आउलान्? प्रेम सफल होला या असफल? फिल्मको अन्त्य सुखद होला या दुखद? उत्तर थाहा पाउन भने फिल्म 'ए मेरो हजुर ४' नै हेर्नुपर्छ।

कोभिडको समयमा हलमा फिल्म लगाउन निर्माता डराए। बलिउड फिल्म ‘सूर्यवंशी’ले हलमा दर्शक तानेपछि मात्रै उनीहरु हल फर्किए। सूर्यवंशीले शितलता दिएको नेपाली फिल्म क्षेत्रलाई अहिले तिनै विदेशी फिल्महरुले छायामा पारेका छन्। यस्तो समयमा नेपाली 'फिल्म ए मेरो हजुर ४' ले गरेको आँटलाई सलाम गर्नैपर्छ। आफूले बनाएको फिल्ममा विश्वास राख्न सक्नु यो फिल्मको सकारात्मक पाटो हो।

फिल्मले गम्भीर विषयवस्तुलाई छुस्स–छुस्स छोएको छ। कोको उर्फ टोनीलाई एक बच्चाको रुपमा प्रस्तुत गरिएको छ। बाबु र आमाको सम्बन्धबिच्छेद हुँदैछ अनि बच्चा तानातानको अवस्था छ। त्यो समयमा बच्चामा देखिने मनोभाव कुकुरबाट देखाउन खोजिएको छ। भलै पूर्ण रुपमा त्यो अवस्थालाई देखाउन निर्देशक चुकेको होस्। कोको भेटका लागि माध्यमका रुपमा मात्रै प्रयोग गरिएको छ।

नेवारी समुदायमा भएको गुठी जग्गाको समस्यालाई थोरै छोइएको छ। खानदानी दुस्मनीले प्रेममा खेलेको नकारात्मक भूमिका प्रस्तुत गरिएको छ। अन्तरजातीय प्रेम पनि गम्भीर विषय हो तर त्यसमा खासै केही उठान गरिएको छैन। फिल्मको अन्त्यमा जुन दृश्य देखाइन्छ त्यो भने दर्शकका लागि सप्राइज हो। 

फिल्ममा नयाँ कुरा खासै छैन। नेपाली फिल्ममा प्रविधिको कमी छैन तर प्राविधिकको कमी छ। फिल्म हेरिरहँदा र त्यहाँ देखाइएको दृश्य देख्दा यही आभाष हुन्छ। उच्च क्वालिटीको क्यामेराले फिल्म खिचे पनि त्यसमा देखाउन खोजेको के हो प्रष्ट बुझ्न सकिँदैन। फिल्ममा दृश्य बोल्दैन, रङ बोल्दैन, संवाद मात्रै बोल्छ।

अनमोलको अभिनय केहि हदसम्म सुधारिएको मान्न सकिन्छ। फिल्मको दोस्रो हाफमा केहि समय उनी ट्र्याकमा आएका छन्। रुन समेत राम्रोसँग नजान्ने अनमोलको त्यत्तिको अभिनयलाई राम्रो मान्नुपर्छ। तर हिसाब गर्ने हो भने जम्मा २० मिनेट मात्रै उनको अभिनय सुधारिएको हो। बाँकी त पुरानै अवस्थामा छन्। सुहानाको अभिनय पनि त्यस्तै छ। प्रेमको साथीको भूमिका निभाएका सलोनमानसिंह बस्नेत कमेडी सिनका लागि ठिक छन्। सहायक चरित्रमा उनी पहिलेको फिल्मभन्दा कमजोर देखिएका छन्।

फिल्ममा कोकोको भूमिकालाई केही हदसम्म न्यायपूर्ण तरिकाले देखाइएको छ। कमजोरी धेरै छन्। तर दर्शकको आँखाले कोकोलाई खोजिरहन्छ।

फिल्मभर कमजोरी छ। पहिलो हाफमा कथा छैन। अझ फिल्मभरि नै स्टोरी लाइन क्लियर छैन। कथाजति सबै सेकेन्ड हाफमा कोचिएको छ। दिमागमा कथा सोचेर पर्दामा उतार्न र पछि वास्तविकता भुलेर कथामा जिउन बाध्य बनाउनु फिल्म हो। यसमा निर्देशक पूर्ण रुपमा चुकेको देखिन्छ। 

नेपाली फिल्मको प्रमुख समस्या प्रोटोगोनिस्टलाई उभ्याउन नसक्नु हो। जब द्वन्द्व नै सिर्जना हुँदैन, फिल्म कसरी चाखलाग्दो बन्छ? जब फिल्ममा भिलेन को हो भन्ने नै छुट्याउन मुस्किल बन्छ, त्यहाँ गन्जागोल हुन्छ। फिल्म ए मेरो हजुरको समस्या पनि यही हो। 

एक दृष्यबाट अर्को दृश्यमा कनेक्सन नै छैन। प्रेम बिरामी भएको थाहा पाएपछि पहिलो हाफ सकिएको फिल्ममा एक्कासि मामाघर पुगेर नाचगान गरेको देखिन्छ। दर्शक रनभुल्लमा पर्छन्। अझै कामै नलाग्ने दृश्य बीच–बीचमा घुसाइएको छ जसको न छेउसँग नाता छ न टुप्पोसँग।

फिल्मको क्लाइमेक्स सिन आउट भएको समाचार बाहिरिएको थियो। त्यसैले निर्माण टिमले चलाखी गरेका छन्। ट्रेलर हेरेरै चोरीका संवाद, पोस्टर र दृश्य दर्शकले थाहा पाएपछि एक स्वदेशी वास्तविक घटना फिल्ममा जोडिदिएका छन्। जसमा पुराना रियल फुटेज समेत प्रयोग गरेको देखिन्छ। तर घटना जति मार्मिक हो, त्यही मार्मिक दृश्यमा देखाउन सकिएको छैन। पर्दामा कलाकार भक्कानो फुटाएर रोइरहेका बेला दर्शक भने पुरानो घटना सम्झेर मन अमिलो बनाउँछन्, अभिनय हेरेर हैन।

सामान्य प्राविधिक समस्यालाई समेत ध्यान दिइएको छैन। लिपसिंक मिलेको छैन। ब्याकग्राउन म्युजिक कुनै ठाउँमा यति धेरै हाई छ कि, संवाद के बोलेको सुन्न समेत मुस्किल पर्छ।

फिल्ममा सिनेम्याटिक भ्यु देखाउनुको उद्देश्य पर्यटक आकर्षित गर्नु मात्रै होइन। हामीले खिचेका हरेक दृश्यले भ्युसँगै कथा देखाउनु सक्नुपर्छ। तर नेपाली फिल्म ए मेरो हजुर ४ मात्रै हैन, सबै यस्ता कुरामा चुकेका छन्। ग्ल्यामर देखाउन से–फोक्सुन्डो पुग्नु पर्दैन। हिमालमा गएर वान पिस खोलेर नाँच्न पर्दैन। यस्ता कुरा विस्तारै नेपाली फिल्मले बुझ्ला भन्ने आशा गरौं।

केही दृश्यमा धेरै जान्ने हुँदा खिचाइ बिग्रिएको छ। उदाहरणका लागि प्रेम र उनको साथी एक होटलमा गफ गरिरहेका दृश्य छ। खिच्दा वाइड सट लिइएको छ तर फोकस एक जोडीमा गरिएको छ। दर्शक केटीको मुखबाट कसरी केटाको आवाज आयो भनेर दंग पर्छन्। पछि सटले दुइ मित्र देखाएपछि मात्रै कुरो के हो बुझ्छन्।

सामान्य प्राविधिक समस्यालाई समेत ध्यान दिइएको छैन। लिपसिंक मिलेको छैन। ब्याकग्राउन म्युजिक कुनै ठाउँमा यति धेरै हाई छ कि, संवाद के बोलेको सुन्न समेत मुस्किल पर्छ।

एडिटिङमा काम राम्रो भएको छैन। २ घण्टा ३४ मिनेटको फिल्ममा हेर्नलायक दृश्य ३४ मिनेट जति मात्रै छ। अरु सबै बेकामका छन्। यसलाई काटेर सर्ट फिल्म बनाएको भए राम्रो हुन्थ्यो।

फिल्ममा अदालतलाई मजाक बनाइएको छ। देशको न्यायपालिकालाई त्यसरी देखाउनु गलत हो। बलिउडको प्रभावका कारण नेपाल प्रहरी त सधैं हाँस्य पात्रको रुपमै प्रयोग हुने हो। यसमा पनि त्यही छ। दुई अर्थ लाग्ने संवाद र भद्दा जोक्सले फिल्म कमजोर बनाएको छ।

फिल्म टुक्रा टुक्रामा विभाजित छ। कुनै टुक्रामा राम्रो काम भएको छ भने कुनैमा बकवास।

फिल्म हेरिरहँदा केही दर्शकले अनुमान गरेका थिए, भुवन केसीले फिल्म बनायो भने छोरा मार्छ, झरनाले एक पटक मारिसकिन् यसमा पनि मार्ने त होलिन्। यो अनुमान मिल्यो कि मिलेन थाहा पाउन र अनमोल सुहानाको प्रेम कथा हेर्न मन छ भने फिल्म तपाईंको रोजाइमा पर्न सक्छ। 

वैशाख ३, २०७९ शनिबार १२:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।