भ्रामक समाचार सम्प्रेषण नगर्न पत्रकारलाई आग्रह

भ्रामक समाचार सम्प्रेषण नगर्न पत्रकारलाई आग्रह

बुटवल : भ्रामक समाचार सम्प्रेषण नगर्न सरोकारवालाले पत्रकारहरुलाई आग्रह गरेका छन्। कुनै पनि व्यक्ति विशेष र दलको प्रभावमा भ्रामक सम्प्रेषण नगर्न सञ्चारमाध्यम र पत्रकारलाई उनीहरुले आग्रह गरेका हुन्।

कुनै दल वा समूहको बहकाउमा नलागी रिपोर्टिङ गर्न उनीहरुले जोड दिए।

निर्वाचन आयोगले शनिबार रुपन्देहीमा आयोजना गरेको निर्वाचन आचारसंहिता र आमसञ्चार क्षेत्रबारेको मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै निर्वाचन आयुक्त सगुनशमशेर जबराले आचार संहिता कार्यान्वयन भए नभएको अनुगमन गर्ने र सुचना प्रवाह गर्ने पहिलो सरोकारवालाका रुपमा सञ्चारमाध्ययमलाई लिएको बताए। उनले सञ्चारमाध्यम, पत्रकारहरुले आफै आाचारसंहिता पालना गर्दै अरुलाई खबरदारी गर्नुपर्ने बताए।

सामाजिक सञ्जालबाट निर्वाचन बिथोलिने र समुदायमा भ्रम छर्ने काम हुने भन्दै निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सञ्चारकर्मी र सञ्चारमाध्ययम आफैंले पनि निर्वाचन आचारसंहिता अपनाउनुपर्ने जनाए।  

नागरिकले सबैभन्दा बढी विश्वास मिडियाको गर्ने र मिडियानै नागरिकमा सूचना पुग्ने पहिलो माध्यम भएकाले त्यसलाई अझ बढी विश्वस्त बनाउन आग्रह उनले गरे। ‘निर्वाचन आयोगका क्रियाकलाप, नागरिकका विचार र दलका गतिविधिसम्मलाई अनुगमन गरेर सत्यतथ्य समाचार आउन जरुरी छ,’ उनले भने, ‘यसले आयोगलाई समेत गल्ती कमजोरी पत्ता लगाउन र सुधार्न सहज हुनेछ।’

निर्वाचन आयोगका कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले निर्वाचन आचार संहिता नैतिक र कानुनी बन्धन भएकाले त्यसमा आमसञ्चार पनि संवेदनशील हुनुपर्ने बताए।

पत्रकार एवं सूचना आयोगका पूर्व आयुक्त यशोदा तिमिल्सनाले निर्वाचनमा संचारकर्मीहरु मिथ्या सूचना र  दूष्प्रचारबाट बच्नुपर्ने बताइन्। चुनाव लक्षित दलहरुका घुणास्पद अभिव्यक्ति र आलोचना बढी आउने हुनाले त्यस्ता सामाग्रीलाई प्रकाशन र प्रशारण नगर्न उनले आग्रह गरिन्।

पत्रकार सृजना अर्यालले निर्वाचन सम्बन्धी रिपोर्टिड. जोखीमपूर्ण र पुष्टिका लागि समय लाग्ने भए पनि त्यसलाई पुष्टिविना बाहिर नल्याउन आग्रह गरिन्।

वैशाख ३, २०७९ शनिबार १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।