एमालेलाई उम्मेदवार सिफारिस गर्नै कठिन, 'क्विन्टलको ढक' लाई खुद्रासँग सहकार्य गर्नुपर्ने बाध्यता के ?
काठमाडौं : चैतको मध्यतिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई क्विन्टलको ढक र पाँच दलीय गठबन्धनलाई पाँच केजीको ढकको उपमा दिए।
उनले भने, ‘यदि एउटा तराजुमा एक-एक केजीको पाँच वटा ढक एकातिर अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ? एमाले क्विन्टलको ढक जस्तो हो। गठबन्धन एक-एक किलोका ढक हुन्। त्यो पाँच वटा गठबन्धनले के गर्छ?’
ओलीको भाषाको पाँच किलोको ढकलाई त स्थानीय तहको उम्मेदवार छान्न सकस परिरहेको छ नै, त्यो भन्दा ठूलो सकस क्विन्टलको ढक एमालेलाई नै परिरहेको देखिन्छ।
एमालेको दुई दिने पोलिटब्युरो बैठकले चैत १० गते नै चैत मसान्तभित्रै उम्मेदवार सिफारिस गर्न निर्देशन दियो। पोलिटब्युरो बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको मापदण्ड समेत पारित गरेको थियो।
आकांक्षीको व्यवस्थापन गर्न नसक्दा एमालेले उम्मेदवार छनोट गर्न भने सकेको छैन। कति स्थानीय तहले उम्मेदवार सिफरिस गरे भन्ने तथ्यांक समेत सम्बन्धित कमिटीसँग छैन।
वीरगञ्ज, ललितपुर, काठमाडौं, भरतपुर महानगरपालिकामा उम्मेदवार सिफारिस भएका छन्। विराटनगर महानगरमा आकांक्षीको व्यवस्थापन मिलाउँदै छ। मेयरको लागि सिफारिस गर्न पोखरा महानगरमा निर्वाचन हुने भनिए पनि सबै अकांक्षीलाई सिफारिस आएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
अरु दलको अगाडि हेभिवेट दावी गरेको एमालेमा हेभिवेट समस्या नरहेको नेताहरु बताउँछन्। सर्वसम्मत होस् र कम विवादमा सहमति होस् भनेर समय लिइएको नेताहरुले बताएका छन्।
‘नामहरु आइराखेका छन्। राजनीतिक प्रोसेस भएको हुनाले सकभर सर्वसम्मत कायम गर्न कोशिस गरौं। डेट मिट गर्नुभन्दा पनि पोलिटिक्स मिट गर्नुपर्यो। कतै माथिल्लो कमिटीले पनि समन्वय गरिरहेको छ। प्रक्रिया चलिरहेको छ,’ रिजालले उकेरासँग भने। उम्मेदवारको सिफारिस आइसकेको महानगर र उप-महानगरको यथासक्य छिटो उम्मेदवार टुंगो लगाइने रिजालले जानकारी दिए।
एमालेमा नगरपालिका र गाउँपालिका उम्मेदवारको तय प्रदेश कमिटीले गर्छ। आकांक्षी धेरै हुँदा उम्मेदवार सिफरिसमा समय लागेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले बताए।
‘सबै जिल्लामा एक महिला अनिवार्य गरेर हरेक पदमा तीन-तीन जना सिफारिस गर्न भनेका हौं। आकांक्षी धेरै देखिए। तल्ला कमिटीहरुले आकांक्षी सबैको नाम सिफरिसमा हाल्दिएको छ,’ तामाङले उकेरासँग भने, ‘कंक्रिड आइसकेको छैन। जिल्लाहरुले कार्यदल बनाएर तल नै समाधान गर्ने प्रयत्न भएको छ।’
आफूलाई क्विन्टलको ढक दावी गर्ने एमालेले खुद्रा ढक मान्नुपर्ने पार्टीसँग सहकार्य अघि बढाएको छ। उसले राप्रपा नेपाल र परिवार दलसँग सहकार्य गरेको छ। क्विन्टलको पार्टीले साना दलहरुसँग सहकार्य गर्नुले उसको वजन बताउँछ।
अधिकांश ठाउँहरुमा सहमति हुने तामाङको भनाइ छ। ‘असी प्रतिशत ठाउँमा सहमति हुने र बीस प्रतिशत ठाउँमा सिस्टमबाट निर्णय लिनुपर्ने हुनसक्छ,’ उनले भने।
कतै गुटगत स्वार्थ र नवप्रवेशीलाई नेतृत्वले काखी च्याप्दा स्थानीय कमिटीहरु असन्तुष्ट छन्। स्थानीय निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमाले सहितका केही दल गरी चुनावमा दुई ध्रुवमा विभाजित देखिएका छन्।
तुलनात्मक रुपमा एमालेलाई अलि सहज देखिए पनि गठबन्धन दलमा आन्तरिक समस्याले उम्मेदवार सिफारिसमा ढिलाइ भइरहेको हो। जसका कारण निर्वाचनमा उठ्नुपर्ने मुद्दा समेत ओझेलमा पर्दै गएका छन्।
प्रदेश कमिटीमा पनि स्थानीय तहबाट उम्मेदवारको सिफारिस आउने क्रम चलिरहेको छ। ‘करिब २५ प्रतिशत सहमति भएर आएको छ। ७५ प्रतिशत पालिकामा छलफल चल्दैछ,’ एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले भने।
क्विन्टलको पार्टीको खुद्रा सहकार्य
आफूलाई क्विन्टलको ढक दावी गर्ने एमालेले खुद्रा ढक मान्नुपर्ने पार्टीसँग सहकार्य अघि बढाएको छ। उसले राप्रपा नेपाल र परिवार दलसँग सहकार्य गरेको छ। क्विन्टलको पार्टीले साना दलहरुसँग सहकार्य गर्नुले उसको वजन बताउँछ।
‘त्यो नबुझेको कुरा हो। हाम्रो तालमेल भनेर एक अर्काको चिह्नमा लड्ने होइन। उहाँहरु नेकपा एमालेको चुनाव चिह्नमा चुनाव लड्न उहाँहरुले आग्रह गर्नुभएको हो,’ प्रचार विभाग उपप्रमुख रिजालले भने, ‘उहाँहरुको प्रभाव भएको ठाउँमा हाम्रो चुनाव चिह्नबाट लड्ने हो। सत्ता गठबन्धनको जस्तो तालमेल होइन, सहकार्य हो। यो कुनै ठूलो विषय होइन।’
एमालेलाई राप्रपा नेपाल र परिवार दलसँग सहकार्य गरेर फाइदा हुने देखिँदैन। राप्रपा अध्यक्षमा पराजित भएपछि कमल थापा केही समयअघि मात्र राप्रपा नेपाल पार्टीको स्वामित्व लिन पुगेका हुन्। त्यसैले राप्रपा नेपालको जनमत कस्तो छ भन्ने देखिएको छैन।
राप्रपा हुँदा नै मक्किँदै गएको थापाको संगठन फुटपछि बलियो भएको छ कि छैन भन्ने आकलन एमालेले पनि गरेको होला। हेटौंडा लगायतका कतिपय स्थानमा भने कमल थापाको पार्टीको केही मत रहेको अनुमान गरिएको छ। केही मतले पराजित हुने स्थानमा भने यो तालमेलले फाइदा पुग्न सक्छ।
गुपचुप रुपमा महाधिवेशन गरेको परिवार दलको महाधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिको उपस्थिति रहेको सो पार्टीका अध्यक्ष एकनाथ ढकाल बताउँछन्। दुई लाख हाराहारीमा क्रियाशील कार्यकर्ता रहेको सो पार्टीको दावी छ।
वैशाख २, २०७९ शुक्रबार २१:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।