साहसी बुद्धकृष्ण जसले नवौँ पटक छेडे आफ्नो जिब्रो
भक्तपुर : भक्तपुरको लोकप्रिय बिस्केट जात्रामा बुद्धकृष्ण बाग श्रेष्ठले नवौँ पटक जिब्रो छेडाए। नयाँ वर्षको दोस्रो दिन उनले मध्यपुर तिमि नगरपालिका–८ बोडेस्थित पाँचो गणेश मन्दिर परिसरमा औँ पटक जिब्रो छेडेका हुन्।बोडेका श्रेष्ठ जातिले मात्रै जात्रामा जिब्रो छेड्नुपर्ने प्रचलन छ। बुद्धकृष्णले यसअघि आठ पटक जिब्रो छेडाइसकेका छन्।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेर बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा पुग्छन्।
त्यहाँ नाइके प्रधानले एक महिनाअघि बनाएर तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले जात्रालुहरूमाझ जिब्रो छेड्ने परम्परा छ। सोही परम्परा अन्तर्गत शुक्रवार उनले जिब्रो छेडेका हुन्। जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेर जात्रा सम्पन्न गरिन्छ।
महालक्ष्मी मन्दिरमा परिक्रमा समापन गरेपछि जिब्रो छेडिएको सुइरो झिकिन्छ । सुइरो झिकेपछि घाउ भएको जिब्रोमा महालक्ष्मी मन्दिरभित्रबाट झिकिएको माटो राख्ने परम्परा छ।
वैशाख २, २०७९ शुक्रबार १९:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।