समाचार संकलन गर्न गएका तीन पत्रकारमाथि बुटवल प्रहरीले गर्यो दुर्व्यवहार
बुटवल : तिलोत्तमा २ जानकी नगरकी अमृता खत्री टण्डनको शंकास्पद मृत्युको समाचार संकलनका लागि इलाका प्रहरी कार्यालय पुगेका ३ जना पत्रकारमाथि प्रहरीले दुर्व्यवहार गरेको छ।
समाचार संकलनका लागि ईप्रका बुटवल पुगेका पत्रकारहरू शरणकुमार कर्माचार्य, दिनेश श्रेष्ठ र डीबी सुस्लिङलाई बुटवलमा प्रहरीले दुर्व्यवहार गरेको हो। कर्माचार्य र श्रेष्ठ खबरकुरा तथा सुस्लिङ ग्लोबल आवाज अनलाईनका पत्रकार हुन। २९ वर्षीय अमृताको संकास्पद मृत्यु भएको दाबी गर्दै मृतकका आफन्त तथा माइती पक्षले प्रहरी कार्यालय अगाडि गरेको प्रदर्शनमा समाचार संकलन गर्ने क्रममा इप्रका बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले पत्रकारहरू माथि दुर्व्यवहार गरेका थिए।
अमृताका आफन्त र स्थानीय र प्रहरीबीच भएको झडपको फोटो खिच्ने क्रममा ग्लोबल आवाजका सुस्लिङको मोबाइल खोसेर हातपात गर्न खोज्दै नेपाल प्रहरीका सई घिमिरेले फोटो डिलिट गर्न दबाब दिएका थिए।
खबरकुराका प्रबन्धसम्पादक शरण कर्माचार्यले आफूहरू सञ्चारकर्मी भएको भन्दै सूचना विभागको प्रेस पास देखाउँदा पनि कसैलाई चिन्दैनौँ भन्दै घिमिरे आफू माथि जाइलागेको बताए।
प्रदर्शनमा उत्रिएका सहभागीले ‘अमृतालाई न्याय देऊ’ नारा लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै तिलोत्तमाको जानकीनगरबाट इलाका प्रहरी कार्यालय बुटवल पुगेर नाराबाजी गरेका थिए। त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही बेर झडप समेत भएको थियो।
वैशाख २, २०७९ शुक्रबार १५:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।