टिकटकबाट स्टार बनेको पशुपतिको एक्लो बाँदर पवन जसलाई 'भक्त'हरुले हनुमान भनेर दिक्कै पारिसके

टिकटकबाट स्टार बनेको पशुपतिको एक्लो बाँदर पवन जसलाई 'भक्त'हरुले हनुमान भनेर दिक्कै पारिसके

काठमाडौँ : पशुपति विकास संरक्षेत्र भित्रको पशुपति मन्दिर नजिकै ऋषिघाट कुटी क्षेत्र ध्यान गर्न जानेहरूका लागि हो। त्यहाँ साधुहरू मात्र नभई विदेशी पर्यटक अनि स्वदेशीहरू समेत पुग्छन्।

कुटीको आफ्नै इतिहास अनि पृष्ठभूमि भए पनि कुटिभित्र त्यहाँका बाबा, स्वयंसेवक सदस्य र अन्य व्यक्तिसँगै पाल्तु जनावरहरू पनि बस्छन्। सोही कुटी परिसरको एउटा खोरभित्र राखिएको छ, एउटा बाँदर। कुटिका बाबाहरूले सो बाँदरको नाम पवन राखेका छन्। र त्यही बाँदर यति बेला भाइरल छ सामाजिक सञ्जालमा। टिकटककै कारण पवन एकाएक स्टार बनेको छ।

कसैले खोर नजिकै टाउको लगे दुवै हात टाउकोमा राख्ने उसको स्वभावका कारण हनुमानको आशीर्वाद भन्दै आशीर्वाद लिने अनि सँगै टिकटक बनाउनेहरूको ताँती लागेको छ कुटीमा। कुटिका स्वयम् सेवक मनोज पन्तका अनुसार पवन हेर्न दैनिक ४ हजारदेखि ६ हजारसम्म आउँछन्। पवन हेर्नकै लागी बिहान चार बजेदेखि नै कुटिमा आइपुग्छन्।

झन्डै दुई हप्ता अघि जसो पशुपति क्षेत्रस्थित ऋषिघाट कुटिका एक जना स्वयम् सेवक सदस्यले पवनसँग खिचेको एउटा भिडियो टिकटकमा अपलोड गरे। टिकटकमा राखेको भिडियो भाइरल भयो। अनि पवन खोज्दै आउनेहरू बढे।

‘पवनलाई हेर्न साँझ ६ बजेसम्म लाइनमा बस्नुहुन्छ। पवनको दर्शनकै निम्ति भनेर नेपालगन्ज र विराटनगरदेखि आएर फर्किसक्नुभयो। चीनबाट पनि आउनुभाथ्यो। अब अमेरिकाबाट पनि दर्शनको लागि भनेर आउने कुरा छ’ पन्त सुनाउँछन्।

भाइरल पवनलाई हेर्न आउनेमा हिन्दु,  बौद्ध भिक्षुहरू पनि भेटिन्छन्। कलेजका छात्रछात्रा समेत आउँछन्। त्यहाँ पुग्नेमा अधिकांश बुढापाकादेखि युवा पुस्ता सबै टिकटकमा देखिने पवनको भिडियोकै कारण त्यहाँ पुगेको देखियो। पशुपति क्षेत्रमा भेटिने अन्य प्रजातिका बाँदरलाई त्यहाँ पुग्ने मानिसले ‘बाँदर’ भनेर पुकारे पनि, तर्साउन खोजे पनि खोरभित्र रहेको बाँदरलाई भने ‘हनुमान जी’,  बोलाउँछन्।

पवन पशुपति क्षेत्रमा देखिने अन्य बाँदर भन्दा भिन्न देखिन्छ। आफ्नो दर्शन गर्न आउने कतिपयको शिरमा हातगोडाले छुन्छ त कतिपय व्यक्तिलाई भुत्लाइदिन्छ। दिक्क मान्छ। केही मानिससँग रमाउँछ। नजिकबाट पवनले आशीर्वाद नदिए पनि टाढैबाट पवनको दर्शन गर्नाले मनले आटेको पुरा हुने विश्वासले समेत त्यहाँ पुग्नेहरू भेटिए।  

१३ वर्ष अगाडि आएको थियो पशुपतिमा

१३ वर्षअघि भारतबाट आएका एक साधुले  पवनलाई ल्याएका थिए। त्यही बस्दाबस्दै साधुको मृत्यु भयो। जब पवन एक्लो भयो पशुपति क्षेत्रका रैथाने बाँदरहरूले झम्टिने, आक्रमण गर्न थालेपछि ऋषिघाट कुटिका सदस्यहरूले त्यसलाई आफूसँगै ल्याए र हुर्काए।

कुटिभित्रका साधुहरूले नै उसको नाम पवन राखिदिए। पशुपतिमा आउँदा सानो बच्चा पवन यति बेला १३ वर्ष पुगेको अनुमान छ। कुटिमा बस्ने ५-६ जना सदस्यहरू पवनको रेखदेखमा खटिन्छन्। उनीहरूले दिने दुधभात, फलफूल र चिनी पवनको आहारा हो।

उसलाई ६ वर्षदेखि भने खोर बनाएर राखिएको छ। कुटिका स्वयंसेवक पन्तका अनुसार अन्य बाँदरबाट आक्रमणको खतरा रहेको र पवनले पनि अपरिचित व्यक्तिलाई झम्टिन सक्ने भएकाले खोरमा राखिएको हो।

पवनले डेढ वर्षदेखिमात्र आफ्नो नजिक आउने व्यक्तिलाई हातगोडाले छुन थालेको छ। पन्त स्वयम् र त्यहाँ पुग्ने अधिकांश मानिसलाई पवनले हातगोडाले छुन थालेपछि दैविक शक्ति भएको भन्दै भिड लाग्न थालेको हो।

भाइरलपछि बदलिएको बाँदर

भाइरल हुनुअघि पवन आफ्नो मुडअनुसार खेल्ने गर्थ्यो। फुर्तिलो देखिन्थ्यो। शान्तसँग बस्थ्यो। तर अहिले त्यस्तो छैन। भाइरल बनेपछि लागेको भीडले भने उसको स्वभाव र व्यवहारमा बदलाव आएको कुटिका अर्का स्वयंसेवक श्रीरामको बुझाइ छ।

‘त्यसको बाल्यकालदेखि हुर्काइ-बढाइसम्म यहाँ ध्यान गर्न आउने र यहाँ भएका बाबाहरूबाहेक अरू मान्छे देखेको थिएन। महाराज र हामीहरू मात्रै हुन्थ्यौ। हामीसँगै खेल्ने, खाना खाने, बस्ने गर्थ्यो। बाँदर खुसी थियो’ उनी सुनाउँछन्,  ‘अचेल भाइरल बनेपछि मानिसहरूको भीड देखेर यो छटपटाइसकेको छ। बाँदरले कहिल्यै यत्रो हुलका हुल मानिस देखेको थिएन। यो भीड देखेपछि उ निराश भएको छ। झिँजो मान्दै गएको। १२ दिन जति भइसक्यो पवन राम्रोसँग सुतेको पनि छैन।’

यस्तो किन हुन्छ ?

सामाजिक सञ्जाल टिकटकमा देखा परेको सूचना सामग्रीकै कारण ऋषिघाट कुटिमा राखिएको बाँदरलाई हेर्न जानेको भिड बढेको हो। अधिकांश कुटीमा पुग्नेहरूको लालसा आशीर्वाद लिने मात्रै हैन टिकटक बनाउने पनि देखिन्छ। टिकटक प्रयोगकर्ताहरूले पवनको भिडियोहरू राखेपछि नै भिड बढ्न थालेको हो।

सूचनाले एउटा मात्र तत्त्वको काम नभई मल्टिपल फ्याक्टरको काम सूचनाले गर्छ । जसमा मनोरञ्जन, मानवीय संवेदना, मानवीय चासो, सामाजिक सांस्कृतिक मान्यता जस्ता सूचनाको मूल्यले कहिलेकाहीँ मानिसलाई ठुलो प्रभाव पार्ने गरेको छ। त्यसैको प्रभाव हो पवनसँग आशीर्वाद लिन बढेको भिड।

सामाजिक सञ्जाल विश्लेषक प्रवेश सुवेदी मानवीय अभिरुचिको मूल्य हाबी भएको साना  घटनाले पनि मान्छेलाई तान्ने गरेको बताउँछन्। पवन हेर्न लागेको भिडमा पनि त्यही अभिरुचिले काम गरेको उनको बुझाई छ। उनी यस्तो नेपालमा नेपालमा मात्र नभई संसारभर हुने सामान्य घटना भएको बताउँछन्।

 ‘यति बेला सामाजिक सञ्जालको ठुलो भीड टिकटकमा छ। टिकटकको भीडमा भएका अधिकांशको ध्यान जुन सामग्रीले तान्छ त्यो तीव्र बन्छ’ उनी भन्छन्, ‘बाँदरको केसमा मानिसको अभिरुचिसँगै धर्म र संस्कृतिले चाँडो तानेकोले भीड लागेको हो। किनकि बाँदर हनुमानसँग जोडिन्छ, रामको रक्षकको रूपमा लिइन्छ। त्यही बाँदरको ठाउँमा अन्य जनावर हुन्थ्यो भने फरक हुन्थ्यो। यही सामग्री अन्य मूल्य मान्यता भएको देशमा भएको भए त्यसमा अनौठो हुँदैनथ्यो।’

उसो त सामाजिक सञ्जाल प्रचलनमा नआउँदा पनि यस्ता चिजवस्तुहरु भाइरल हुने गर्थे । मान्छे मान्छे बिच हुने गफमा, चौतारामा हुने गफमा विभिन्न माध्यमबाट पनि भइराख्ने हुन्थ्यो। तर त्यस बेला कुनै विषय भाइरल बन्न ढिलो  हुन्थ्यो, सानो रूप लिन्थ्यो भने पछिल्लो समय सामाजिक सञ्जालका कारण चाडै ठुलो रूप लिने गरेको सुवेदी बताउँछन्। 

भन्छन्, ‘भाइरल बनेको चीजमा मान्छेले अरूको ध्यानाकर्षण गराउन खोज्ने, भाइरल भएको चीजमा म पनि पुगे भन्दै गर्व महसुस गर्ने मानवीय स्वभावका कारण प्रसङ्गअनुसार कुनै सामग्री देख्नेवित्तिकै भीड त्यतातिर बग्छ। चर्चाको विषय बन्छ । मोबिलिटिका कारण पहिलेभन्दा चाँडो र ठुलो रूपमा भीड देखा पर्छ।’

वास्तवमा सामाजिक सञ्जालले जुन सामग्रीमा मानिसको रुचि  छ त्यसलाई प्रमोट गर्ने गरी कम्पनीहरूले अलगारिदम सेट गरेका हुन्छन्। जुन कन्टेन्टमा मानवीय रुचि हुन्छ त्यसमा कम्पनीहरूको प्राथमिकता हुन्छ।

‘टिकटकमा पनि एकै पटक धेरै सामग्री देखा पर्दा जम्प गरिन्छ। तर कुनचाहिँले मानिसको ध्यानलाई तान्छ त ?

'जुन संस्कृतिमा हुर्केको मान्छे हो त्योसँग त्यसको कनेक्सन हुन्छ’ सुवेदी थप्छन्, ‘बाँदर हनुमान हो, हनुमानको आशीर्वाद फल्छ भन्ने हाम्रो संस्कृतिले यता बाँदरको केसमा पनि त्यही भएको हो। किनकि कल्चरल कनेक्सनमा जान मान्छेलाई मेहनत गर्नुपर्दैन र त्यसमा कतिपयले मनोरञ्जनको पाटोबाट लिन्छन्। कतिपयले सामाजिक सांस्कृतिक र कतिपयले धार्मिक सबै पाटोहरूको भीड जम्मा हुँदा भीड चाँडो र तीव्र अघि बढ्छ।’

के बाँदर साँच्चै पौराणिक कथाको हनुमान हो त ? या बाँदरका कुनै प्रजातिअनुसारको वैज्ञानिक कारणले हामीले हेर्ने त ? यता बाँदरकै विषयमा विद्यावारिधि गरेका प्रा. डा. मुकेश कुमार चालिसेको भने फरक धारणा छ।

सो कुटिमा भएको बाँदर पवनले कुनै पनि चमत्कार गरेको नभई वैज्ञानिक कारणमा विश्वास राख्नुपर्ने उनको भनाई छ। उनका अनुसार हाम्रो देशमा तीन मुख्य प्रजातिका र छवटा उपजातका बाँदर पाइन्छन्। जसमा रातो बाँदर, लङ्गुर बाँदर र पहरे बाँदर हुन्।

जसमध्ये ऋषिघाट कुटिमा राखिएको एक्लो बाँदर रातो प्रजातिको बाँदरमा पर्ने गर्छ। रातो बाँदरलाई नेपालीमा पूर्वी पश्चिमी बाँदर, औले बाँदर, रातो बाँदर र हजारिया बाँदरको भनेर पनि चिनिन्छ। यसको आयु कम्तीमा १३ वर्षदेखि बढीमा २० वर्षसम्म हुने गर्छ।

रातो जातको बाँदर तराइदेखि हिमालको तल्लो भेगदेखि बेसीसम्म, काठमाडौँका विभिन्न मन्दिरहरूमा पाइन्छ। पशुपति क्षेत्रमा पाइने अन्य र कुटिभित्रको भाइरल बाँदर पनि एउटै समूहमा पर्ने गर्छ।

प्रा.डा चालिसेको अनुसन्धानलाई आधार मान्ने हो भने भाइरल बनेको रातो जातको बाँदर मानिससँग चाँडो नजिकिने, कुनै पनि कुरा चाँडो नक्कल गर्न सिक्ने हुन्छ। खानपान, उठबस, व्यवहार आदी मानिसले गर्ने सबै खाले गतिविधिको रातो बाँदरले नक्कल गर्छ।

फलफूलको आहारामा बस्ने रातो बाँदरले मान्छेले जस्तै दुधभात र अन्य खानेकुरा खादा उसको शारीरिक बनावटमा पनि बदलिन्छ । मान्छेले गरेका गतिविधिसँग उ अभ्यस्त हुन सक्ने हुँदा यस्ता खाले बाँदरले मानिसलाई लखेट्ने जिस्किने सम्म गर्छ। यो जातको बाँदरलाई दिक्क लागेमा वा रिस उठेमा चाँडो प्रतिक्रिया जनाउँदैन। प्रतिक्रिया जनाउँदा चिथोर्ने र झम्टिने गर्छ।

 ‘मानिसका सबै गतिविधि नक्कल गर्ने हुँदा मानिसले ढोगेको, नमस्ते गरेको, किस गरेको, माया गरेको आदी गतिविधिहरू नक्कल गर्न सक्नु रातो बाँदरको सिक्ने क्षमताले गर्दा हो। भारतदेखि अमेरिकासम्म यी बाँदरहरूले चुरोट खाएर देखाउने, कोकाकोला खाने आदीजस्ता अनेक गतिविधि  गरेको देखिन्छ’ उनी भन्छन्, ‘यसबाट यस्ता खाले बाँदरहरू सिक्न सिपालु हुने र मानिससँग सानै उमेरदेखि बस्यो भने सबै गतिविधिको नक्कल गर्न सक्ने क्षमता हुन्छ। त्यस कारण वैज्ञानिक हिसाबले यसलाई चमत्कार भन्दिन।'

समाजमा केही अनौठो भयो भने र देखिरहेको कुरा भन्दा फरकखाले चरित्र, आनीबानी ब्यहोरा देखियो भने त्यसलाई चमत्कार, जादु,  भगवान् प्रकट भएको अझै मानिन्छ। तर त्यसलाई विज्ञानको आँखाबाट हेर्नुपर्ने प्रा.डा चालिसेको तर्क छ।

‘बाँदरको पक्षमा भएकाहरूलाई आशीर्वाद दिएको, पाप नाश गरेको जस्तो लाग्छ। तर त्यो होइन। कसैले ढोगेपछि खानेकुरा दिएको छ भने उसले मैले हात राखेमा यसले खानेकुरा दिन्छ भन्ने लागेर उसले त्यसो गर्ने हो’ उनी थप्छन्, ‘हामीले नयाँ कुरा देखिएमा विज्ञानको तरिकाले हेर्नुपर्छ। वैज्ञानिक कारण खोज्नुपर्छ। विज्ञानको मतलब रकेट उडाउनु मात्र होइन।’

वैशाख २, २०७९ शुक्रबार १५:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।