कर्णाली निर्वाचन : भागबण्डाकै कसरतमा गठबन्धन, धमाधम उम्मेदवार छान्दै एमाले
सुर्खेत : यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीमा विभिन्न दलहरु जुटिरहेका छन्। कर्णाली प्रदेशमा पनि पाँच दलीय गठबन्धन र नेकपा एमालेलाई चुनावी सरगर्मीले छोएको छ।
१० जिल्ला र ७९ वटा पालिका भएको कर्णालीमा विशेषगरी गठबन्धन दल र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ। गठबन्धन दलहरु भागबण्डाको गृहकार्यमा व्यस्त छन्।
कुन पालिका कसले लिने भन्नेमैं गठबन्धन दलका नेताहरु व्यस्त देखिन्छन्। उता प्रमुख प्रतिस्पर्धी एमालेले भने कर्णालीका अधिकांश पालिकाहरुमा आफ्ना उम्मेदवारहरु छनोट गरिसकेको छ।
एमालेले जाजरकोट, दैलेख, कालीकोट, जिल्लाका अधिकांश स्थानीय तहमा उम्मेदवार चयन गरिसकेको एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले बताए।
शाहका अनुसार जाजरकोटको भेरी नगरपालिकामा उम्मेदवारको टुंगो लगाइसकिएको छ। यो नगरपालिकामा अहिलेका मेयर सिपी घर्ती नै मेयरको उम्मेदवार बनेका छन्।
यो पालिकाका पाँच वटा वडामा पनि सर्वसम्मत रुपमा उम्मेदवार छनोट गरिसकिएको छ।
बारेकोट गाउँपालिकामा प्रेस चौतारीका निर्वतमान कर्णाली प्रदेश इन्चार्ज वीरबहादुर गिरी अध्यक्षको उम्मेदवार बनेका छन्। जाजरकोटका ७७ वटा वडा तहमध्ये ४० वडामा निर्विरोध उम्मेदवार चयन भइसकेको शाहले बताए।
एमालेले दैलेखमा पनि अधिकांश पालिकामा उम्मेदवारको टुंगो लगाएको छ।
चामुण्डा बिन्द्रासैनी नगरपालिकामा पूर्व जिल्ला उपसभापति सूर्यबहादुर शाहीलाई एमालेले उम्मेदवार बनाएको छ। यहाँका तीन वटा वडामा पनि सर्वसम्मत रुपमा उम्मेदवारको टुंगो लागिसकेको छ।
दैलेखको आठबीस नगरपालिकामा पनि उम्मेदवारका लागि तर्क बडुवाल र खड्ग उपाध्यायको नाम सिफारिस भएको छ। दुल्लु नगरपालिकामा रुद्र शाही, हर्क बडुवाल उम्मेदवार बनेका छन्।
यस्तै कालीकोटको नरहरिनाथ गाउँपालिकामा एमालेले टेकबहादुर बुढालाई उम्मेदवार बनाएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका मानबहादुर रोकाया उम्मेदवार बनेका छन् भने हिमा गाउँपालिकामा अध्यक्षका लागि जयबहादुर खत्री र उपाध्यक्षका लागि भागिरथी शाही उम्मेदवार बनेकी छन्। जुम्लाकै पातारशी गाउँपालिकामा सुकराम रावत अध्यक्ष र खम्मेनी महतरा उपाध्यक्षको उम्मेदवार बनेकी छन्।
प्रदेशका ७९ वटै पालिकाका उम्मेदवारको अन्तिम टुंगो एक/दुई दिनभित्र लागिसक्ने अध्यक्ष शाहको दावी छ।
केन्द्रको निर्णय कुर्दै गठबन्धन
यता गठबन्धनका दलहरु भने भागबण्डाकै गृहकार्यमा जुट्दा उम्मेदवारको टुंगो लाग्न सकेको छैन।
सबै पालिकामा गठबन्धनभित्र छलफल भए पनि आ-आफ्नो पार्टीबाट उम्मेदवारको सिफारिस भने वडा कमिटी हुँदै क्षेत्रसम्म पठाएक छन्।
उम्मेदवारहरु सिफारिस हुने क्रम जारी रहे पनि गठबन्धनमा भागवण्डाको निर्णय केन्द्रबाट नआएकोले छनोट गर्न नसकिएको नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले बताए।
नेपाली कांग्रेसले सुर्खेत लगायत अन्य जिल्लाहरुमा वडा अध्यक्ष, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगर प्रमुख/उपप्रमुखका उम्मेदवारको सिफारिस वडाबाट क्षेत्रीय कार्यसमिति हुँदै प्रदेशमा पठाइसकेको छ।
उम्मेदवारहरु सिफारिस हुने क्रम जारी रहे पनि गठबन्धनमा भागवण्डाको निर्णय केन्द्रबाट नआएकोले छनोट गर्न नसकिएको नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले बताए।
उनले अहिलेसम्म कुनै पनि पालिकाको एकल उम्मेदवार नामावली प्रदेश कमिटीमा नआएको बताए।
‘अहिले उम्मेदवार सिफारिस हुने क्रम जारी छ। कुन पालिका कसले लिने भन्ने विषयको मापदण्ड माथिबाट आइसकेको छैन,’ शाहले भने, ‘गठबन्धनमा भागबण्डाको निर्णय आएको केही दिनमा नै उम्मेदवार चयन हुनेछ।’
यद्यपि, नेपाली कांग्रेसका नेता/कार्यकर्ताले भने जनमत र २०७४ को निर्वाचनको मत परिणामको आधारमा भागबण्डा गर्नुपर्ने अडान राख्दै आएका छन्।
यस्तै एकीकृत समाजवादीले कर्णालीका चार जिल्लाका पाँच पालिकामा प्रमुख पदको उम्मेदवार पाउन सक्ने चर्चा पनि चलेको छ।
यसअघिको स्थानीय तहका जनप्रतिनिधिले नेकपा एस रोजेका आधारमा उनीहरुले भागबण्डा पाउन सक्ने आकलन गरिएको छ।
दैलेख, कालिकोट, सल्यान, डोल्पा, मुगुका केही स्थानीय तह समाजवादीले पाउन सक्ने आकलन छ।
अन्य स्थानीय तहमा प्रमुख बाहेक अन्य पदहरुमा समाजवादीले चित्त बुझाउनुपर्ने अवस्था छ।
एमाले विभाजनको समयमा निर्वाचन आयोगमा नेकपा एसको पक्षमा सनाखत गर्न पुगेका ३५४ जनप्रतिनिधिमध्ये केही एमालेमै फर्किसकेका छन्।
यस्तो अवस्थामा एसलाई कर्णालीका चार जिल्लामा मात्रै पालिकाको नेतृत्व गर्न पाउने अवसर आउने भएको हो। ७९ वटा स्थानीय तह भएको कर्णालीमा २७ पालिका जितेको थियो। अहिले एमालेसँग २२ पालिका प्रमुख छन्।
सुर्खेतमा गठबन्धनको अवस्था
सुर्खेतमा पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहको पदमा भागबन्डा टुङ्गिएको छैन।
कांग्रेसले २०७४ को स्थानीय निर्वाचनमा जिल्लाका ९ पालिकामध्ये ६ वटा पालिकामा प्रमुख जितेको थियो।
वीरेन्द्रनगर, गुर्भाकोट, भेरीगंगा, पञ्चपुरी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिका गरी ६ वटा स्थानीय तहमा आफूहरूको नेतृत्वका लागि दावी रहन सक्ने नोपली कांग्रेस सुर्खेतका सभापति खड्क पोखरेलले बताए। यी अघिल्लो निर्वाचनमा कांग्रेसले एक्लै जितेका स्थानीय तह हुन्। उक्त निर्वाचनमा लेकवेशी नगरपालिका, सिम्ता र चौकुने गाउँपालिका एमालेले जितेको थियो।
सुर्खेतमा पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहको पदमा भागबन्डा टुङ्गिएको छैन।
एमालेले जितेका पालिकामा भने गठबन्धन दल एकीकृत समाजवादीले नेतृत्वका लागि आकांक्षा राखेको छ। समाजवादीका जिल्ला अध्यक्ष मोहन बडुवालले गठबन्धनबीच उम्मेदवार टुंग्याउने विषयमा छलफल भइरहेको बताए। एमालेले जितेका स्थानहरुमा आफूहरुको दावी हुने उनको भनाइ छ।
चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय भएसँगै माओवादी केन्द्रले पनि सबै पालिकामा आफ्नो निर्णायक मत रहेको दावी गरेको छ।
त्यसैगरी गठबन्धनको दुई दल राष्ट्रिय जनमोर्चा र जनता समाजवादीको संगठन कमजोर छ। अहिले कुनै पालिकाको दावी नगरे पनि वडामा भने समेटेर जान सक्ने अवस्था छ।
वैशाख २, २०७९ शुक्रबार १४:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।