पोखरा बदल्ने 'अटेरी' सपना : अब जनता झुक्याउने दिन गए
पोखरा : भौगोलिक हिसाबले देशकै ठूलो महानगरको हो पोखरा। गण्डकी प्रदेशको राजधानी र ठूलो महानगर भएकाले स्थानीय तहको निर्वाचनमा पोखराले सबैको ध्यान खिचेको छ।
पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार बन्न ठूला दलका नेता तथा कार्यकर्ताले मरिहत्ते गरिरहेका बेला एक जना अभियन्ताले भने महानगरमा 'अटेरी' अभियान चलाएका छन्।
राजनीतिक पार्टीको आडमा बहुमतप्राप्त जनप्रतिनिधिले पाँच वर्षको अवधिमा जनताले प्रशंसा गर्न लायक काम गर्न नसकेको भन्दै लेखक एवं साहित्यकार गनेश पौडेलले ‘अटेरी’ अभियान चलाएका हुन्। उनले अटेरी अभियान अन्तर्गत पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्।
राजनीतिक दल विरुद्ध अटेरी गर्ने अभियान अन्तर्गत पोखरामा नगर प्रमुखसहित १५ जनाले वडाध्यक्ष र सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
पौडेलको यस अभियान पोखरामा मात्र सीमित छैन। देश भरका विभिन्न ठाउँमा अटेरीका तर्फबाट उम्मेदवारी घोषणा भइरहेका छन्।
निर्वाचनको मिति नजिकिँदै गर्दा अटेरी अभियानका संयोजक पौडेलले ‘पोखरा लक्ष्य २०७९ कार्ययोजना’ नाम दिइएको घोषणापत्र सार्वजनिक गरेका छन्। उनले पोखरा लक्ष्य २०७९ को घोषणापत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई प्राथामिकतामा राखेका छन्। ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन’ अभियानको चुनावी नारा हो।
फरक नतिजा कसरी आउँछ ?
विकासका योजना बनाउनुअघि विभिन्न क्षेत्रका स्वतन्त्र विज्ञसँग राय सुझाव पनि लिएको मेयर पदका उम्मेदवार पौडेल बताउँछन्। घोषणापत्रमा प्राकृतिक स्रोत नदी-नाला, ताल-तलैया, सार्वजनिक जमिन उच्च अतिक्रमणमा परेको उल्लेख गर्दै संरक्षणको योजना पनि समेटेका छन्। घोषणापत्रमा सुकुम्बासी व्यवस्थापन, सडक तथा यातायात सुधारमा पनि जोड दिइएको छ। सामुदायिक विद्यालयको दुरावस्थालाई सबैको सहयोग र परामर्शमा गुणस्तरीय नमुना विद्यालय बनाइने पनि घोषणापत्रमा उल्लेख छ।
स्थानीय तहलाई दलीय भागबण्डामा नभई सबैका साझा उम्मेदवार बनाउनु पर्नेमा उम्मेदवार पौडेलको जोड छ। बारम्बार दलका उम्मेदवारलाई निर्वाचित गर्ने अनि फरक नतिजा चाहने मतदाताले अब सोच्नुपर्ने उनी बताउँछन्। पौडेलले यस पटक आफ्नो पार्टीमै रहेर पनि अटेरी अभियानलाई साथ दिन आग्रह गरेका छन्।
‘अटेरी अभियानलाई साथ दिँदा अवश्व फरक नतिजा आउँछ’, उनले भने, ‘बारम्बार पार्टीबाट उम्मेदवार बनेकाबाट फरक नतिजा आउँदैन। मौका पाएको बेला काम गर्न नसक्नेबाट अपेक्षा गर्नु नै ब्यर्थ हो।’
सम्भव योजना मात्र घोषणापत्रमा
मेयरका प्रत्यासी पौडेलले आफूहरुले असम्भव र झुटा आश्वासन नबाँड्ने घोषणापत्रमा उल्लेख गरेका छन्। ‘पानीजहाज, सुरुङमार्ग, मेट्रो वा मोनोरेल चलाउने जस्ता तत्काल असम्भव र हावादारी योजना यसमा छैनन्।
महानगरको कुल विकास बजेटको ३० प्रतिशत रकमले नधान्ने अवस्थामा ठूला खर्च लाग्ने परियोजना (मेगा प्रोजेक्ट) महानगर पालिकाले बनाउन सक्दैन,’ घोषणा पत्रमा भनिएको छ, ‘यस्ता ठूला परियोजना बनाउन प्रदेश र संघीय सरकारको दायित्व रहन्छ। त्यसैले स्थानीय स्रोत र साधनबाट बनाउन सम्भव योजनालाई प्रतिबद्धताको रुपमा राखेका छौँ।’
७० वर्षदेखि देश संक्रमणकालमा रहेका भन्दै नेताहरुले जनतालाई झुक्याउँदै आएका छन्। संक्रमणकालको कहिले अन्त्य हुने हो। पटक-पटक सरकारमा पुग्दा समेत जनताका सामान्य समस्याको समाधान नगरी संक्रमणकालका नाममा कहिलेसम्म अल्मल्याइरहने हो।
अटेरीको घोषणापत्रमा ‘मेरो पोखरा’ मोबाइल एप सार्वजनिक गरेर महानगरका सबै सुविधा घरमै बसेर लिनसक्ने व्यवस्था गर्ने उल्लेख छ। यसमा सम्पूर्ण बोलपत्र महानगरीय एप्लिकेसन वा वेबसाइटबाट मात्रै जारी हुने व्यवस्था गर्ने उल्लेख छ।
‘महानगरीय मोबाइल एप्लिकेसनमा सबै कर्मचारीको विवरण राखी त्यसमार्फत गरिएको सेवाग्राहीको मूल्यांकनको आधारमा कर्मचारीलाई दण्ड, पुरस्कार तथा बढुवा दिने व्यवस्था गर्नेछौँ’, घोषणापत्रमा भनिएको छ। एप्लिकेसनमार्फत विभिन्न डिजाइनका घरका नक्सा सार्वजनिक गर्ने र त्यसअनुसार आवासगृह बनाउने व्यवस्था मिलाउने उल्लेख छ।
अटेरी अभियानले विद्यालयमा राजनीतिलाई पनि कडाइ गर्ने घोषणा गरेको छ। घोषणापत्रमा भनिएको छ, ‘शिक्षकले राजनीति गर्नुहुन्न भन्ने नारा हरेक विद्यालयमा लागू गर्ने योजना छ। शिक्षकले राजनीति गर्नु वा राजनीतिक दलसम्बद्ध पेसागत वा भ्रातृ संगठनको सदस्य हुनुलाई शैक्षिक अपराध मानिने छ।’
अटेरी अभियानको सुरुवात गरेका पौडेलले जुनसुकै दलमा आस्था राखे पनि अटेर गर्न आग्रह गरेका छन्। टोल सुधार, आमा समूहमा समेत दलको भागबण्डा हुने गरेको बताउँदै अभियन्ता पौडेलले टोल-टोलमा छाया सरकार र देश भागबण्डामा बाडिँदा राष्ट्र नै पछि परेको बताए। उनले भने, ‘७० वर्षदेखि देश संक्रमणकालमा रहेका भन्दै नेताहरुले जनतालाई झुक्याउँदै आएका छन्। संक्रमणकालको कहिले अन्त्य हुने हो। पटक-पटक सरकारमा पुग्दा समेत जनताका सामान्य समस्याको समाधान नगरी संक्रमणकालका नाममा कहिलेसम्म अल्मल्याइरहने हो।’
अभियन्ता पौडेलले बारम्बार एउटै दलका नेतालाई मतदान गरेर नयाँ समाजको आशा गर्नु मुर्ख्याईं हुने बताए।
वैशाख २, २०७९ शुक्रबार १०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।