प्रचण्डको प्रतिष्ठा जोडिएको रोल्पामा माओवादीले जोगाउला शाख ?
बुटवल : १० वटा स्थानीय तह रहेको रोल्पामा अघिल्लो निर्वाचनमा माओवादी केन्द्र एक्लैले ७ पालिका जित्यो। नेकपा एमालेले २ पालिका जित्दा नेपाली कांग्रेसले एउटा पालिकामा विजयी हासिल गर्यो।
माओवादीका लागि लुम्बिनी प्रदेशकै सबैभन्दा राम्रो मानिएको रोल्पामा यस पटक माओवादीले आफ्नो शाख जोगाउँला? निर्वाचनको मिति नजिकिँदै गर्दा अहिले चोक-चोकमा चर्चा/परिचर्चा हुन थालेको छ।
१४ चैतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ७ वर्षपछि रोल्पा पुगे। रोल्पा नगरपालिकाले करिब ६ करोड लगानीमा निर्माण गरेको जनयुद्ध स्मृति भ्यु-टावरको उद्घाटन गर्न सदरमुकाम लिबाङ पुगेका दाहालले त्यहाँ आयोजित जनसभालाई सम्बोधन गर्दै भने, ‘हामीलाई कसैले हेप्न खोजे तपाईंहरूले जोगाउनुहोला।’
अप्ठ्यारोमा परेका बेला रोल्पाको साथ खोजेको भन्दै केही भावनात्मक अभिव्यक्ति दिएका प्रचण्डलाई के साँच्चै रोल्पालीले यस पटक साथ देलान्? त्यसको उत्तर भेट्न भने निर्वाचन नै कुर्न पर्छ।
माओवादीको उद्गम थलो रोल्पामा यस पटक गठबन्धनका बीच चुनावी तालमेल भएका कारण माओवादी आफ्नो शाख जोगाउनेमा विश्वस्त छ। नेपाली कांग्रेस गठबन्धनकै आडमा अघिल्लो निर्वाचनमा भन्दा बढी सिट ल्याउन सक्ने बताउँदै आएका छ। यता एमालेले भने गठबन्धनबीच हुने खटपट र असन्तुष्टिलाई साथमा लिएर अघिल्लो निर्वाचनमा भन्दा बढी सिट ल्याउने दावी गरिरहेको छ।
नेपाली कांग्रेस रोल्पा जिल्ला सभापति किशोरकुमार आचार्यले अघिल्लो निर्वाचनको तुलनामा रोल्पामा अहिले पार्टी बलियो भएकाले गठबन्धन भए पनि १० मध्ये आधा हिस्सा नेपाली कांग्रेसले पाउनुपर्ने बताए।
अघिल्लो निर्वाचनमा एउटा मात्र पालिका जितेको भए पनि ५ वर्षको अवधिमा जिल्लाभर कांग्रेसले चलाएको अभियानले संगठन बलियो भएकाले कम्तीमा पनि ५ पालिका प्रमुख र उपप्रमुखमा कांग्रेसको दावी रहेको उनले बताए।
जिल्लामा गठबन्धनको बैठक बसिरहे पनि निर्णय अझै भइसकेको छैन। माओवादी केन्द्रले पनि सम्मानजनक हैसियतमा सिट बाँडफाँड गर्ने बताउँदै आएको छ। माओवादी केन्द्र रोल्पाका जिल्ला इन्चार्ज दीपेन्द्र पुनले अघिल्लो निर्वाचनको शाख जोगाउने गरी गठबन्धनमा सहमतिका लागि छलफल भइरहेको बताएका छन्। यद्यपि, सिट बाँडफाँड भने अझै भइनसकेको उनको भनाइ छ।
नेपाली कांग्रेस र माओवादी केन्द्रले दावी गरिरहँदा गठबन्धनकै दल एकीकृत समाजवादीले एमालेले निर्वाचन जितेका पालिकामा आफ्नो स्वत: दावेदारी हुने बताएको छ। केन्द्रको नीति अनुसार नै आफूहरुको दावी रहने समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीले बताए।
जिल्लामा पार्टी संगठन बलियो हुँदै गएको भन्दै सम्मानजनक सिट बाँडफाँड हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
यता एमालेले पुरानो विरासत कायम राख्दै थप पालिकामा विजयी हुने रणनीति बनाएको छ। अघिल्लो निर्वाचनमा एमाले त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकामा विजयी भएको थियो।
एमाले रोल्पा जिल्ला अध्यक्ष बालाराम बुढाले एमाले रोल्पामा एक्लै चुनाव लड्ने तयारीमा रहेको बताए। यस पटकको चुनावमा एमालेले ४ पालिकामा विजयी हासिल गर्ने उनको दावी छ।
एमालेबाट चोइटिएर गएको समूह नेतृत्व तहमा ५ प्रतिशत र तल्लो कार्यकर्तामा २ प्रतिशत मात्र प्रभाव रहेको भन्दै यस पटक एमाले गठबन्धनलाई परास्त गर्ने गरी चुनावी रणनीतिमा लागेको उनले बताए।
वैशाख २, २०७९ शुक्रबार ०६:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।