भक्तपुरमा बिस्केटको रौनक : हिजो ठड्याइएको लिंगो आज ढालियो
काठमाडौं : भक्तपुरमा मनाइने बिस्केट जात्राको दोस्रो दिन आज भैरव र भद्रकालीको रथमा पूजा-आजा गरिएको छ। स्थानीय भक्तजनले बिहानैदेखि भैरव र भद्रकालीमा पूजा-आजा गरी जात्रा मनाएका छन्।
चैत मसान्तमा इन्द्रध्वजा सहित ठड्याइएको लिङ्गो आज वैशाख १ गते साँझ ढालिएको छ। बिस्केट जात्राको चौथो दिन साँझतिर भेलुखेलस्थित ल्यासिंखेलमा उठाइएको लिङ्गो आज ढालिएको हो ।
लिङ्गो ठड्याउनुअघि लिङ्गोको टुप्पोमा नाग र नागिनीको प्रतीकस्वरूप २ वटा ध्वजा बाँधेर अष्टमातृकाको प्रतीक ८ वटा डोरीले तानेर लिङ्गो उठाउने प्रचलन छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर लिङ्गो ढालिएको थियो ।
साथै आज भक्तुपरको भेलुखेलमा सिन्दुर जात्रा सहितको ठूलो मेला लागेको थियो।
नयाँ वर्षको आगमनसँगै सुरू हुने ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा भक्तपुरका बासिन्दाले ८ रात ९ दिनसम्म धुमधामका मनाउँछन्।
नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिन पछिसम्म यो जात्रा सञ्चालन हुने गर्छ।
जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ।
वैशाख १, २०७९ बिहीबार २२:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।