बलिउड अभिनेता सोहेलको सगरमाथा हेर्ने अधुरो सपना

बलिउड अभिनेता सोहेलको सगरमाथा हेर्ने अधुरो सपना

काठमाडौँ : बलिउड अभिनेता सोहेल खानको ठुलो सपना छ सगरमाथा प्रत्यक्ष आफ्नै आँखाले हेर्ने। तर उनको यो सपना पुरा हुन सकेको छैन। सानै उमेरमा उनी काठमाडौँ आएका थिए। त्यो बेलादेखि नै नेपालको सुन्दरताबाट मोहित भएका उनी बिहीबार काठमाडौँ आए दाइ सलमान खानको ‘दबङ रिलोडेड टुर’ प्रमोट गर्न

काठमाडौँमा आगामी जेठ दोस्रो साता हुने कार्यक्रमबारे जानकारी दिन बिहीबार आयोजित कार्यक्रममा उनले भने' म सानै छँदा काठमाडौँ आएको थिए। मलाई नेपाल एकदम राम्रो र सुन्दर लाग्छ। यस पटक सगरमाथा हेरेर मात्र फर्कन्छु।'

उनले कार्यक्रममा बताए अनुसार उनी १०-१२ वर्षको उमेरमा मुम्बईबाट रेल चढेर वीरगन्जको रक्सौल नाकाबाट नेपाल आएका थिए। नेपाल जाने भनेपछि उनको बाल मस्तिष्कमा सगरमाथाको चित्र आइहाल्यो। नेपाल गएपछि सगरमाथा देखिहालिन्छ भन्ने लागेको रहेछ उनलाई। काठमाडौँ घुमेर फर्किएका उनले सगरमाथा देख्न पाएनन्।

'१०–१२ वर्षको हुँदा स्कुल जीवनमा पहिलो पटक काठमाडौँ आएको थिएँ,’ उनले भने  ‘त्यति बेला एभरेस्ट देख्न पाइन। अहिले ४० वर्षपछि आएको छु। यस पटक एभरेस्ट हेरेर मात्रै फर्कन्छु।’

बिहीबार सोल्टी होटेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार ४५ मिनेट देखि ३ घण्टासम्म हुने कार्यक्रममा सलमान खानले दर्शकसँग अन्तरक्रिया समेत गर्नेछन्।

आयोजकमध्ये एक ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ। दर्शकका लागि जेठ १४ गते बिहान ११ बजेदेखि दशरथ रङ्गशालाको गेट खुला गरिने छ।

साढे तीन घण्टासम्म बलिउड कलाकारले प्रस्तुति दिनेछन्। 

वैशाख १, २०७९ बिहीबार २०:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।