पोखरा महानगरको मेयर-उपमेयरका आकाङ्क्षी धेरै भएपछि मतदान गर्दै एमाले

पोखरा महानगरको मेयर-उपमेयरका आकाङ्क्षी धेरै भएपछि मतदान गर्दै एमाले

पोखरा : एमालेले पोखरा महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार छान्न चुनाव गर्ने भएको छ। सर्वसम्मत उम्मेदवार छानौंट गर्न मेयर र उपमेयरका आकाङ्क्षीसँग भएका छलफलमा सहमति नजुटेपछि एमाले पोखरा महानगर कमिटीले शुक्रवार आन्तरिक चुनावबाट उम्मेदवार छनौट गर्ने भएको हो। 

भौगोलिक रूपमा देशकै ठुलो पोखरा महानगरको मेयरमा एमालेका तर्फबाट १२ र उपमेयरमा ११ जनाले आकाङ्क्षा देखाएका छन्। मेयरमा एमालेबाट गण्डकी प्रदेश सभाका सांसद कृष्ण बहादुर थापा, राजीव पहारी, पार्टीका केन्द्रीय सचिवालय सदस्य भीम कार्की लगायतले दावेदारी गरेका छन्।

महानगरमा उम्मेदवार बन्न सांसददेखि कार्यकर्तासम्मले दाबी गरेपछि एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ लगायतका नेताले आकाङ्क्षीलाई बोलाएर सर्वसम्मतका लागि प्रयास गरेका थिए।

तर, तीन दिनदेखि प्रयास गर्दा समेत सहमति नभएपछि पार्टी महानगर कमिटीले बिहीबार साँझ निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ। शुक्रवार मध्यान्ह १२ बजे जिल्ला पार्टी कार्यालयमा मतदान हुने भएको हो।

१ सय १० सदस्यीय पोखरा महानगर कमिटीले निर्वाचनबाट एक-एक महिला सहित ३–३ जनाको नाम केन्द्रीय कमिटीमा सिफारिस गर्नेछ। मेयरका लागि केन्द्रीय सदस्यहरू भीम कार्की, कृष्ण बहादुर थापा, राजीव पहारी र मिनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्व कल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारीले पार्टीमा आन्तरिक उम्मेदवारी दिएका थिए।

त्यसै गरी महानगरको उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पङ्गेनी, तेजनारायण अधिकारी, सञ्जीव बहादुर कोइराला, देवका पहारी, जीवन प्रसाद आचार्य, बैनबहादुर अधिकारी क्षेत्री, हरिमाया गुरुङ, बलराम गायक र सुष्मा पौडेलले उम्मेदवारी दर्ता गरेका छन्।

२०७४ सालको स्थानीय चुनावमा समेत मेयर र उपमेयरमा सर्वसम्मत हुन नसकेपछि आन्तरिक मतदानबाट निर्णय गरिएको थियो।

वैशाख १, २०७९ बिहीबार १९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।