रुपन्देहीमा एक युवतीको रहस्यमय मृत्युः हत्या भन्दै माईतीले गरे प्रदर्शन, श्रीमान् सहित तीन पक्राउ

रुपन्देहीमा एक युवतीको रहस्यमय मृत्युः हत्या भन्दै माईतीले गरे प्रदर्शन, श्रीमान् सहित तीन पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा एक युवतीको रहस्यमय मृत्यु भएको भन्दै मृतकका आफन्तजनले घर घेराउ गरेका छन्। तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी २९ वर्षीय अमृता टण्डन (खत्री) को शंकास्पद मृत्यु भएको भन्दै माईती पक्षले घर घेराउ गरेका हुन।

माईती पक्षले परिवार न मिलेर अमृताको हत्या गरेको आरोप लगाएका छन्। बुधबार राती अमृताले विष सेवन गरेपछि उनको मृत्यु भएको थियो। घरमा विष सेवन गरेकी अृमतालाई उनकै श्रीमान् प्रेम टण्डनले उपचारका लागि भन्दै प्रादेशिक अस्पताल लगेका थिए। तर अमृताको बाटैमा मृत्यु भएको थियो। मृतक अमृताकी आमा सावित्रा खत्रीले छोरीलाई घरमा सानो कुरामा गाली गलौच गर्ने गरेको र यातना दिने गरेको भन्दै छोरीको हत्या नै भएको बताइन्। 

मृतक अृमताको साथी लक्ष्मण शर्माले पनि अमृताको मृत्यु विष सेवन नभई नियोजित रुपमा हत्या गरेको बताए। ‘राती ९ः१५ सम्म हामी संगै थियौ। त्यसपछि उ घर गई। घर गएपछि ९ बजेर ३२ मिनेटमा आफ्ना दाईलाई फोन गरेर नर्क बाट निकाल्नुस भनेर म्यासेज गरेकी छिन्।  त्यसपछि ९ः ५० मा प्रादेशिक अस्पताल लैजाँदा बाटैमा मृत्यु भएको भनेर लेखेर दिएको छ। घरबाट ढोका नफोडी कसरी अस्पताल पुराइयो ।’ उनले भने।

उनले ५ वर्ष देखि घर परिवारले यातना दिएको भन्दै अमृताको मृत्यु विष सेवन नभई हत्या गरेर अस्पतालमा लगे जस्तो गरिएको बताए। ‘बहिनीको मृत्यु हुँदा हामी सहन सक्दैनौ। कानुनी कारबाही र निष्पक्ष छानबिन हुन पर्छ।’ उनले भने ।

बुधबार जानकीनगरमै माइती घरमा रहेकी अमृतालाई श्रीमान् प्रेम टण्डनले पटक–पटक फोन गरेर घरमा बोलाएको एक घण्टा नबित्दै उनको मृत्यु भएको उनले बताए।
अमृताको सात वर्षअघि प्रेम विवाह भएको थियो। मृतकका ५ वर्षीय छोरा छन्।  

मृतकका सासू, ससुरा र श्रीमान् पक्राउ
मृतकका आफन्तहरूले अमृताको आत्महत्या नभई हत्या भएको आरोप लगाएपछि ईलाका प्रहरी कार्यालय बुटवलले मृतक अमृताका सासू, ससुरा र श्रीमानलाई पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले तीन जनालाई पक्राउ गरिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए।

घर तोडफोड
आक्रोशित माईती पक्षले घर तोडफोड गरेका छन्। अमृतालाई हत्या गरी आत्महत्याको बाहना बनाइएको भन्दै आक्रोशित मृतकका आफन्तजनले घर तोडफोड गरेका हुन। घर तोडफोड भएपछि ठुलो संख्यामा प्रहरी परिचालन समेत गरिएको छ। घटनास्थलमा आफन्तले नाराबाजी गर्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।

वैशाख १, २०७९ बिहीबार १७:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।