तीन सय बोकेर घर छोडेका 'केजीएफ'का नायक यश आज सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार

तीन सय बोकेर घर छोडेका 'केजीएफ'का नायक यश आज सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार

एजेन्सीः आजबाट फिल्म हलहरू 'केजीएफ-२' मय भएका छन्। नेपालका हलमा भने 'ए मेरो हजुर- ४' को पनि दवदवा रहेको छ।

केजीएफका नायक हुन्- यश। असली नाम हो- नवीनकुमार गौडा। उनी दक्षिण भारतको पनि कन्नड फिल्म उद्योगका नायक हुन्। तर केजीएफ उनको जीवनमा यस्तो चलचित्र बनेर आयो जसले उनलाई चिन्ने जमात भारतभर त बढ्यो नै अन्य मुलुकमा पनि क्रेज आकाशियो।

तर यी नायक कुनैबेला गरिब थिए, अति गरिब। उनको बुवा बसमा कण्डक्टरको काम गर्थे। यश भने सानैबाट कलाकार बन्न चाहन्थे।

उनले सानै उमेरमा नाटक मण्डलीमा पनि सहभागी भएका थिए। उनी आफ्नो सपना पूरा गर्न बेंग्लोर जान चाहन्थे। तर परिवारले यशको यो सपनालाई साथ दिएनन्। जब यशले जिद्दी गरे, उनका बुवाले उनीसँग सबै नाता सम्बन्ध तोडे। फर्केर घर नआउनू भने।

यश पनि के कम। तीन सय रुपैयाँ (भारु) लिएर उनले घर छोडे। बेंग्लोर पुगे। र संघर्षले भरिएको यात्रा सुरु भयो।

काम उनले के-के मात्र गरेनन्। लाइटम्यान पनि बने। ब्याकग्राउण्ड आर्टिस्ट बने। असिस्टेन्ट डिरेक्टर बने। यसबीच अडिसन पनि दिइरहे। 

अन्ततः उनले टिभी सिरियलमा काम पाए- कलाकारको रूपमा। त्यसपछि साना-साना रोलहरू पाए फिल्ममै। एउटा चलचित्रबाट त बेस्ट सपोर्टिङ एक्टरको विधामा पुरस्कारै पनि थापे।

यसरी नै काम गरिरहेका यशको जीवनमा बरदान बन्यो चलचित्र केजीएफ। यसले उनलाई नाम, दाम सबै दियो। देश-विदेशमा फ्यान बढे। घरबाट तीन सय बोकेर कलाकार बन्न हिँडेका यश आज कन्नड चलचित्र उद्योगको सर्वाधिक पारिश्रमिक लिने कलाकार हुन्। उनको नेट वर्थ ५० करोड भारु छ।

वैशाख १, २०७९ बिहीबार ०९:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।