नयाँ वर्षको शुभकामना, २०७९ आशाको किरण बोकेको वर्ष

नयाँ वर्षको शुभकामना, २०७९ आशाको किरण बोकेको वर्ष

काठमाडौंः आजबाट नयाँ वर्ष २०७९ सुरु भएको छ। वर्षको पहिलो दिन आज वैशाख १ गते सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गर्दछ।

 

आजको दिनलाई वैशाख सङ्क्रान्ति पनि भनिन्छ। एकअर्कालाई शुभकामना आदान-प्रदान गर्दै आजको दिन मनाउने चलन छ।

०७८ साल नेपालका लागि राजनीतिक रूपमा त्यति सुखद् रहेन। कांग्रेस, एमाले, माओवादीका महाधिवेशनले पुरानै नेतृत्त्व चयन गर्दा राप्रपामा मात्र नेतृत्त्व फेरियो। सरकार परिवर्तनले अस्थिर राजनीतिको दृष्टान्त पुनः पुष्टि गर्यो।

अर्थतन्त्र पनि निरन्तर ओरालो लाग्यो ०७८ सालमा। खानेतेल, खाद्यान्न लगायतमा मूल्यवृद्धि उच्च भयो। इन्धनको मूल्य ०७८ सालको सुरुमा र अहिलेमा आकाश-जमीनको फरक रह्यो।

खेलकुद क्षेत्रमा भने केही आशाका किरण देखिए। नेपाली क्रिकेट टोलीले विश्वकपमा छनोट हुने अवसर गुमाए पनि अन्य प्रतियोगिता र अवसरहरूमा भने आफूलाई प्रमाणित गर्यो। फुटबलमा सामान्य नै रह्यो ०७८ साल। विशेषतः मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यो वर्ष फुटबलको पर्दा ओगटे।

कला क्षेत्र सबैभन्दा पीडित भयो- ०७८ सालमा। मुस्किलले म यस्तो गीत गाउँछु- २ ले आफ्नो लगानी उठायो। अरू चलचित्रले धेर-थोर तारिफ कमाए पनि पैसा कमाउन सकेनन्। तिनमा चिसो एस्ट्रे, कठपुतली लगायत छन्।

वर्षको सुरुआत ए मेरो हजुर- ४ बाट हुँदैछ। तर यो चलचित्र पनि दर्शकले व्यग्र प्रतीक्षा गरेको केजीएफ-२ सँग भिड्दैछ। यसले ठूलो चुनौती पनि खडा गरेको छ।

समग्रमा हेर्दा ०७८ साल त्यति सुखद् वर्ष रहेन। ०७९ सालको पहिलो महिना वैशाखमै भने स्थानीय तहको चुनाव हुँदैछ। नयाँ नेतृत्त्व पाउँदैछ देशका स्थानीय तहले। यसले भने केही आशाका किरण देखाउने निश्चित छ।

उकेराको तर्फबाट सबैमा नयाँ वर्षको हार्दिक शुभकामना।

वैशाख १, २०७९ बिहीबार ०७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।