कलाकारमा राजनीतिक चस्का : फिल्म निर्देशक शोभित काठमाडौँको मेयर उम्मेदवार
काठमाडौँ : स्थानीय तह निर्वाचन मिति नजिकिएसँगै पेशै राजनीति भएकाहरूमा चस्का पस्नु त स्वाभाविकै हो। पछिल्लो समय एकाएक कलाकारहरूमा समेत राजनीतिको चस्का बढिरहेको छ।
पार्टी प्रवेश गर्ने, प्रचारमा हिँड्ने मात्रै हैन उम्मेदवारी घोषणा र उम्मेदवारी दर्तै नगरी उम्मेदवारी फिर्ताकोक्रम समेत सुरु भइसक्यो। यही भिडमा बुधवारबाट फिल्म निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत पनि मिसिए काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारको घोषणा गरेर
उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट काठमाडौँको मेयरको उम्मेदवार बन्ने तयारीमा लागेका छन्। उनलाई उम्मेदवार बनाउन पार्टीमा सहमति भइसकेको बताइएको छ।
यस अगाडि भुवन केसी काठमाडौँको मेयरको उम्मेदवारको रूपमा चर्चामा आएका थिए। समुन्नत लोकतान्त्रिक पार्टीले उनलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको तेस्रो दिन उनले उम्मेदवार नबन्ने घोषणा गरे।
काठमाडौँको मेयरको उम्मेदवार बन्न र्यापर बालेन शाह प्रचारमै खटिइसकेका छन्। अभिनेत्री रेखा थापा राप्रपाको महामन्त्रीमा पराजित भए पनि अहिले स्थानीय तहको निर्वाचनमा स्टार प्रचारकको रूपमा खटिएकी छिन्।
नयाँ शक्तिबाट राजनीतिमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेर प्रचारमा खटिएकी छिन्।
चैत ३०, २०७८ बुधबार १४:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।