गठबन्धनलाई लुम्बिनीका चार उप-महानगरपालिकामा भागबण्डा मिलाउनै सकस

गठबन्धनलाई लुम्बिनीका चार उप-महानगरपालिकामा भागबण्डा मिलाउनै सकस

बुटवल : आगामी स्थानीय निर्वाचनमा पाँच दलीय गठबन्धनलाई लुम्बिनी प्रदेशका चार उप-महानगरपालिकामा भागबण्डा मिलाउनै सकस भएको छ।

गठबन्धनभित्र मतभेद हुँदा उम्मेदवारको नाम समेत सिफारिस हुन ढिलाइ भइरहेको छ। प्रदेशमा बुटवल उप-महानगरपालिका, दाङको घोराही उप-महानगरपालिका, तुल्सीपुर-उप महानगरपालिका र बाँकेको नेपालगञ्ज उप-महानगरपालिका छन्।

चार उप-महानगरपालिकामध्ये माओवादीले एक, एकीकृत समाजवादीले एक र नेपाली कांग्रेसले दुई वटा उप-महानगरपालिकामा दावी गरिरहेका छन्। बुटवलमा नेपाली कांग्रेस र एकीकृत समाजवादी दुवैको दावी छ।

एमालेको किल्ला तोड्न यस पटक कांग्रेसले बुटवल पाउनुपर्ने माग गरिरहेको छ। समाजवादीले भने एमालेलाई परास्त गर्न एमालेबाटै छुट्टिएर बनेको पार्टीले बुटवल पाउनुपर्ने माग गरेको छ।

त्यस बाहेक नेपालगञ्ज उप-महानगरपालिका र तुल्सीपुर उप-महानगरपालिकामा कांग्रेसले पाउनुपर्ने माग छ। यसमा भने कसैको दावी छैन। घोराहीमा माओवादीको दावी छ। प्रमुख पदमा गठबन्धनकै उम्मेदवार उठाउँदा उपप्रमुखमा अन्य दललाई मिलाउनुपर्ने गठबन्धनभित्र आवाज उठिरहेको छ।

गठबन्धनभित्र प्रतिष्ठा बन्दै बुटवल
गएको निर्वाचनमा पनि बुटवलमा माओवादी केन्द्र र नेपाली कांग्रेसकै गठबन्धन थियो। त्यो बेला बुटवल उप-महानगरपालिकामा नगर प्रमुख, उपप्रमुख सहित १४ वटा वडामा एमाले र ४ वटा वडामा कांग्रेसले जित निकालेको थियो। माओवादीले भने कुनै पनि वडा जित्न सकेको थिएन।

अहिले भने केही परिस्थिति बदलिएको छ। नेकपा एमालेबाट छुटिट्एको एकीकृत समाजवादीले बुटवलमा एमालेको भोट काट्ने र गठबन्धनको बलमा बुटवलमा विजयी हुन सक्ने आकलन गरिएको छ।

त्यही कारण नेपाली कांग्रेस यस पटक गठबन्धनको बलमा निर्वाचन जित्ने योजनामा छ। समाजवादीका जिल्ला अध्यक्ष राजु गुरुङ बुटवलमा एमाले स्थापित गर्नेमध्येका एक भएकाले पनि गठबन्धनको बलमा एमालेलाई नै बुटवलमा पराजित गर्ने भन्दै बुटवल उपमहानगरपालिकामा उसले दावी गरेको हो।

‘बुटवलमा यस पटक सजिलै जित्न सकिन्छ भन्ने आकलनले नै हामीले दावी गरेका हौं। गठबन्धन छ, हामी पनि बलियो छौं। एमालेको असन्तुष्ट पक्षले पनि मत दिन्छ,’ समाजवादीका एक जिल्ला सदस्यले भने।

गठबन्धनभित्र पनि बुटवल समाजवादीलाई दिनुपर्ने आवाज उठेको छ। तर कांग्रेसको एक पक्ष भने बुटवल कुनै पनि हालतमा छाड्न नसक्ने बताउँदै आएको छ। कांग्रेसको संस्थापन पक्ष नेकपा एसलाई छाड्न तयार भए पनि संस्थापनइतर (डा. शेखर कोइराला) पक्ष त्यसका लागि तयार भएको छैन। यतिसम्म कि गठबन्धनको सामूहिक निर्णयमा संस्थापन पक्षले बुटवल समाजवादीलाई दिए स्वतन्त्र उम्मेदवारी दिने धम्की इतर पक्षले गठबन्धनलाई दिएको छ।

इतर समूहबाट खेलराज पाण्डे बुटवलका मुख्य आकांक्षी हुन्। अघिल्लो निर्वाचनमा एमालेको गढ मानिएको बुटवलमा पाण्डेले एमालेका सुवेदीसँग २ हजार ३ सय ९८ मतान्तरले हारेका थिए। सुवेदीले २३ हजार २४९ ल्याउँदा पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए।

निर्वाचनमा पराजित भएका पाण्डे त्यसपछि दिनमा चुनाव लक्षित घरदैलो गरिरहेका थिए। अहिले पनि गरिरहेका छन्। इतर पक्ष यही कारण बुटवल नछाड्ने पक्षमा छ।

यता नेपाली कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुनले गठबन्धनभित्र भागबन्डा मिलाउन मोडालिटी तयार भएको भन्दै प्रदेशका चार वटै उप-महानगरपालिका कांग्रेसको भागमा पर्न सक्ने बताए।

‘पहिले एमाले जितेका पालिकामा दोस्रो मत भार कसको छ, त्यसैलाई दिने मोडालिटी तय भएको छ। त्यस अनुसार एमालेपछिको दोस्रोमा चार वटै उपमहानगरपालिकामा हामी छौं। त्यसैले चार वटै हाम्रो हुन्छन्,’ उनले भने।

यद्यपि, अहिले पनि यसबारे छलफल भइरहेको उनको भनाइ छ।

एमालेका जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बुटवलमा गठबन्धनलाई पराजित गर्ने गरी नै उम्मेदवारको टुंगो लाग्ने बताए। बुटवल एमाले नगर कमिटीले ८ जनाको नाम जिल्लामा सिफारिस गरेको छ। हालका नगर प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमादेवी आचार्य, बाबुराम भट्टराई, गोपाल राना, तेजेन्द्र केसी, सूर्य भटट्राई, सावित्रा अर्याल र रामप्रसाद रेग्मीको नाम सिफारिस भएको छ। 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर भएको र बुटवलमा २१ वर्षे एमाले विरासत भएकाले पनि एमालेले सबैको साझा हुने गरी उम्मेदवारी टुंगो लगाउने बताएको छ।

एकिकृत समाजवादीका जिल्ला इन्चार्ज बालकृष्ण चापागाईंले चार उप-महानगरपालिकामध्ये एउटा उप-पमहानगरमा एसको दावी गरेको र अन्यत्र पनि सम्मानजनक सिट बाँडफाँड हुने बताए। ‘एमालेले जितेको स्थान आफूहरुले पाउनुपर्ने हो। त्यस बाहेक देवदहमा कांग्रेसले जिते पनि त्यहाँ पनि हाम्रो दावी छ। हामीले दावी गर्ने हो। कांग्रेसले जे भन्छ त्यो मान्नेभन्दा पनि सहमति र सहकार्य अनुसार भागबन्डा हुन्छ। नेतृत्वले त्यो टुंग्याउँछ,’ उनले भने।

चैत ३०, २०७८ बुधबार १३:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।