नयाँ वर्षमा पोखरा घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् छुटाउनै नहुने १३ गन्तव्य
पोखरा : नयाँ वर्षमा पोखरा घुम्न जाँदै हुनुहुन्छ? यदि जाँदै हुनुहुन्छ भने यी स्थान घुम्न नछुटाउनुहोला। यी हुन् पोखरा जाँदा घुम्नैपर्ने १३ गन्तव्य:
मनमोहक फेवाताल र तालबाराही
पोखराको बीचमा रहेको फेवाताल पोखराको प्रमुख आकर्षण हो। फेवातालको दृश्यावलोकनका लागि सधैं आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गर्छ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण फेवातालले जो-कोहीलाई पनि लोभ्याउँछ। पोखरा आउने अधिकांश पर्यटक फेवातालमा डुंगा सयर गर्ने र तालको बीचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने गर्छन्।
अत्यन्त सुन्दर भएकै कारण फेवाताललाई पोखराको गहनाको रुपमा लिने गरिन्छ।
डेभिज फल्स (पातले छाँगो)
पोखरा आउने अधिकांश आन्तरिक तथा वाह्य पर्यटकको आकर्षणका रुपमा डेभिड फल्स रहेको छ। यो सिद्धार्थ राजमार्गसँगै पोखराको छोरेपाटनस्थित रहेको छ।
वर्षामा ठूलो पानीको भेल गल्छीभित्र पस्दा देखिने पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफ साँच्चिकै लोभलाग्दो देखिन्छ।
पोखराकै मध्य भागमा रहेका कारण यहाँ दैनिक रुपमा सयौंको संख्यामा पर्यटक पुग्ने गर्दछन्। पर्यटकीय सिजनहरुमा यहाँ भीड नै लाग्ने गर्छ।
गुप्तेश्वर गुफा
सिद्धार्थ रागमार्ग तथा पाखरा उपमहानगरपालिका–१७, छोरेपाटनस्थित रहेको गुप्तेश्वर गुफा डेभिज फल्सको खोचमा रहेको छ। यहाँ गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाभित्र रमाउन सकिन्छ।
गुफामा रहेको मन्दिरबाट अझै अगाडि बढे डेभिज फल्सको पानी देख्न सकिन्छ । गुफा एक किलोमिटरभन्दा लामो रहेको छ।
महानगरपालिका क्षेत्रभित्र र पोखराकै आकर्षक गन्तव्य भएका कारण गुफामा पर्यटकको आगमन बढ्दो छ।
सेतो गुम्बा
पोखराको पश्चिमतर्फ फेवाताल र रानीबनसँगै माथिको डाँडामा अवस्थित सेतो गुम्बा (शान्ति स्तुपा) पनि स्वदेशी विदेशी पर्यटकको आकर्षण गन्तव्यका रुपमा विकास हुँदै गएको छ।
पोखरा पुग्ने प्रायः सबै पर्यटक गुम्बामा पुग्ने गर्छन्। बिहानदेखि बेलुकासम्म यस ठाउँमा पर्यटकको घुइँचो नै लाग्छ।
शान्ति स्तुपाबाट पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, बेगनास ताल, रानीवन, सराङकोटको डाँडा लगायतका सुन्दर दृश्यहरु देखिन्छ।
पुम्दीकोट
पोखरामा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक प्रबद्र्धन गर्नका लागि थपिएको गन्तव्य हो, पुम्दीकोट। यहाँ महादेवको विशाल मूर्ति निर्माण भएसँगै पर्यटकको संख्या दिनप्रतिदिन बढ्न थालेको छ।
समुन्द्र सतहदेखि १५ सय मिटरको उचाइमा रहेको यस ठाउँलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न महादेव शिवको भीमकाय मूर्ति सहितका आकर्षक भौतिक संरचना निर्माण थालिएसँगै पर्यटकको रोजाइमा पर्न थालेको हो।
यहाँ ५२ फिट अग्लो शिवमूर्ति सहितका अन्य संरचना निर्माण गरिएको छ। पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटबाट हिमश्रृंखला, सराङकोट, फेवाताल र पोखरा क्षेत्रको मनोरम दृश्यावलोकन गर्न सकिन्छ।
बिन्ध्यवासिनी मन्दिर
बिन्ध्यवासिनी मन्दिर पोखराको महत्वपूर्ण धार्मिक स्थल हो। पोखरा भित्रिने हिन्दु धर्मावलम्बीको यो मन्दिर नपुगी फर्किंदैनन्। यहाँ दर्शन गर्न भारतीय पर्यटकको समेत भीड लाग्ने गर्छ।
अग्लो स्थानमा रहेको यो मन्दिरबाट पोखरा सहर सुन्दर देखिन्छ।
पछिल्लो समयमा यस मन्दिरमा अपांग र अशक्त पर्यटकलाई लक्षित गरी लिफ्टको समेत व्यवस्था गरिएको छ।
सराङकोट
सराङकोट पोखराबाट उत्तर पश्चिममा फक्रिएका हिमश्रृंखलासँग सामिप्यता जोड्दै गरेको अग्लो डाँडा हो । पोखरा पुगेका पर्यटक एक पटक सराङकोट पुग्नैपर्ने ठाउँ हो।
यहाँबाट पोखरा र लेखनाथ सहर सिंगै देख्न सकिन्छ। साथै, आँखै अगाडि माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका हिमश्रृंखला हेर्न पाइन्छ।
सराङकोटबाट पोखरा आसपासमा रहेको मनमोहक हरियाली वन देखिन्छ। प्याराग्लाइडिङ र जिप फ्लाई समेत सराङकोटबाट नै हुने गर्छ।
सराङकोट पोखराको मुख्य पर्यटकीय गन्तव्य बनेको छ। फेवातालको किनारा सेदीदेखि सराङकोटका लागि केबुल कारको निर्माण अन्तिम चरणमा पुगेको छ।
बेगनास र रुपा ताल
लेखनाथ नगरपालिकामा रहेका बेगनास र रुपाताल पनि पोखराको प्रमुख गन्तव्यमा पर्छन्। तालमा डुङ्गा सयर गरी कन्चन जस्तो निलो पानीमा मज्जा लिँदै मिठो माछाका परिकारहरु खानका लागि बेगनास निकै चर्चित मानिन्छ।
पोखरा पुग्ने अधिकांश पर्यटकहरु बेगनास ताल पुगेर मन बहलाउने गर्छन्। डाँडावारी बेगनास र डाँडापरी रुपा ताल रहेको छ । बेगनास तालमा पनि डुंगा चढेर रमाइलो गर्न पाइन्छ।
पोखराबाट अलि टाढा भएपनि बेगनास ताल अवलोकनका लागि छुटाउनै नहुने ठाउँमा पर्छ । सहरी कोलाहलबाट अलि टाढा भएकोले यहाँ पुग्दा छुट्टै आनन्दको अनुभूति हुन्छ।
पोखराबाट बेगनास तालमा सार्वजनिक गाडी प्रशस्तै चल्छन्। पोखराबाट तालमा पुग्न १० किलोमिटरको दूरी पार गर्नुपर्छ।
पामे (फेवाताल किनार)
फेवातालको उत्तर पश्चिम किनारमा रहेको पामे पोखरा पुग्ने पर्यटकले पुग्नै पर्ने ठाउँ हो। यो ठाउँ माछाको परिकारको लागि प्रसिद्ध छ। फेवातालको किनारै किनार पुगिने पामेमा राम्रो होटल तथा लजहरु सञ्चालनमा आइसकेका छन्।
फेवातालका गतिविधिहरु अवलोकन गर्दै माछाको स्वाद चाख्नका लागि पामे प्रख्यात रहेको छ। पछिल्लो समयमा यहाँ पोखराको व्यवसायीहरुको लगानीमा अपार्टमेन्ट लगायतका अन्य भौतिक पूर्वाधाहरु निर्माण भइरहेका छन्।
महेन्द्र गुफा र चमेरी गुफा
महेन्द्र गुफा पोखराको निकै चर्चित ठाउँ हो। महेन्द्र गुफा नजिकै अर्को चमेरी गुफासमेत रहेको छ । महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गर्न सकिन्छ।
घना जंगलको छेउमा अवस्थित चमेरी र महेन्द्र गुफा पुग्दा रोमाञ्चकारी अनुभव हुन्छ। यी गुफा पोखराको सिरानमा भए पनि पोखरा पुग्ने अधिकांश पर्यटक त्यस स्थानमा पुग्ने गर्दछन्।
सेती खोच
पोखरा बजारको मुख्य भागबाट करिब २ मिटर गहिराइमा बगेको सेती नदी पोखराको अर्को आकर्षण हो। सेती नदीले धेरै पर्यटकको ध्यान खिच्ने गर्छ।
साँघुरो र गहिरो खोचबाट बगेको हुँदा हिउँदमा पानी देख्न मुस्किल पर्छ। वर्षमा भने पानी माथि आउने हुँदा सहजै देख्न पाइन्छ।
सेती नदी पुलबाट मात्र हेर्न सकिन्छ। पोखराको बीच भागमा रहेको रामघाटमा भने ठूलो बगर भएको हुँदा बाहिरबाटै स्पष्ट रुपमा सेती नदी हेर्न सकिन्छ। यहाँ पुगेपछि पोखराको वास्तविकता जानकारी हुन्छ। केही स्थानमा सेती फराकिलो घाट भए पनि त्यहीबाट सानो दुलो हुँदै बिलिन भएको समेत देख्न सकिन्छ।
माटेपानी गुम्बा
पोखरामा घुम्नका लागि छुटाउनै नहुने ठाउँ हो, माटेपानी गुम्बा। पोखरा क्षेत्रीय हस्पिटलदेखि पूर्वी भागमा पर्ने माटेपानी गुम्बा निकै आकर्षक रहेको छ।
अग्लो ठाउँमा रहेको हुँदा यहाँबाट पनि पोखराको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। यो गुम्बाबाट लेखनाथ र निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलसमेत आकर्षक देखिन्छ।
अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय
पोखरा पुगेपछि पुग्नै पर्ने ठाउँ हो अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय। यहाँ पर्वतीय पर्यटनसँग जोडिएका कला, संस्कृति, भेषभुषा लगायत हिमाली कला र संस्कृतिको अवलोकन गर्न पाइन्छ।
विभिन्न जातजाति, भाषा–भाषी र भेषभुषाका बारेमा अध्ययन र अवोलकन गर्ने उपयुक्त स्थानका रुपमा यो संग्रहालय रहेको छ।
२०६० साल माघबाट सञ्चालनमा आएको संग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिहरुको रीतिरिवाज, भेषभुषा, कला र संस्कृतिको साथै भौगोलिक अवस्था लगायत अन्य जानकारी मुलक सामग्रीहरु राखिएका छन्।
यसका अलावा पोखरामा प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइट, जिप फ्लाई, बञ्जीजम्प तथा केबुल कारको मजा सकिन्छ।
चैत ३०, २०७८ बुधबार १०:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।