सत्ता गठबन्धनमा सिट बाँडफाँटका पाँच आधार : एकीकृत समाजवादीको नेताले जितेको सिट पाउने, अन्यको हकमा मत भार हेर्ने
काठमाडौँ : सरकारमा रहेका पाँच दलले स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँडको पाँच आधार तय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको महानगरपालिकादेखि वडासम्म कसरी सिट बाँड्ने भनेर पाँच आधारबारे निर्णय गरेका हुन्।
कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिले सोही स्थानीय तह पाउने सहमति भएको छ।
अन्य दलको हकमा भने मत भार लगायतका मापदण्ड कायम गरिएको छ। गत निर्वाचनमा प्रमुख लगायतका पद नजितेको दलका उम्मेदवारलाई पनि सबै तहमा समेट्ने बैठकले निर्णय गरेको छ।
कार्कीले सार्वजनिक गरेको पाँच आधार
१- २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिलाई त्यसै अनुसार मान्ने।
२- गठबन्धनमा आबद्ध दलका उम्मेदवारले पालिका र वडामा प्राप्त मतको मत भार मान्ने।
३- २०७४ स्थानीय निर्वाचनमा विजय प्राप्त नगरेको भए पनि स्थानीय तहमा उपस्थित रहेका दललाई पनि तालमेलमा सहभागी गराउने।
४- २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने। अन्य दलका उम्मेदवारले पाएको मत भरलाई पनि आधार मान्ने।
५ - गठबन्धनभित्र मात्र चुनावी तालमेल गर्ने, गठबन्धनबाहिर चुनावी तालमेल गर्न नपाइने।
चैत २९, २०७८ मंगलबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।