एमालेबाट पोखरा महानगरको मेयरमा १२ र उपमेयरमा ११ आकाङ्क्षी
पोखरा : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका पोखरा महानगरपालिकाको मेयरका लागि एमालेबाट १२ जना आकाङ्क्षा देखिएका छन्। महानगरमा उपमेयरमा ११ आकाङ्क्षी देखिएका छन्। मङ्गलवार एमाले महानगर कमिटीले आकाङ्क्षीको नाम सङ्कलन गर्न आह्वान गरेको थियो। त्यसमा मेयरमा १२ र उपमेयरमा ११ जनाले नाम दर्ता गराएका हुन्।
पोखरा महानगरको मेयरमा आकाङ्क्षा राख्नेमा गण्डकी प्रदेशसभाका सांसद कृष्ण बहादुर थापा, राजिप पहारी समेत छन्। युवा व्यवसायी पुष्पज्योती ढुङ्गाना, पुष्पराज अधिकारी, वडा नं १३ का अध्यक्ष दर्शन लामा, पूर्व पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मिनाकुमारी गुरुङ, भीम कार्की, रश्मि आचार्य, प्राडा. विश्वकल्याण पराजुलीले उम्मेदवार बन्न नाम दर्ता गराएका छन्।
उपमेयरमा शुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, सञ्जीवबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जीवन प्रसाद आचार्य, बलराम गायक, हरी माया गुरुङ र बैनबहादुर क्षेत्रीले नाम दर्ता गराए।
२०७४ मा भएको स्थानीय तह निर्वाचनमा पोखरा महानगरमा एमालेबाट मानबहादुर जिसीले झन्डै साढे तेह्र हजार मतले कांग्रेसका रामजी कुँवरलाई पराजित गरेका थिए। पछिल्लो समय महानगरमा ३९ हजार नयाँ मतदाता थपिएका छन्।
चैत २९, २०७८ मंगलबार १९:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।