दर्शकलाई उल्लु बनाउनुको परिणाम: केजीएफ- २ को बुकिङ मारामार हुँदा ए मेरो हजुर- ४ रित्तो
विदेशी फिल्म चलाएर कर संकलन गर्दै नेपाली फिल्मको विकासमा लागिपरेको छ- नेपाल चलचित्र विकास बोर्ड। आइतबार केही निर्माता र निर्देशक त्यहाँ पुगे।
उनीहरूले ९ बुँदे मागपत्र बोकेर बोर्डका अध्यक्ष दयाराम दाहाललाई भेटे। विदेशी फिल्मको प्रर्दशनमा कडाइ गर्नुपर्ने प्रावधानसहितका बुँदामा नेपाली फिल्म क्षेत्रका झण्डै सयभन्दा धेरैको हस्ताक्षर बोकेर उनीहरू बोर्ड पुगेका थिए।
उनीहरू विकास बोर्डमा हस्ताक्षर बोकेर पुग्नुको कारण हो- साउथ इण्डियन फिल्म। हलमा ब्ल्याकमा समेत टिकट काटेर साउथ फिल्म हेर्न नेपाली दर्शक तयार भएको देखेर उनीहरू आत्तिएका छन्। यही स्थिति बलिउडमा पनि छ।
प्रर्दशनको तयारीमा रहेको 'केजीएफ-२' का कारण शाहीद कपूर अभिनित 'जर्सी' एक हप्ता पर सरेको छ। अर्को फिल्म 'लालसिंह चढ्ढा' झण्डै ६ महिना पर पुगेको छ।
'केजीएफ- २' रातै हुँदा 'ए मेरो हजुर- ४' हरियै
क्युएफएक्स हलहरूले ए मेरो हजुर- ४ लाई खासै शो दिएका छैनन्। पहिलो दिनका लागि सिभिल मलको क्युएफएक्स र लबिम मलमा रहेको क्युएफएक्सले ४–४ शो दिएका छन्।
त्यस्तै छाया सेन्टरले जम्मा तीन शो दिएको छ। अन्य हलहरूको हालत पनि उस्तै छ।
'बिजुलीको बिल तिर्न नपुग्ने फिल्मलाई पनि शो त दिएकै हौं। यहाँ भन्दा कति माया गर्नु नेपाली फिल्मलाई?'
बाँकी शोहरू सबै केजीएफ- २ ले लिएको छ। शो थोरै मात्र होइन दर्शक नै पनि थोरै छ- ए मेरो हजुर- ४ का लागि। हरियै छ बुकिङ गर्ने वेवसाइटमा।
लबिम मलको बिहानी शो फिलिङ फास्टमा छ। अर्थात छिट्टै भरिनेवाला छ। सिभिल मलको फर्स्ट शो पनि फिलिङ फास्टमा छ।
त्योबाहेक अन्य शोहरूमा दर्शक छैनन्।
त्यसको ठीक विपरीत छ- केजीएफको स्थिति। बुकिङ गर्ने वेवसाइटमा सबै रातै छन्।
सिभिल र लबिमले केजीएफलाई १०–१० शो दिएका छन्। सबै रातै छ।
केही शोहरू फिलिङ फास्टको अवस्थामा छन्। छाया सेन्टरले दिएको ११ शो पूर्णरूपमा रातो छन्। अर्थात पहिलो दिनमा चाहेर पनि तपाईंले छाया सेन्टरमा हेर्न सक्नुहुन्न।
सिटी सेन्टरमा भएको हल, राइजिङ मलमा भएको हल, रञ्जना कम्प्लेक्समा भएका हल लगायत सबै एक हप्ताका लागि केजीएफ २ मय हुने भएको छ।
यसरी हेर्ने हो भने त हल सञ्चालकले ठूलै रिस्क लिएका छन् ४ शो ए मेरो हजुर ४ लाई दिए। लामो समय कोभिड- १९ ले हल सञ्चालक सबैभन्दा पीडित थिए। विस्तारै दक्षिण भारतीय फिल्मले हल सञ्चालकलाई आशाको किरण देखाएको छ।
वितरक मधुसुदन प्रधानले भने, 'कोभिडको समयमा हामी कति मानसिक समस्यामा पुग्यौं, कति ऋणको भारी उठायौं भन्नेतिर कसैले ध्यान दिएन। हात जोडेर ठूला ब्यानरका फिल्म माग्दा कसैले दिएनन्। हामी रोयौं, करायौं तर न सरकारले सुन्यो न सरोकारवालाले नै। अहिले हाम्रो ऋण तिर्ने समय आएको छ। बिजुलीको बिल तिर्न नपुग्ने फिल्मलाई पनि शो त दिएकै हौं। यहाँ भन्दा कति माया गर्नु नेपाली फिल्मलाई?'
उनले थप भने, 'अहिले शो टाइम कम भयो भनेर जति पनि मानिसहरू कराइरहेका छन्, उनीहरूले कुरा नबुझेका हुन्। दर्शक आऊन्, बक्स अफिसमा ब्यापार बढोस् अनि आफैँ बढ्छ शो टाइम।'
विदेशी फिल्म चलाउने विषयमा भने उनले यस्ता कुरा सामान्य भइसकेको र यसमा बहस, छलफलको आवश्यकता नरहेको बताए।
'कला स्वतन्त्र हुन्छ, हामीले राम्रो फिल्म बनाउन जोड दिने हो अरूलाई रोक्ने छेक्ने हैन', उनले भने।
राष्ट्रियतालाई कमजोर नबनाऔं
अहिले प्रर्दशन हुन लागेको फिल्मकी नायिका सुहाना थापासँग एक सञ्चारमाध्यमले अन्तवार्ता गरेको थियो। जहाँ उनलाई मनपर्ने फिल्म र विहे गर्न मन लागेको कलाकारको बारे सोधिएको थियो।
उनले त्यहाँ दुवै विदेशी फिल्म र कलाकारको प्रशंसा गरेकी थिइन्।
यो सुहानाको मात्र कुरा होइन। थुप्रै नेपाली कलाकार राष्ट्रियताको फण्डा निकालेर आफू भने विदेशी ब्राण्डको प्रमोट गर्दै विज्ञापन खेलिरहेका हुन्छन्।
घुम्न पनि विदेशी भूमि मात्रै सम्झन्छन्, कतिपयले त नेपाली नागरिकता समेत त्यागेका छन्।
उनीहरूले लामो समयसम्म पनि विदेशी फिल्मलाई नेपाली नाम दिएर बेचे। उनीहरूले सोचेजस्तै दर्शकले पनि स्वाद मानेर चोरेका फिल्म हेरे। अब त्यो समय रहेन। छिनभरमै म्युजिक भिडियो बनाउनेले समेत टिकटकबाट चोर्यो भनेर थाहा पाउँछन् अहिलेका दर्शक।
रञ्जना कम्प्लेक्सका अपरेशन हेड विनोदकुमार पौड्याल भन्छन्, 'आफूलाई समस्या परेको बेलामा मात्रै राष्ट्रवादको कुरा गर्नेहरूले राष्ट्रियतालाई नै कमजोर बनाए।'
उनी फिल्म कसरी उत्कृष्ट बनाउने बहसमा केन्द्रित हुनुपर्ने बेला कमजोर तर्कमा रमाइरहेको बताउँछन्। उनले भने, 'हामी तीन करोडमा बनेको फिल्मको भिडन्त तीन सय करोडमा बनेको फिल्मसँग भनेर तुलना गरिरहेका छौं। तर यो भुलेका छौं कि, पहिले लाखमा बनेको 'लुट'ले एक सय करोडमा बनेको 'अग्निपथ'लाई पाखा लगाएको थियो।'
विनोदका अनुसार लुटलाई अग्निपथको तुलनामा निकै कम शो टाइम दिइएको थियो। तर विस्तारै फिल्म राम्रो बनेकाले दर्शक हलमा ओइरिन थाले।
अन्ततः अग्निपथ हलबाट पूर्ण रूपमा बाहिरियो र सबै शो टाइम लुटले लग्यो। उनका अनुसार अहिले पनि फिल्म राम्रो बनेको खण्डमा विदेशी फिल्मको शो टाइम सबै नेपालीले लिनसक्छ।
नेपाली फिल्मका लागि गतिलो पाठ
नेपाली फिल्मका निर्माता निर्देशकको सोच दर्शकले फिल्म बुझ्दैनन्, जस्तो बनाएर दिए पनि हेर्छन्, दर्शक उल्लु हुन् भन्ने जस्तो देखिन्छ।
उनीहरूले लामो समयसम्म पनि विदेशी फिल्मलाई नेपाली नाम दिएर बेचे। उनीहरूले सोचेजस्तै दर्शकले पनि स्वाद मानेर चोरेका फिल्म हेरे।
अब त्यो समय रहेन। छिनभरमै म्युजिक भिडियो बनाउनेले समेत टिकटकबाट चोर्यो भनेर थाहा पाउँछन् अहिलेका दर्शक।
त्यसैले अब नेपाली फिल्मकर्मी विशेषतः निर्देशक दर्शकप्रति इमान्दार हुनैपर्छ। राष्ट्रियताको फण्डा उचालेर चलचित्र बिकाउनुभन्दा राष्ट्रिय स्वाद बोकेको फिल्म बनाउनैपर्छ।
तर, दुर्भाग्य नेपालको फिल्म क्षेत्र तत्काल सुध्रने देखिँदैन।
चैत २९, २०७८ मंगलबार १५:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।