पाकिस्तानको सङ्गीतबाट किन सारङ्गी लोप हुँदैछ?

पाकिस्तानको सङ्गीतबाट किन सारङ्गी लोप हुँदैछ?

एजेन्सीः मानव आवाजसँग मिल्दो शास्त्रीय वाद्य यन्त्र सारङ्गी पाकिस्तानको साङ्गीतिक दृश्यबाट लोप हुँदै गइरहेको छ। यो बाजा राम्रोसँग बजाउन धेरै गाह्रो हुन्छ। मर्मत गर्न पनि एकदमै महँगो पर्छ। 

अझ वादकहरूले यसबाट पाउने पारिश्रमिक पनि एकदमै थोरै छ। यही कारण सारङ्गी पाकिस्तानी सङ्गीतबाट विस्तारै हराउँदैछ। 

'हामीले हाम्रो दयनीय आर्थिक अवस्थालाई ध्यानमा राखेर उपकरणलाई जीवित राख्न खोजिरहेका छौं', जोहैब हसनले एएफपीलाई भने।

हसन सारङ्गीमा निपुणता हासिल गर्ने आफ्नो परिवारको सातौँ पुस्ता हुन्। हसनलाई उनको क्षमताको लागि पाकिस्तानभर सम्मान गरिन्छ।

उनी नियमित रूपमा टेलिभिजन, रेडियो र निजी पार्टीहरूमा सारङ्गी बजाइरहेको हुन्छन्। लाहोरमा उनले आफ्नै एकेडेमी पनि स्थापना गरेका छन्। जहाँ उनले सारङ्गी बजाउन सिकाउँछन्।

'बाजाप्रतिको मोहले मलाई पढाइ अधुरो छोडेर सारङ्गीवादकको रूपमा करियर बनाउन बाध्य बनायो', उनी भन्छन्,'अधिकांश निर्देशकहरूले भर्खरको अर्केस्ट्रा र पप ब्याण्डहरूका साथ सांगीतिक कार्यक्रमको व्यवस्था गर्ने भएकाले मेरो अहिले खासै काम छैन।'

हसनका एक विद्यार्थी १४ वर्षीय सङ्गीतकार मोहसिन मुद्दसिर हुन्। उनले गितारको सट्टा सारङ्गी बजाउन थालेका छन्। 

उनले भने, 'मेरो मुटुको तारसँग यसको सम्बन्ध भएकाले यो बजाउन सिकिरहेको छु।'

६० प्रतिशतभन्दा बढी युवा जनसंख्या भएको देशमा परम्परागत उपकरणहरूले बढ्दो 'आर एण्ड बी' र पप सङ्गीतसँग प्रतिस्पर्धा गरिरहेका छन्। 

लाहोरको नेशनल काउन्सिल अफ आर्ट्सकी शास्त्रीय संगीत शिक्षिका सारा जमानका अनुसार सारङ्गी मात्र होइन, सितार, सन्तूर र तानपुरा जस्ता अन्य परम्परागत वाद्ययन्त्रहरू पनि लोप हुँदै गएका छन्। 

'सङ्गीतका अन्य विधालाई पनि स्थान दिइएको छ, तर शास्त्रीय सङ्गीतको हकमा भने त्यो कम हुँदै गइरहेको छ', उनी भन्छिन्, 'बजाउनको लागि सारङ्गी एकदमै धेरै गाह्रो यन्त्र भएकोले पाकिस्तानमा यसलाई उचित महत्त्व र ध्यान दिइएन, जसको कारण यसको क्रमशः मृत्यु भयो।'

१७औं शताब्दीमा भारतीय उपमहाद्विपमा मुगलहरूको शासनकालमा सारङ्गीले भारतीय शास्त्रीय वाध्यबाधनको रूपमा प्रमुखता प्राप्त गरेको थियो। 

पाकिस्तानका प्रमुख संगीतकारहरूको संग्रह सिर्जना गरेका टेलिभिजन निर्देशक ख्वाजा नजम–उल–हसनका अनुसार सन् १९८० को दशकमा देशमा धेरै विज्ञवादकहरू र शास्त्रीय गायकहरूको मृत्यु भएपछि पाकिस्तानमा यसको पतन सुरु भयो। 

उनले भने, 'सारङ्गी अन्तर्राष्ट्रिय रूपमा प्रशंसित शास्त्रीय गायकहरूको हृदयको नजिक थियो। तर, उनीहरूको मृत्युपछि यो लोप हुन थाल्यो।'

सन् २०१५ मा निधन भएका पाकिस्तानका सबैभन्दा प्रशंसित सारङ्गी वादकहरूमध्येका एक उस्ताद अल्लाह राखको जिन्दगी नै सारङ्गी बजाएर बित्यो। उनी विश्वभर अर्केस्ट्रासँग रमाइरहेका वादकका रूपमा परिचित छन्।

तर, अहिलेका सारङ्गीवादकहरू प्रदर्शन शुल्कमा मात्र गुजारा गर्न संघर्ष गर्नुपरेको बताउँछन्। आधुनिक गितारवादक, पियानोवादक वा भायोलिनवादकहरूलाईभन्दा कम भुक्तान गरिने उनीहरूको गुनासो छ।

हातले कुँदिएको सारङ्गीको प्राथमिक तार बाख्राको आन्द्राबाट बनेका हुन्छन्। तर १७ सहानुभूतिपूर्ण तारहरू स्टिलका हुन्छन्। यसको मूल्य लगभग एक लाख २० हजार रुपैयाँ पर्छ।

लाहोरमा भएका दुईमध्ये एक सारङ्गी मर्मत पसलका सञ्चालक उस्ताद जिया-उद्दिनले भने, 'सारङ्गीवाधकहरू र यसका मर्मत गर्ने सीमित मान्छेहरूलाई कुनै प्रशंसा छैन।'

उनको सारङ्गी मर्मत पसल दुई सय वर्ष पुरानो हो।

(समाचार संस्था एएफपीबाट साभार र भावानुवाद गरिएको)

चैत २९, २०७८ मंगलबार १२:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।