ए मेरो हजुर- ४: रिलिजअघि नै पोल खुल्यो झरनाको, चोरीमा कीर्तिमान !
काठमाडौंः वैशाख १ गते रिलिज हुने तयारीमा रहेको चलचित्र हो- ए मेरो हजुर- ४। तर रिलिज नहुँदै चलचित्रको चोरी भने पक्रेको पक्रिएकै छ।
हालसालै पक्रिएको चोरी हो- चलचित्रको पोस्टर। चोरी गरिएको स्रोत हो- रणवीर कपूर र दीपिका पादुकोणको 'तमाशा' चलचित्र।
भारतीय दिग्गज निर्देशक इम्तिआज अलीको निर्देशनमा सन् २०१५ मा बनेको तमाशाको पोस्टरमा रणवीर र दीपिका कानमा हेडफोन लगाएर एकअर्कापट्टी फर्किएका हुन्छन्।
यता ए मेरो हजुर- ४ को पोस्टरमा चलचित्रका नायक अनमोल केसी र नायिका सुहाना थापा पनि ठ्याक्कै त्यस्तै पोजमा कानमा हेडफोन समेत लगाएर एकअर्कापट्टी फर्किएका छन्। हेडफोनको क्वालिटी भने फरक छ।
(तस्बिर माथि छ)
यस्तै केही दिनअघि रिलिज भएको जी-बबले गाएको 'भाग भाग' बोलको गीतको बिट र मेलोडी नै एट्लान्टिक रेकर्डले सन् २०१४ मा रिलिज गरेको सेल सकको किल द नोइजबाट चोरी गरेको पुष्टि भएको छ। यसबारे उकेराले समाचार प्रकाशित गरिसकेको छ।
चोरी यत्तिमै सीमित छैन।
रिलिजको संघारमा रहेको चलचित्रको ट्रेलरमै राखिएको सिन पनि चोरीकै हो। ट्रेलरमा राखिएको एक सिनमा अनमोल केसीले 'मेरो कुकुर लैजाने हो भने मेरो लासमाथिबाट लैजानु' भनेर सुतेको अनि सुहानाले उनलाई कुल्चेर गएको दृश्य हुबहु नवाजुद्दिन सिद्दिकीले अभिनय गरेको फिल्म 'हरामखोर'बाट चोरी गरिएको हो।
यस्तै अनमोलले सुहानाको बुवामाथि गरेको दुर्व्यवहारको दृश्यमा रहेको डायलग 'कबिर सिंह'बाट सापट लिइएको हो।
ए मेरो हजुरको तेस्रो भागमा भएको चोरीको त के कुरा गर्नु! दक्षिण भारतीय अभिनेता यशको केजीएफ- २ सँग भिड्न आँट देखाएको चलचित्रको तेस्रो भागको कतिपय दृश्य यशकै चलचित्र 'र्याम्बो स्ट्रेट फर्वार्ड'बाट चोरी गरिएको छ। चलचित्रको लिङ्क तल इम्बेड गरिएको छ।
लामो समय नेपाली चलचित्र उद्योगलाई योगदान दिएकी झरनाले यसरी कोभिडले उद्योग नै सङ्कटग्रस्त बनेको बेला मौलिक कथा र प्रस्तुति दिनुको सट्टा हुबहु अरू चलचित्रको नक्कल गर्नुले उनको व्यक्तिगत साख त गिर्छ नै यसले समग्र चलचित्र क्षेत्रलाई नै लाजमर्दो स्थितिमा पुर्याउँछ। हुन त उनले अभिनय गरेका पुराना र निर्देशन गरेका हालैका वर्षका चलचित्र हिटै छ। तर अब 'हिट क्विन' हुने कि 'कपी-पेस्ट क्विन' हुने रोजाइ उनकै।
अनमोल र सुहाना जस्ता उदीयमान कलाकारले पनि यी चलेका बलिउड र दक्षिण भारतीय चलचित्र नहेरेका पक्कै छैनन्। दर्शकलाई 'नेपाली चलचित्रलाई माया गरौँ' भन्ने कलाकार स्वयंले यसरी दर्शकको भावनामाथि खेलेपछि नेपाली चलचित्र सधैँ ओरालो लाग्ने निश्चित छ।
चैत २९, २०७८ मंगलबार ०९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।