साउथ फिल्मसँग डरायो बलिउड, शाहीदको 'जर्सी' यो साता रिलिज नहुने

साउथ फिल्मसँग डरायो बलिउड, शाहीदको 'जर्सी' यो साता रिलिज नहुने

एजेन्सीः दक्षिण भारतीय चलचित्रसँग बलिउडले प्रतिस्पर्धा गर्न नसकिरहेको प्रष्ट छ। यो वर्ष बलिउडका औंलामा गन्न सकिने फिल्मले दुई-चार सय करोड भारु कमाउँदा साउथको 'आरआरआर' एक्लैले एक हजार करोड भारु कमाइसक्यो।

यसैबीच आगामी शुक्रबार बलिउडको शाहीद कपूर अभिनित जर्सी रिलिज हुने भनिएको थियो। शाहीद आफैँ जोडतोडका साथ चलचित्र प्रोमोशनमा लागेका थिए। 'कबिर सिंह' पछिकै पहिलो पटक ठूलो पर्दामा आउन लागेका शाहीदलाई तगारो रह्यो- केजीएफ २ को।

तर तगारो यत्तिमै सीमित रहेन। केजीएफ २ सँगै भिड्दैछ साउथ सुपरस्टार विजयको 'बिस्ट' पनि। यी दुई सिनेमाले दक्षिण र उत्तर भारतको सिनेमा हलमा स्क्रिन पाएपछि जर्सी मिति सार्न बाध्य भएको हो।

अब शाहीदको जर्सी केजीएफ २ र बिस्ट रिलिज भएको एक सातापछि २२ अप्रिलमा हुनेछ।

रिलिजअघि नै जर्सीलाई लागेको यो पहिलो झट्का होइन। पहिलो त यो साउथ फिल्म जर्सीकै कपी हो। साउथ भर्सनमा शाहीदको भूमिका नानीले निभाएका छन्। दोस्रो यो चलचित्रको रिलिज डेट सरेको सरेकै छ।

सन् २०२० को अगस्ट २८ मै प्रदर्शनमा आउने भनिएको चलचित्र कोरोना महामारीका कारण रिलिज हुन पाएन। त्यसपछि ५ नोभेम्बर २०२१ मा रिलिज गर्ने तय गरिएको थियो। त्यो पनि भएन।

अनि ३१ डिसेम्बर २०२१ हुँदै १४ अप्रिल २०२२ लाई फिल्म प्रदर्शनको मिति तय गरिएको थियो।

चैत २८, २०७८ सोमबार १५:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।