युक्रेनको अर्थतन्त्र ४५ र रुसको ११ प्रतिशतले ओरालो लाग्ने विश्व बैंकको प्रक्षेपण
एजेन्सीः विश्व बैंकले यस वर्ष युक्रेनको अर्थतन्त्र ४५ प्रतिशतले ओरालो लाग्ने प्रक्षेपण गरेको छ। युद्धको असरले गर्दा युक्रेनको अर्थतन्त्रमा व्यापक असर पर्ने बताइएको हो।
युक्रेनको अधिकांश जनशक्ति देश छोड्न वा युद्धमा होमिन बाध्य भएकाले यस्तो क्षति हुने विश्व बैंकले प्रक्षेपण गरेको हो। युक्रेनका थुप्रै व्यापार व्यवसाय बन्द हुनु, सडक, उद्योग लगायत थुप्रै पूर्वाधार ध्वस्त हुनुलाई विश्व बैंकले आर्थिक क्षतिको आधार मानेको छ।
यस्तै सूर्यमुखी र गहुँको मुख्य उत्पादन क्षेत्र रहेको युक्रेन युद्धको चपेटामा पर्दा यतिबेला यी वस्तुको निर्यात ठप्प छ। यसले विश्वभरमै खाद्यान्नको मूल्यमा उच्च वृद्धि भएको छ र युक्रेनको आफ्नो आयको मुख्य स्रोत पनि गुमाएको छ।
विश्व बैंकले पूर्वी युरोप र मध्य एसियामा कोभिड-१९ का कारण भएको आर्थिक क्षतिभन्दा पनि ठूलो क्षति हुने समेत बताएको छ। यस्तै विभिन्न मुलुकले लगाएको प्रतिबन्धका कारण यस वर्ष रुसमा समेत उच्च आर्थिक मन्दी आउने बताइएको छ।
रुसको अर्थतन्त्रमा भने यस वर्ष ११ प्रतिशतले ओरालो लाग्ने विश्व बैंकको प्रक्षेपण छ।
चैत २८, २०७८ सोमबार ०९:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।