एमालेले जिते लोकतन्त्र र संविधान धरापमा पर्छ: नेता गुरुङ

एमालेले जिते लोकतन्त्र र संविधान धरापमा पर्छ: नेता गुरुङ

बुटवलः नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले आगामी निर्वाचनमा एमालेले जित हासिल गरे लोकतन्त्र र संविधान धरापमा पर्ने आरोप लगाएका छन्। बुटवल उपमहानगरपालिका वडा न. ११ को पार्टीको निर्वाचन प्रचार प्रसार कार्यालयको शुक्रबार उद्घाटन गर्दै नेता गुरुङले यस्तो बताएका हुन्

उनले लोकतान्त्रिक गणतन्त्र जोगाउन गठबन्धन गर्नुपरेको पनि बताए। यस्तै मुलुकको संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि एकजुट भएर निर्वाचनमा गठबन्धनलाई जिताउनुपर्ने पनि उनले बताए। 

पार्टीका जिल्ला अध्यक्ष समेत रहेका गुरुङले बुटवलको विकासमा एमालेले घोषणापत्रअनुसार काम गर्न नसकेको भन्दै फोहोर व्यवस्थापनको दीगो समाधान र खानेपानी दिने चुनावी प्रतिबद्धता पूरा गर्न नगरप्रमुख शिवराज सुवेदी असफल भएको बताए।

‘बुटवलमा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने भनिएको थियो, आज बुटवल ११ का जनतालाई प्रत्यक्ष असर पार्नेगरी तिनाउ नदी छेउमा फोहोर फालिएको छ’, उनले भने, ‘अब फोहोर थुपार्ने पार्टीका नेतालाई ११ नम्बर वडाका जनताले भोट दिनेछैनन्।’

कार्यालय उद्घाटन समारोहमा पार्टीका रुपन्देही सहइञ्चार्ज सिद्धिचरण भट्टराईले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने पार्टीको मेयरले जनताको समस्या हल गर्न नसकेको बताए। उनले समाजवादी कार्यक्रमसहित आफूहरू स्थानीय तहको निर्वाचनमा होमिएको बताए। 

कार्यक्रममा समाजवादीका लुम्बिनी प्रदेश सदस्य कमल भण्डारी, रुपन्देहीका उपसचिव सरिता श्रीसले गठबन्धन मुलुकको आवश्यकता भएको बताएका थिए। 

कार्यक्रममा बुटवल नगर अध्यक्ष चीनबहादुर गुरुङ, बुटवल वडा न. ११ का इञ्चार्ज भीमबहादुर क्षेत्री, समाजवादीका नेताहरू यमबहादुर पछाई, विष्णु गौतम, राजेन्द्र पाण्डे लगायतले सम्बोधन गरेका थिए। 

यस्तै बुटवल वडा न. ११ का वडाध्यक्ष इन्द्रबहादुर राईको संयोजकत्वमा एक हजार एक सय ११ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको घोषणा समेत गरिएको छ। 

त्यसैगरी राजेन्द्र पाण्डेको संयोजकत्वमा ६ सदस्यीय निर्वाचन निर्देशक समिति, लोकराज शर्माको संयोजकत्वमा ९ सदस्यीय निर्वाचन परिचालन, माधव पन्थको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन भएको छ। 

समाजवादीसँगै रुपन्देहीका १६ वटै स्थानीय तहमा राजनीतिक दलहरूले चुनावी प्रचार तीव्र पारेका छन्। 

चैत २७, २०७८ आइतबार १०:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।