होटल पौवाले नयाँ वर्षको अवसरमा साङ्गीतिक 'न्यु यर ईभ' आयोजना गर्ने
बुटवलः होटल पौवाले नेपाली नयाँ वर्षको अवसरमा साङ्गीतिक साँझ आयोजना गर्ने भएको छ। चैत्र ३० गते पौवाका ३ वटा शाखामा एकसाथ साङ्गीतिक कार्यक्रम गरेर 'न्यु यर ईभ' मनाइने भएको पौवा ग्रुपले जनाएको छ।
पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीका अनुसार पौवाका सञ्चालनमा रहेका १२ वटा शाखामध्ये ३ वटामा कार्यक्रम हुनेछ। लुम्बिनी प्रदेशको राजधानी भालुवाङ तथा रुपन्देहीको बुटवल र भैरहवामा विशेष कार्यक्रम गरी नयाँ वर्ष २०७९ लाई स्वागत गरिने प्रबन्ध निर्देशक ज्ञवालीले बताए।
चैत्र ३० गते साँझ भालुवाङमा थारु संस्कृतिमा आधारित साङ्गीतिक कार्यक्रम तथा बुटवल र भैरहवामा नौमती बाजा र भोजपुरी संगीतबाट कार्यक्रमको आरम्भ गरिने पौवाका ब्राण्ड प्रमुख विष्णु भण्डारीले बताए। भण्डारीका अनुसार चैत्र ३० गतेको साँझलाई भालुवाङमा पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियार लगायतका कलाकारहरुले मनोरञ्जन प्रदान गर्नेछन् भने बुटवलमा निशान भट्टराई, बालिका प्रधान, विशाल राईका साथ भ्वाईस द ब्याकअप ब्याण्डको प्रस्तुति रहनेछ।
भैरहवामा राजनराज शिवाकोटी, मिलन नेवार, भानुभक्त ढकाल, नेपाल आइडलका विजेता भुपेन्द्र थापा मगरको उपस्थिति रहनेछ।
कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको ब्राण्ड प्रमुख भण्डारीले बताए। ‘५० रुपैयाँदेखि विविध प्रकारका खाजा र खानाको व्यवस्था गरिएको छ’, भण्डारीले भने, ‘कार्यक्रम हेर्न आउने आमन्त्रितहरूलाई निमन्त्रणा कार्ड साथमा लिएर आउन आग्रह गरिएको छ।’
‘पछिल्लो समय अङ्ग्रेजी नयाँ वर्षलाई नेपालमा महत्त्व दिन थालिए पनि पौवाले नेपालीहरूले वर्षौंदेखि मनाउँदै आएको चैत्र मसान्तमा पुरानो साललाई विदाई र नयाँ सालको स्वागत गर्नेगरी कार्यक्रम तय गरिएको छ,' पौवाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
चैत २७, २०७८ आइतबार ०८:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।