रणवीरसँग विवाह गर्न लागेकी आलिया भारतीय नागरिक होइनन्

रणवीरसँग विवाह गर्न लागेकी आलिया भारतीय नागरिक होइनन्

एजेन्सीः विक्की कौशल र कटरिना कैफ, रणवीर सिंह र दीपिका पादुकोणको विहेपछि बलिउडमा एकपटक फेरि स्टार जोडीहरू विवाह बन्धनमा बाधिँदैछन्। यही अप्रिल १४ तारिखमा रणवीर कपूर र आलिया भट्टको विवाह हुँदैछ।

विवाहको मिति नजिकिएसँगै मिडियामा विभिन्न गशिपहरू पनि बाहिर आउन थालेका छन्। चलचित्र, व्यक्तिगत सम्बन्धदेखि नागरिकताको विषयमा पनि फ्यान र मिडियाले फलोअप गरिरहेका छन्।

यहीबीच आलियाको नागरिकताको कुरा जोडतोडसाथ उठिरहेको छ। आलियासँग भारतको नागरिकता छैन। उनी कानूनतः भारतको नागरिक होइनन्। उनी बेलायतकी नागरिक हुन्।

अघिल्लो पटक भारतको विधान सभा निर्वाचनको क्रममा आलियाले मताधिकार र आफ्नो नागरिकताको बारेमा कुरा उठाएकी थिइन्। त्यसबेला उनले भनेकी थिइन्, 'दुर्भाग्यवश मैले भोट हाल्न पाउँदिनँ। किनकी मसँग ब्रिटिश पासपोर्ट छ। अर्को चुनावसम्मा ड्युल नागरिकता पाएँ भने म भोट हाल्न कोशिस गर्नेछु।'

तर दुर्भाग्यवश नै भन्नुपर्छ भारतमा हालसम्म पनि ड्युल नागरिकताको व्यवस्था छैन।

बलिउडमा दशकौँअघिदेखि सक्रिय महेश भट्टकी छोरी आलियाले कसरी बेलायतको नागरिकता पाइन् त? यसबारे महेश भट्ट आफैँले एक खुलासा गरेका थिए। उनका अनुसार आलियाकी आमा सोनी राजदान ब्रिटिश मूलकी हुन्। उनको जन्म बर्मिङ्घममा भएको थियो। यसकारण आलियाले स्वतः ब्रिटिश नागरिकता पाएकी हुन्।

बलिउडमा आलिया मात्र होइन थुप्रै कलाकार विदेशको नागरिकता होल्ड गर्छन्। तिनमा अक्षय कुमार, दीपिका पादुकोण, इमरान खान, कटरिना कैफ लगायत छन्।

चैत २६, २०७८ शनिबार १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।