नयाँ पुस्तालाई खै त कलाकार ?
फिल्म के हो?
-निर्देशकको आँखाले देखेको कुरा आम दर्शकलाई देखाउनु।
आम दर्शकले अर्काको आँखाले देखेको कुरा आफ्नो आँखाले किन हेर्ने?
-मनोरञ्जन लिन।
मनोरन्जन कसरी लिन सकिन्छ?
-जब दर्शकले मुख्य पात्रमा आफूलाई काल्पनिक रुपमा देख्न थाल्छ।
फिल्म क्षेत्रका प्रायः मानिसलाई बारम्बार दोहोरिने प्रश्न र उनीहरुले दिने उत्तर हुन् यी। तर के नयाँ पुस्ताले अहिले बनिरहेका फिल्ममा आफूलाई कल्पना गर्न सक्ला त?
कुलेश्वर नजिकै रहेको एक विद्यालयमा ९ कक्षामा पढ्ने सुरविना सापकोटालाई कोरियन पप ब्याण्ड बिटिएसका केटाहरु निकै मनपर्छ। ब्याण्डका गीत र नाच मात्रै हैन, उनीहरुले प्रयोग गर्ने फिनको पनि फ्यान हुन् उनी।
सुरविना नेपालको प्रतिनिधित्व गर्ने सच्चा आर्मी (बिटिएसका फ्यानहरु आफूलाई आर्मी भन्न रुचाउँछन्) मान्छिन् आफूलाई।
बिटिएस मन पर्नुको एउटै मात्रै कारण, उनीहरु सुरविनालाई आफ्नै उमेरका जस्ता लाग्छन्। उनी भन्छिन्, 'हामी जस्तो समस्या झेलिरहेका छौं, बिटिएसले त्यस्तै विषयमा गीत बनाउँछ। उनीहरुले हाम्रो रुचि र समस्यालाई बुझ्छन्। नेपाली कलाकारले हाम्रो कुरा बुझ्दैनन्।'
चलेका फिल्ममा कस्ता छन् कलाकार
फिल्म 'लुट' ले नेपाली फिल्ममा नायकको परिभाषा परिवर्तन गर्यो। हिरो भनेको अग्लो, सिक्स प्याक शरीर बनाएको, ह्यान्डसम हुनुपर्छ भन्ने मापदण्ड परिवर्तन गर्यो लुटले।
लुटले परिवर्तन गरेको मापदण्डकै कारण सिर्जना सुब्बा, सरिता गिरी, मेनुका प्रधान, दयाहाङ राई, विपिन कार्की, विल्सनबिक्रम राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, बुद्धि तामाङ, विजय बराल जस्ता कलाकारहरु फिलमा मुख्य भूमिकामा देखिए।
चर्चामा रहेका यी कलाकार राम्रो अभिनय गर्ने कलाकारका रुपमा चिनिन्छन्। रंगमञ्चमा नाटक खेल्दाखेल्दै पर्दामा आएका यी कलाकारले आफ्नो एक प्रकारको फ्यान फलोइङ बनाउन सफल भएका छन्।
नयाँ कलाकार नआएका हैनन्। अनमोल के.सी, सुहाना थापा, प्रदीप खड्का, साम्राज्ञी आरएल शाह लगायतका कलाकार नेपाली फिल्ममा छन्। डेब्यु भएर नामै नसुनेका कलाकार पनि टन्नै छन्। तर उनीहरुले किशोर-किशोरी दर्शकलाई आकर्षित गर्न सकेका छैनन्।
झण्डै तीस वर्षको हाराहारीमा पुगेका यी नयाँ पुस्ताका कलाकारलाई १५/१६ वर्षमा प्रवेश गरिरहेका दर्शकले अपनत्व महसुस गर्न नसकेका हुन्।
नयाँ पुस्ता छैन आकर्षित
अहिले चल्तीमा रहेका कलाकारले नयाँ पुस्तालाई आकर्षित गर्न सकेका छैनन्। कक्षा ८ मा पढ्दै गरेका कविर श्रेष्ठ भन्छन्, 'म दयाहाङ राईको फिल्म 'कबड्डी कबड्डी' हेर्न ममी-बाबासँग हलमा गएको थिएँ। ममी-बाबाले एकदमै इन्जोय गर्नुभयो। तर मलाई भने फिल्म मनै परेन।'
कविरका अनुसार फिल्ममा भएका कलाकार र त्यहाँ समेटिएका कथावस्तुले उनलाई रिलेट नै गराउन सकेन। नेपालमा बनेका कुनै पनि फिल्मले अहिलेसम्म आफूलाई प्रभाव पार्न नसकेको उनले बताए।
कविरले भने, 'अनमोल केसीको फिल्म 'क्याप्टेन' हलमा लाग्दा स्कुल बंक गरेर साथीहरुसँग गएको थिएँ। तर फिल्ममा सामान्य भिएफएक्समा समेत राम्रो काम भएको रहेन छ।' फिल्म हेरुन्जेल कतिबेला सकिएला भन्ने सोचेर बसें। हलभित्र थुनेर फिल्मले मलाई ह्यारेसमेन्ट गरेजस्तो फिल भयो।'
कविरले स्पोर्स्ट्ससँग सम्बन्धित फिल्म धेरै मनपर्ने बताए। भने, 'म त विदेशमा बनेका फिल्म, सिरिज हेरिरहेको हुन्छु। नेपालमा पनि खुब राम्रो होला भनेर 'क्याप्टेन', 'डमरुको डण्डिबियो' जस्ता फिल्म हेर्न गएँ। फिल्ममा न त कलाकारले आफूलाई रिलेट गराउन सके, न कथा र मेकिङ नै।'
कविरकै साथी अनुभव सापकोटालाई भने भिएफएक्स गरिएका साइन्स फिक्सन (साइफाई) फिल्म मनपर्छ। उनी भन्छन्, 'स्पाइडर म्यान, ब्याट्स म्यान जस्ता फिल्म मनपर्छ। नेपालमा त्यस्ता फिल्म बन्दैनन्। त्यसैले नेपाली फिल्म आफ्नो जस्तो फिल नै हुँदैन।'
नयाँ पुस्ताले किन मन पराउँदैनन् फिल्म?
केही समयअघि प्लान इन्टरनेसनल नामक गैरसरकारी संस्थाले किशोर-किशोरीका लागि फिल्म कत्तिको आत्मीय छ भन्ने विषयमा एक रिपोर्ट सार्वजनिक गरेको थियो। जसमा उनीहरुले फिल्मका कथामा आफूलाई कत्ति पनि स्थान नदिइएको गुनासो गरेका थिए।
कलाकार ३० वर्ष उमेर काटेका, न कथामा अटाउने, न उनीहरुलाई रुचि लाग्ने विषयमा नै फिल्म बन्ने। अनुसन्धानकै क्रममा धेरै किशोर-किशोरीले देखाइहाले पनि आफूहरुलाई नकारात्मक भूमिकामा देखाउने गरेको बताएका थिए।
उक्त रिपोर्टमा किशोर-किशोरीलाई घरको काम नसघाउने, जत्तिखेरै मोबाइल चलाउने, बाबु-आमाले भनेको नमान्ने जस्ता चरित्रमा मात्रै राखिने गरेको भन्दै उनीहरुले विरोध गरेको उल्लेख थियो।
गौथली इन्टरटेटमेन्ट नामको एक संस्था 'परिवर्तनका लागि सिनेमा' भन्ने अभियानमा छ। यसकी संस्थापक तथा निर्देशक साहारा शर्माले केही महिनाअघिको कुराकानीमा किशोर-किशोरीको कथा र उनीहरुकै उमेरको कलाकार नभएकाले उनीहरु नेपाली फिल्ममा आकर्षित हुन नसकेको बताएकी थिइन्।
'मैले 'चेजिङ रेन्बोज' भन्ने फिल्म बनाएँ। जसमा गाउँबाट आएका किशोर-किशोरीको सहरी बसाइ उल्लेख छ। यो फिल्मलाई राम्रो भनेर प्रतिक्रिया दिने मानिसहरु प्रायः डेरामा बसेका किशोर-किशोरी थिए, उनले भनेकी थिइन्, 'फिल्मको आ-आफ्नै टार्गेट अडियन्स हुन्छन्। किशोर-किशोरीलाई टार्गेट गरेर फिल्म बन्न सकेका छैनन्। यो तितो सत्य स्वीकानैपर्छ।'
चैत २६, २०७८ शनिबार ०७:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।