वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त नगरपालिका घोषणा

वीरेन्द्रनगर कर्णालीकै पहिलो कोभिड पूर्ण खोपयुक्त नगरपालिका घोषणा

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई कोरोना विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ। लक्षित जनसंख्या भन्दा बढीलाई कोरोना विरुद्धको पूर्ण खोप लगाएपछि वीरेन्द्रनगर कर्णालीकै पहिलो पूर्ण खोपयुक्त स्थानीय पालिका घोषणा भएको हो।

कोभिड–१९ विरुद्धको पूर्ण खोप वीरेन्द्रनगरका शत् प्रतिशत नागरिकले लगाएपछि औपचारिक रूपमै पूर्ण खोप पालिका घोषणा गरिएको छ। नगरपालिकाले सुरुवाती चरणमा ९९ सय हजार नौ सय पाँच जनालाई कोभिड विरुद्धको पूर्ण खोप दिने लक्ष्य राखे पनि चैत २३ गतेसम्म एक लाख १८ हजार नौ सय ४६ जनालाई पूर्ण खोप दिएको छ। 

वीरेन्द्रनगरका १६ वटै वडामा अनिवार्य खोप कार्यक्रम सञ्चालन गरिएको थियो। कर्णाली प्रदेशको राजधानी भएक कारण पनि वीरेन्द्रनगरमा जनघनत्व धेरै छ। राजधानी भएकै कारण पनि बाह्य जिल्लाका नागरिकको बसोबास पनि धेरै छ। खोप अभियानमा बाह्य नागरिक समेत समेटिएको वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीले जानकारी दिए। 

कोरोना महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका बेला संक्रमित हुने संख्याको आधारमा वीरेन्द्रनगरलाई रेडजोनमा राखिएको थियो। कोरोनाको तीनै लहरका कारण वीरेन्द्रनगर नगरपालिकाभित्र करिब साढे पाँच हजार नागरिक कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट संक्रमित बनेका थिए।

हाल वीरेन्द्रनगरमा संक्रिय संक्रमितको संख्या शून्य छ। वीरेन्द्रनगरमा कोरोना संक्रमितको उपचार तथा रेखदेखका लागि नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालसहित १९ वटा स्वास्थ्य संस्थाहरू छन्। नगरपालिकाले यी १९ वटै संस्थाहरुबाट खोप सेवा सञ्चालनमा ल्याएको छ। वीरेन्द्रनगरको हकमा कोभिडको पूर्ण खोप लगाउनेमा पुरुषभन्दा महिलाको संख्या धेरै छ।

पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ नगरका २९ हजार घरधुरीमा स्वयंसेविका तथा स्वास्थ्यकर्मी परिचालन गरेर खोप अभियान सञ्चालन गरिएको निरीक्षक गिरीले बताए। 

‘लक्षित जनसंख्यालाई खोप लगाइसकेपछि पनि हामीले नगरका १६ वडामै प्रत्येक नागरिकको घरदैलोमा स्वास्थ्य स्वयंसेविका परिचालन गरी खोप लगाउन बाँकी रहेका नागरिकको तथ्याङ्क लियौँ र उहाँहरुलाई तोकिएको स्वास्थ्य संस्थामा बोलाएर खोप लगायौं,’ गिरीले भने, ‘त्यसपछि पनि पुनः स्वास्थ्यकर्मी नै पठाएर खोप पाए–नपाएको यकिन तथ्यांक संकलन गरेका थियौं। तथ्यांकले सबै नागरीकले खोप पाएको देखाएपछि पूर्ण खोपयुक्त नगर घोषणा गर्न सफल भएका हौँ।’

कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले कोभिड–१९ विरुद्धको पुर्ण खोप लगाउने प्रदेशकै पहिलो पालिका वीरेन्द्रनगरलाई धन्यवाद दिँदै क्रमस कर्णालीका अन्य पालिकालाई पनि पुर्ण खोप पालिका घोषणा गर्ने बताए।

यस्तै खोपयुक्त नगर घोषणाका लागि नगरका शत प्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डअनुसार लक्षित समुदायका नागरिकलाई खोप उपलब्ध गराएर खोपयुक्त नगरपालिका घोषणा गर्न सफल भएको नगर प्रमुख देवकुमार सुवेदीले बताए। तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत बढी नागरिकलाई खोप लगाइएको सुवेदीले जानकारी दिए।

‘खोपयुक्त नगर घोषणा गर्यौँ भन्दैमा खोप अभियान स्थगित नै गरिएको भने हैन,’ नगर प्रमुख सुवेदीले भने, ‘घोषणाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले नगरलाई पूर्ण खोपयुक्त घोषणा गरिएको हो। खोप लगाउन छुटेका नागरिकहरूलाई खोप लगाउने अभियान भने निरन्तर जारी नै रहन्छ।’

चैत २५, २०७८ शुक्रबार १८:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।