बुटवलमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
बुटवल : बुटवलमा आगामी वैशाखमा राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा बुटवल ११ देविनगर माझगाउँ स्थित नवदिप कवर्ड हलमा दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको हो।
प्रतियोगिता बैशाख ७ देखि १० सम्म हुनेछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक बुटवल ब्याडमिन्टन क्लबले पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। क्लबका अध्यक्ष गोपाल टण्डनले प्रतियोगितामा पाँच विद्यामा खेलहरू खेलाइने बताए।
मेन्स सिङ्गल, मेन्स डबल्स भेट्रान्स ४५ वर्ष माथि, ५५ वर्षमाथि र महिला सिङ्गल खेलहरू खेलाइने छ। प्रतियोगिताको मेन्स सिङ्गल र मेन्स डबलतर्फ प्रथम पुरस्कार ५० हजार रुपैयाँ, द्वितीय ३० र तृतीयलाई २० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए। यसै गरी भेट्रान्स ४५ वर्ष माथि उमेर समूह र महिला सिङ्गलमा प्रथमलाई ३० हजार रुपैयाँ, द्वितीय २० र तृतीयलाई १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने पनि उनले जानकारी दिए।
यसै गरी ५५ वर्षमाथि भेन्ट्रान्स समूहको प्रथमलाई २० हजार रुपैयाँ, द्वितीय १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। प्रतियोगितालाई मेन स्पोन्सर लुम्बिनी वर्ड स्कुल मधवलिया रहेको छ। प्रतियोगिताका संयोजक शम्भु भट्टराईले २० लाख ६० हजार खर्च अनुमान गरिएको प्रतियोगितामा विभिन्न खेल प्रेमी तथा संघ संस्थाहरुबाट सहयोग मिलेको बताए। क्लबका प्रथम उपाध्यक्ष पंकज ज्ञवालीले खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको बताए।
प्रतियोगिता २ सय ८ जना खेलाडी र करिब १० हजार दर्शकहरूले अवलोकन गर्ने अपेक्षा क्लबले गरेको छ। क्लबमा हाल ३४ आजीवन र ५५ जना साधारण सदस्य गरी ८९ जना छन्। क्लबले यसअघि अन्तर विद्यालय २ पटक, क्षेत्रिय स्तरको ४ पटक, लुम्बिनी प्रदेशस्तरीय २ पटक र पहिलो संस्करणको राष्ट्रिय प्रतियोगिता सम्पन्न गरिसकेको छ।
चैत २५, २०७८ शुक्रबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।