चैत २६ गतेसम्म आ-आफ्नो दलको मत ल्याउने लुम्बिनी गठबन्धनको निर्णय
बुटवल । लुम्बिनी प्रदेशमा बनेको पाँच दलीय गठबन्धनको बैठकले २६ चैत सम्म आ-आफ्ना दलको मत बैठकमा ल्याउने निर्णय गरेको छ। प्रदेशका १२ वटै जिल्लाबाट सबै दलहरुले आफ्नो पक्षमा रहेको मत गठबन्धनमा बुझाउने निर्णय बैठकले गरेको छ।
२३ चैतमा समाजवादी बाहेक बसेको गठबन्धनले चुनाव प्रभावकारी बनाउने निर्णय गरेको थियो। उक्त निर्णयमा सहभागी नभएको समाजबादीले आफुहरुलाई हेला गरेको बताएको थियो। तर बिहीबार साँझ बसेको बैठकमा भने एकीकृत समाजवादीको समेत उपस्थिति रहेको थियो।
पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा गठबन्धनलाई अझै बलियो बनाउने निर्णय गरिएको दलका नेताहरुले विज्ञप्ति मार्फत जनाएका छन। बैठकले पाँच वटै दलका नेताहरुले स्थानीय तहको निर्वाचनको लागि सबै जिल्लाको आ–आफ्नो दलको मतको धरातलीय अवस्था चैत २६ सम्म तयार गरी गठबन्धनको संयन्त्रमा ल्याउने र २७ गते अर्को बैठक बस्ने निर्णय गरेको नेपाली कांग्रेसका प्रदेश अध्यक्ष अमरसिंह पुनले जानकारी दिए।
प्रदेशका १०९ स्थानीय तहमै मत विश्लेषणका आधारमा सम्मानजनक रूपमा सिट बाँडफाँट गरी गठबन्धनलाई व्यवहारिक रूपमा मजबुद र बलियो बनाउने सहमति बैठकमा भएको उनको उनको भनाइ छ।
बैठकमा माओवादी केन्द्रका लुम्बिनी इञ्चार्ज चक्रपाणि खनाल, मुख्यमन्त्री कुल प्रसाद केसी सहितको बैठकमा नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन मगर, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष मेटमणी चौधरी, जनता समाजवादी पार्टी लुम्बिनीका अध्यक्ष अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी उपाध्यक्ष बद्रे आलम सहभागी थिए।
चैत २५, २०७८ शुक्रबार १७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।