कर्णाली प्रदेशकै पहिलो कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका बन्यो वीरेन्द्रनगर

कर्णाली प्रदेशकै पहिलो कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका बन्यो वीरेन्द्रनगर

सुर्खेतः जिल्लाको वीरेन्द्रनगर नगरपालिका कोभिड–१९ विरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ। प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले बिहीबार एक समारोहका बीच वीरेन्द्रनगरलाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरेका हुन्।

उनले वीरेन्द्रनगरलाई पहिलोपटक कोभिडविरुद्धको पूर्ण खोपयुक्त नगर घोषणा गरिएको दिनलाई कर्णालीका लागि ऐतिहासिक दिनका रूपमा आफूले लिएको बताए।

“कर्णालीका बाँकी ७८ वटै पालिकामा नागरिकलाई कोरोना खोपको पहुँचमा पुर्याई पूर्ण खोपयुक्त पालिका घोषणा खोप अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध छ”, उनले भने, “पूर्ण खोपयुक्त पालिका बनाउन आवश्यक खोप तथा जनशक्ति उपलब्ध गराइएको छ, खोप अभियान अझै पनि सञ्चालनमै छ।”

नगरप्रमुख देवकुमार सुवेदीले नगरका शतप्रतिशत नागरिकले खोप लगाएको हुनुपर्ने मापदण्डअनुसार लक्षित समुदायका नागरिकलाई पूर्णखोप उपलब्ध गराएर सफलता प्राप्त गरेको बताए। तोकिएको लक्ष्यभन्दा १९ प्रतिशत बढी नागरिकलाई खोप लगाइएको उनको भनाइ छ। 

नगर उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाका १६ वटै वडाका २९ हजार घरधुरीमा पुगेर खोप अभियान सञ्चालन गरिएको जानकारी दिइन्।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक भूपेन्द्रदेव गिरीका अनुसार नगरभित्रका ९९ हजार ९०५ जनालाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य थियो। चैत २३ गतेसम्म एक लाख १८ हजार ९४६ जनालाई कोभिडको पूर्णखोप लगाइएको छ। यो लक्षित सङ्ख्याको १९ प्रतिशत बढी हो। 

वीरेन्द्रनगरमा नगर अस्पतालसहित १९ वटै स्वास्थ्य संस्थामा नियमित खोप अभियान सञ्चालनमा छ। कोभिड–१९ महामारीको पहिलो, दोस्रो र तेस्रो लहरका बेला सङ्क्रमित सङ्ख्याका आधारमा वीरेन्द्रनगर ‘रेडजोन’मा थियो। हाल वीरेन्द्रनगरमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेको छ।

चैत २५, २०७८ शुक्रबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।