गुल्मीमा चुनावी जोड-घटाउ : ज्ञवाली-विष्ट, झाँक्री र भण्डारीमा को बलियो ?

बुटवल : स्थानीय चुनावको मिति नजिकिँदै गर्दा गुल्मी जिल्लामा मत परिणामको अड्कलबाजी सुरु भएको छ। २०७४ सालको स्थानीय चुनावमा १२ मध्ये ७ वटा पालिकमा एक्लै चुनाव जितेको एमालेले यस पटक कति सिट हात पार्ला भन्ने विषयमा धेरैको चासो रहेको छ।
एमाले नेता प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, कांग्रेस नेता चन्द्र भण्डारी र समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको गृहजिल्ला समेत भएकोले गुल्मीलाई निकै महत्वका साथ हेरिएको छ।
त्यसो त नेकपा एमालेका दुई केन्द्रीय सचिव तथा पूर्वमन्त्रीहरु प्रदीप ज्ञवाली र गोकर्ण विष्टको गृह जिल्ला गुल्मीमा अहिले समाजवादी पार्टीको पनि उपस्थिति छ। युवा नेतृ रामकुमारी झाँक्री यही जिल्लाकी हुन्। उनी एमाले छाडेर समाजवादीतर्फ गएपछि यहाँको चुनावी नजिता कस्तो हुन्छ, धेरैलाई चाख लाग्नु स्वभाविक पनि हो।
अन्य जिल्लामा जस्तै गुल्मीमा गठबन्धनबीच तालमेल हुने निश्चित जस्तै छ। यद्यपि, सहमति भने भइसकेको छैन्। यदि गठबन्धन कायम रहे जिल्लामा एमालेको उपस्थिति कमजोर हुने आकलन अनुसार केही दिनयता गठबन्धनको बैठकले सहमतिको प्रयास जारी राखेको छ।
२०७४ सालको निर्वाचनमा पनि कांग्रेस र माओेवादीबीच गठबन्धन रहेकै अवस्थामा ७ वटा पालिकामा प्रमुख र ९ पालिकामा उपप्रमुख एमालेले जितेको थियो। नेकपा एकतापछि पार्टी टुक्रिँदा धेरै माओवादी कार्यकर्ता एमालेमा प्रवेश गरेकाले २०७४ कै नजिता दोहोरिनेमा एमालेका नेताहरु ढुक्क छन्। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको पार्टी समाजवादीले जिल्लामा फरक नपर्ने तर्क एमालेको छ।
एमालेलाई जसरी पनि पराजित गर्ने रणनीति गठबन्धनले लिए पनि जिल्लामा एमालेको उपस्थिति बलियो रहेको एमाले जिल्ला अध्यक्ष बालसिंह काउछाले बताए। गठबन्धन भएर आए पनि विगतको विरासत एमालेले जोगाउने उनको दावी छ।
नेपाली कांग्रेसका जिल्ला सभापति खिलध्वज पन्थी भने गठबन्धनको चुनावी तालमेल भए जिल्लाबाट एमालेलाई पत्तासाप पार्ने बताउँछन्। समाजवादीले केही मत काट्ने भएकाले पनि गठबन्धनको जित सजिलै हुने उनको बताइ छ।
को-को छन् आकांक्षी
गठबन्धन कायम रहे धेरै स्थानमा जनप्रतिनिधि दोहोर्याउने रणनीति एमालेले बनाएको छ। पाँच वर्ष गरेका काम देखाउँदै निर्वाचनमा होमिँदा मत माग्न सजिलो हुने भएकाले यस पटक आवश्यकताका आधारमा केही नेतालाई दोहोर्याउने रणनीतिमा एमाले छ।
मालिका गाउँपालिकाबाट यस पटक पनि एमालेबाट रितबहादुर थापा दोहोरिन सक्ने आकलन गरिएको छ। यद्यपि, त्यहाँ एमालेबाट थापा सहित वडा नम्बर ६ का वडाध्यक्ष शोभाखर गिरी, पालिका अध्यक्ष ओम कार्की लगायतका अध्यक्ष पदमा आकांक्षी छन्।
अघिल्लो निर्वाचनमा कांग्रेसका ज्ञानबहादुर कार्कीलाई पराजित गर्दै विजयी बनेका थापा पार्टीले जिम्मेवारी दिए पूरा गर्न आफू तयार गरेको बताउँछन्। अघिल्लो निर्वाचनमा थापाले ४ हजार ४२ मत प्राप्त गर्दा कांग्रेसका कार्कीले ३ हजार ४४७ मत र माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार देवीराम अर्यालले २ हजार ४० मत प्राप्त गरेका थिए।
यता गठबन्धनले मालिका गाउँपालिकामा भागबन्डा टुंग्याएको छ। गठबन्धनको तर्फबाट माओवादीका देविराम अर्याल अध्यक्षमा उम्मेदवार हुनेछन्। उपाध्यक्ष भने कांग्रेसको भागमा परेको छ। अर्याल गएको निर्वाचनमा एमालेका थापासँग पराजित भएका थिए।
रेसुंगा नगरपालिकामा यस पटक ई राजेन्द्र पाण्डे र हरि पोखरेल, कृष्ण भण्डारी नगर प्रमुखका आकांक्षी हुन्। गएको निर्वाचनमा कांग्रेसको गढ मानिएको रेसुंगामा एमालेका डिल्लीराज भुसाल कांग्रेसका भुवनप्रसाद श्रेष्ठलाई पराजित गर्दै विजयी भएका थिए। भुसालले ६ हजार ४०५ मत प्राप्त गर्दा श्रेष्ठले ६ हजार २१८ मत प्राप्त गरेका थिए।
यस पटक रेसुंगा नगरपालिकामा कांग्रेसले आफ्नो सान फर्काउन चाहेको छ। कांग्रेसबाट अघिल्लो निर्वाचनमा नगर प्रमुखमै पराजित भएका भुवन श्रेष्ठ र अहिलेका सभापति खिलध्वज पन्थीले आकांक्षा देखाएका छन्। त्यस्तै माओवादीबाट अशोक थापाले अध्यक्षमा आकांक्षा देखाएका छन्।
एकीकृत समाजवादीकी नेतृ एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको जन्मस्थान हो मदाने गाउँपालिका। अघिल्लो निर्वाचनमा यो पालिकाबाट अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो। यहाँ समाजवादीको केही प्रभाव छ। तर पनि माओवादीका कार्यकर्ता एमालेमा प्रवेश धेरै भएकाले मदानेमा पनि एमालेले आफ्नो जित सुनिश्चित हुने बताउँदै आएको छ।
एमालेबाट मदानेमा यस पटक प्रेम केसी, सुशील भट्टराई र सरिता खड्काले अध्यक्षमा आकांक्षा देखाएका छन्। माओवादीबाट बुद्धि जिसी, बेगम चन्द, कांग्रेसबाट काशिबहादुर बोहोराले आकांक्षा देखाएका छन्।
मदानेमा यस अघिको निर्वाचनाम एमालेका दानबहादुर केसीले ४ हजार ४२३ मत प्राप्त गरी जित हासिल गरेका थिए भने उनका निकटनम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र कुँवरले २ हजार २६६ मत ल्याएका थिए। यस्तै, माओवादी केन्द्रका बेगमबहादुर चन्दले ७२५ मत हासिल गरेका थिए।
एमाले सचिव गोकर्ण विष्टको गृह पालिका हो इस्मा। अहिले यहाँको अध्यक्षमा एमालेका लक्ष्मण विष्ट छन्। अघिल्लो निर्वाचनमा कांग्रेस र माओवादीका उम्मेदवारलाई हराउँदै विष्ट निर्वाचित भएका थिए। अहिले विष्ट दोहोरिन चाहेका छैनन्।
यो पालिकाको अध्यक्षमा एमाले गाउँपालिकाका अध्यक्ष समेत रहेका राजेन्द्र बिक्रम कुँवरको नाम चर्चामा छ। गठबन्धन हुँदा यो पालिका कांग्रेसबाट भगत खड्का, शेरबहादुर कुँवर र चन्द्र महतको नाम अध्यक्षको आकांक्षीमा चर्चामा छ।
अघिल्लो निर्वाचनमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका माओवादीका भुपाल पोखरेल निर्वाचित भएको गाउँपालिका हो, धुर्कोट। यस पटक पनि भुपाल पोखरेल दोहोरिने चर्चा छ।
गुल्मीमै उत्कृष्ट मानिएको धुर्कोट गाउँपालिकामा पोखरेलले टिकट पाए जित हासिल गर्न सहज हुने अनुमान गठबन्धनले गरेको छ। त्यस बाहेक एमालेबाट कृष्ण घिमिरे, नारायण पोखरेल र कांग्रेसबाट महेन्द्र भण्डारीको नाम चर्चामा छ।
एमालेबाट अध्यक्षमा आकांक्षी देखाएका घिमिरे अघिल्लो निर्वाचनमा भुपालसँग पराजित भएका थिए। भुपाल पोखरेलले ५ हजार ११६ मत प्राप्त गर्दा घिमिरेले ४ हजार ७५३ मत प्राप्त गरेका थिए।
मुसिकोट नगरपालिकामा कांग्रेसका हरिनारायण सापकोटा, मोहन घिमिरे, विष्णुकुमारी सापकोटाको नाम चर्चामा छ। समाजवादीबाट श्रीराम महत नगर प्रमुखमा आकांक्षी देखिएका छन्। माओवादीबाट खुमबहादुर थापा र रुपकलाल श्रेष्ठको नाम चर्चामा छ।
एमालेले भने जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ। बिहीबार वामिटक्सारमा बसेको एमाले मुसिकोट नगर कमिटीको बैठकले सर्वसम्मत रूपमा खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउन सिफारिस गरेको हो। एमाले मुसिकोट नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले सर्वसम्मत रूपमा खरेललाई अगाडि बढाउने निर्णय भएको जानकारी दिए।
रुरुक्षेत्र गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका यदु ज्ञवालीको नाम चर्चामा छ। शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेशको सरकारमा सामाजिक विकास मन्त्री बनेका सुदर्शनका पिए समेत रहेका ज्ञवालीको नाम करिब टुंगो लागेको बताइएको छ।
यसअघि पनि उम्मेदवार रहेका ज्ञवाली एमालेका निलकण्ठ गौतमसँग पराजित भएका थिए। निलकण्ठले ५ हजार २२२ मतका साथ जित हासिल गर्दा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार बनेका ज्ञवालीले ३ हजार ७६३ मतमात्र हासिल गरेका थिए। एमालेबाट अहिले हिमाल श्रेष्ठ, फर्सुराम ज्ञवाली र शेषनारायण ज्ञवालीको नाम चर्चामा छ।
त्यस्तै छत्रकोट गाउँपालिकामा यस पटक एमाले अध्यक्षमा रामप्रसाद पाण्डे र नर्मदा भण्डारीको नाम चर्चामा छ। छत्रकोटमा गठबन्धनको तर्फबाट कांग्रेसका अनन्त पौडेल, धना भण्डारीको नाम चर्चामा छ।
चन्द्रकोट गाउँपालिकाबाट माओवादी केन्द्रका युवराज केसी गठबन्धनको तर्फबाट साझा उम्मेदवार हुने चर्चा छ। एमालेबाट चेतन बस्नेत, हालकी उपाध्यक्ष राधिका अर्याल र सिद्धबहादुर थापाको नाम चर्चामा छ।
यसैगरी कालिकागण्डकी गाउँपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका बेदबहादुर थापाको नाम चर्चामा छ। एमालेबाट रामजी ढकालको नाम चर्चामा छ। माओवादीबाट सञ्जय क्षेत्रीको नाम चर्चामा छ।
सत्यबती गाउँपालिकामा एमालेबाट अमरसिंह सिंजापतिको नाम चर्चामा छ। त्यस्तै कांग्रेसबाट पारिश्वर ढकालको नाम चर्चामा छ। माओवादीबाट युवराज न्यौपाने, पितम्बर ज्ञवाली, सुवर्ण शाहीको नाम चर्चामा छ।
यसैगरी गुल्मी दरबार गाउँपालिबाट एमालेका कृष्णबहादुर भुसालको नाम चर्चामा छ। कांग्रेसबाट प्रेम पुन र मिना भण्डारीको नाम चर्चामा छ। माओवादीबाट मनिराम ज्ञवाली र शेरबहादुर सर्तुङगेको नाम चर्चामा छ।
चैत २५, २०७८ शुक्रबार ०७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।