नाबालिग बलात्कार आरोपित श्रेष्ठलाई अदालतले दियो सफाइ

नाबालिग बलात्कार आरोपित श्रेष्ठलाई अदालतले दियो सफाइ

पोखरा : नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरोपितलाई जिल्ला अदालत कास्कीले सफाइ दिएको छ। बलात्कार आरोप लागेका पोखराका एक व्यवसायी र यौन दुर्व्यवहारको आरोप लागेका बैँकरलाई कास्की जिल्ला अदालतले सफाइ दिएको हो।

२०७५ चैतमा किशोरी बलात्कार आरोपमा पक्राउ गरेपछि अदालतबाट धरौटीमा छुटेका व्यवसायी सुन्दर श्रेष्ठ र यौन दुर्व्यवहार आरोप लागेका बैंकर सुवास सुवेदीलाई जिल्ला अदालतले सफाइ दिएको हो।

तत्कालीन पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष रहेका अवस्थामै बलात्कारको आरोप लागेका श्रेष्ठ र यौन दुर्व्यवहार गरेको आरोप लागेका सुबेदीको मुद्दामा कास्की अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले अभियोग दाबी नपुगेको भन्दै फैसला गरेको हो।  

बलात्कार आरोपमा पक्राउ परेपछि भएको थुनछेक बहसमा व्यवसायी श्रेष्ठले ५ लाख र सुवेदी ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। पोखराको लेक साइडमा बस्दै आएकी १६ वर्षीय नाबालिगले श्रेष्ठले आफु सुत्ने कोठाको झ्यालबाट छिरेर बलात्कार गरेको र सुवेदीले संवेदनशील अंग चलाएर यौन दुर्व्यवहार गरेको बयान दिएकी थिइन। 

नाबालिग बस्ने घर र श्रेष्ठको घरसंगै जोडिएकाले कोही नभएको मौका छोपेर झ्यालबाट कोठामा छिरेर पटक पटक बलात्कार गरेको उनले प्रहरीसँग बयान दिएकी थिइन्। अदालतले दुवै जनालाई सफाइ दिने फैसलाको पूर्णपाठ भने आइसकेको छैन। 

चैत २४, २०७८ बिहीबार २२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।