नाबालिग बलात्कार आरोपी व्यवसायी र बैंकरलाई सफाई

नाबालिग बलात्कार आरोपी व्यवसायी र बैंकरलाई सफाई

पोखरा : नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका आरोपितलाई जिल्ला अदालत कास्कीले सफाइ दिएको छ। बलात्कार आरोप लागेका पोखराका एक व्यवसायी र यौन दुर्व्यवहारको आरोप लागेका बै‌करलाई कास्की जिल्ला अदालतले सफाइ दिएको हो।

२०७५ चैतमा किशोरी बलात्कार आरोपमा पक्राउ परेपछि अदालतबाट धरौटीमा छुटेका व्यवसायी सुन्दर श्रेष्ठ र यौन दुर्व्यवहार आरोप लागेका बैंकर सुवास सुवेदीलाई जिल्ला अदालतले सफाइ दिएको हो।

तत्कालीन पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष रहेका अवस्थामै बलात्कारको आरोप लागेका श्रेष्ठ र यौन दुर्व्यवहार गरेको आरोप लागेका सुबेदीको मुद्दामा कास्की अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले अभियोग दाबी नपुगेको भन्दै फैसला गरेको हो। 

बलात्कार आरोपमा पक्राउ परेपछि भएको थुनछेक बहसमा व्यवसायी श्रेष्ठले ५ लाख र सुवेदी ३ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। पोखराको लेक साइडमा बस्दै आएकी १६ वर्षीय नाबालिगले श्रेष्ठले आफू सुत्ने कोठाको झ्यालबाट छिरेर बलात्कार गरेको र सुवेदीले संवेदनशील अङ्ग चलाएर यौन दुर्व्यवहार गरेको बयान दिएकी थिइन्।

नाबालिग बस्ने घर र श्रेष्ठको घरसङ्गै जोडिएकाले कोही नभएको मौका छोपेर झ्यालबाट कोठामा छिरेर पटक-पटक बलात्कार गरेको उनले प्रहरीसँग बयान दिएकी थिइन्। अदालतले दुवै जनालाई सफाइ दिने फैसलाको पूर्ण पाठ भने आइसकेको छैन।

चैत २४, २०७८ बिहीबार २२:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।