बुढानीलकण्ठ घटनाको फैसलाको पूर्ण पाठ : मापसे दुर्घटनालाई न्यायाधीशले बनाइदिए ब्रेक फेल
काठमाडौँ : रक्सी खाएर गाडी चलाई फुटपाथमा हिँडिरहेकी पैदल यात्री लीला देवकोटाको ज्यान लिएको अभियोगमा दोषी ठहरिएका पृथ्वी मल्ल र उनको साथी करिश मास्केको बयानलाई आधार मानेर काठमाडौँ जिल्ला अदालतले नियोजित दुर्घटनालाई आकस्मिक देखिएको भनेर व्याख्या गरेको खुलेको छ।
फैसलाको पूर्ण पाठको व्याख्या र तर्क हेर्दा न्यायाधीश सूर्यप्रसाद अधिकारी प्रतिवादीबाट प्रभावित भएको प्रस्टै देखिन्छ। दुर्घटनालाई नियोजित नभई आकस्मिक बनाउन मल्लको पक्षका प्रमाणहरूको व्याख्या गर्दा मिसिलमा संलग्न त्यसलाई काट्ने प्रमाणतिर ध्यान दिएको देखिन्न। जुन दाबी र तर्कले मल्लले जानाजान दुर्घटना गराएका हैनन् भन्ने पुष्टि गर्न सक्छ पूर्ण पाठमा त्यही-त्यही टेकिएको देखिन्छ।
पूर्ण पाठमा ६ महिना कैद र एक हजार जरिवानाको फैसला गर्न अदालतले प्रतिवादीले अनुसन्धान अधिकारीलाई दिएको भन्दा अदालतमा दिएको बयानलाई मात्रै टेकिएको छ। जबकि मिसिलमा संलग्न प्रमाणहरूले नै उनको बयान काटेको छ। अर्को दुर्घटनाको समयमा गाडीमा रहेका उनी बाहेक तीन जनामध्ये एक करिश मास्केले बदलेको बयानलाई समेत आधार मानिएको छ।
मल्लको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकको बयानमा भेटिएको कमजोरी अनि सम्बन्धित निकायबाट प्रमाणितै नगराई यातायात व्यवस्था विभागले अन्तर्राष्ट्रिय सवारी चालक भनेर पठाएको पत्रलाई नै टेकेर मल्लसँग चार पाङग्रे सवारी चलाउने अनुमति पत्र देखिएको भन्दै रक्सी खाएर जानाजान गरिएको दुर्घटनालाई अनजानवश भएको दुर्घटनाको रूपमा कैद र जरिवानाको फैसला गरिएको पूर्ण पाठले देखाउँछ।
काठमाडौँ जिल्ला अदालतले जाहेरी दिने रामकुमार देवकोटा, करीश मास्के, अर्जुन पाण्डे, सन्तोषी लामा, शङ्कर प्रसाद देवकोटा, मदन पनेरु, सलाउँद्दिन मियाँ र सुरज अधिकारीलाई बकपत्रको लागि बोलाएको देखिन्छ। तर सबैले बकपत्र दिएको देखिँदैन।
बकपत्र दिनेमा बकपत्र दिनेमा पृथ्वी मल्लका साक्षी असीम राणा, नेपाल सरकारको साक्षी कागज गर्ने सुरज चौधरी, जाहेरी दिने रामकुमार देवकोटा, पृथ्वी मल्ल सँगै कारमा रहेका करिश मास्के, स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डा नेन्सी लामा मात्र छन्।
निदाएको अस्वीकार, ब्रेक फेल स्वीकार
बकपत्र दिँदा मल्ल पक्षधर सबैले बयान बदलिएको छ। ग्रिन भ्याली रिर्सोटका सेक्युरिटी गार्ड, कारमा रहेका करिश मास्केले पनि अनुसन्धान अधिकारीलाई दिएको बयान अदालतमा बदलेका छन्। तर बदलिएको बयान विश्वसनीय देखिन्न।
अदालतमा मल्लले जे-जे बयान दिए अन्यको बयान उनले गरेको दाबी पुष्टि हुने गरी दिएको देखिन्छ। अनुसन्धान अधिकारीसँगको बयानमा मास्केसहितको टोली रातभर बियर र ह्विस्की खाएर ठमेल लगायतका क्षेत्र घुमेर बिहान ग्रिन भ्याली रिसोर्ट गएर फर्केर आउँदा दुर्घटना भएको देखिन्छ।
बयान लिएका कारभित्र रहेका साक्षी अनि बयान नलिएका पारमिता आरएल राणाले सञ्चारमाध्यममा बोले अनुसार रिसोर्टबाट फर्कनेक्रममा कारभित्र रहेका सबै जना निदाउँदा यो घटना भएको देखिन्छ। एक्कासि कार अनियन्त्रित भएर विपरीत साइडमा गएर पैदल यात्री लीला देवकोटालाई ठक्कर दिएको उनीहरूको बयान छ।
तर अदालतमा मल्लले रातभर ठमेल लगायतका क्षेत्रमा नघुमी बिहान साथीहरूसँग शिवपुरी जान गाडी निकालेर जाँदा गाडीको ब्रेक नलागेकाले दुर्घटना भएको दाबी गरिएको छ। मल्लको बयानलाई दुर्घटनामा परेको सवारीसाधनको प्राविधिक परीक्षणले पुष्टि गरेको छैन।
अदालतमा दिएको बयान अनि दुर्घटना अनजानमा भएको फैसलाको प्रमाणका स्वीकार गरिएको मल्लको बयानमा उनले भनेका छन् :
'गाडीको गियर १ बाट २ मा सार्न खोज्दा गाडीको स्टार्ट अफ भयो स्टार्ट अफ भए पश्चात् मैले ब्रेक लगाउन खोज्दा ब्रेक जाम भएको थियो। ब्रेक लाग्ने स्टेरिङ लक र ब्रेक नलागे पश्चात् गाडी विपरीत लेनमा गयो स्टार्ट अन गर्न खोज्दा खोज्दै ढ्वाङ आवाज आयो। मेरो टाउको समेत ठोकियो। गाडी स्टार्ट अन पनि भयो। तत् पश्चात् स्टेरिङ काटी आफ्नो लेनमा ल्याएको हो। दुर्घटना हुँदा स्टेरिङ लक र ब्रेक जाम भएकोले मेरो कन्ट्रोलमा गाडी थिएन।'
तर फैसलाको पूर्ण पाठमा राखिएको गाडीको प्राविधिक रिपोर्टमा मल्लले गरेको दाबी पुष्टि गर्दैन। त्यसमा ब्रेक अनि स्टेरिङ पनि ठिक रहेको प्रतिवेदन दिएको थियो। प्रतिवेदनमा भनिएको छ :
'दुर्घटनामा संलग्न बा १४ च ६१२३ नम्बरको कारको अगाडीको दाहिने तिरको टायर फुटेको, डिस फुटेको, साइडमा कोरिएको, दाहिने लुकिङ्ग ग्लास फुटेको, अगाडीको सिसा फुटेको, साइड लाइट, बत्ती ठिक रहेको, ब्रेक लाइट दुवै ठिक रहेको, अगाडीको बम्पर फुटेको, अगाडीको वनर कुच्चिएको, दाहिने हेडलाईट र साइट लाइन फुटेको, हर्न ठिक रहेको, स्टेरिङ ठिक भएको, ह्याण्ड ब्रेक ठिक रहेको, ब्रेक ठिक रहेको र रेडिवाटर किचिएको पाइएको उल्लेख छ।'
तर न्यायाधीशले फैसला गर्दा पृथ्वीको बयानलाई प्रमाण माने तर कारको प्राविधिक रिपोर्टलाई बेवास्ता गरे। उनले ६ महिना कैद र एक हजार जरिवानाको फैसला गर्नुपर्दाको कारण पूर्ण पाठमा यस्तो लेखे :
'यी प्रतिवादीले उक्त दुर्घटना हुँदा आफ्नो गाडीको स्टेरिङ लक भएको र ब्रेक जाम भएको सोही कारणबाट गाडी अर्को लेन तर्फ गएको हो। गाडी दुर्घटना पश्चात् मात्र पुनः स्टेरिङ अन भई स्टार्ट समेत अन हुन गएको अवस्था भएकोले यान्त्रिक गडबडीका कारण प्रस्तुत दुर्घटना भएको भनी बयानमा खुलाएको देखिन्छ।'
यसलाई पुष्टि गर्न न्यायाधीशले मास्केको बयानलाई पनि आधार मानेका छन्। पहिला गाडिभित्र निदाएको बयान दिएका उनले अदालतमा बयान बदल्दै मल्ललाई समर्थन हुने गरी बयान दिएका थिए। बयानमा उनले 'गाडीको आवाज अचानक बदलिएको, गियर बदल्न खोज्दा अचानक आवाज आएको, स्टेरिङ लक भएको, स्टार्ट समेत बन्द भएको, गाडी रोक्न खोज्दा गाडी नरोकिएको, ब्रेक नलागेकोले सडक पेटीमा गाडी ठोकिन पुगेको र गाडी ठोक्किएपछि पुनः स्टार्ट गर्दा गाडी स्टार्ट भएको' दाबी गरे।
अदालतले उनको दाबीलाई प्रमाणको रूपमा स्वीकार गर्यो।
मापसे परीक्षणमा अस्पताल र प्रहरीको बदमासी
प्राप्त प्रमाण अनि अनुसन्धान अधिकारी समक्ष दिएको बयानमा मल्ल घटनाको अघिल्लो दिन एलओडी लगायतका लाउन्जमा घुमेर रक्सी खाएको पुष्टि हुन्छ। एलओडीमा त्यस दिन उनीहरूले खिचेको सामूहिक तस्बिर समेत सार्वजनिक भएको थियो।
प्रारम्भिक बयानमा उनले बियर र ह्विस्की खाएको स्वीकार गरेका पनि छन्। तर अदालतको बयानमा उनले रक्सी खाएको अस्वीकार मात्र गरेनन् रातभर ठमेल क्षेत्रमा घुमेको पनि ढाँटे। अदालतले पनि त्यसैलाई प्रमाणको रूपमा लिएको देखिन्छ फैसलाको पूर्ण पाठमा।
मल्लतर्फका साक्षी असीम राणाले अदालतमा गरेको बकपत्रमा ‘मादक पदार्थ सेवन गरी लापरबाहीसँग गाडी चलाई घटना घटेको भनी सुनेको तर त्यसमा सत्य नभएको दाबी गरेका छन्। उनले भनेका छन् 'मैले भेट्दा बिहानको समयमा निस्कने सज्जन भाइ पृथ्वीले मादक पदार्थ सेवन गरेको होइन। लापरबाहीसँग गाडी चलाएको सत्य होइन। गाडीको स्टार्ट अफ भएपछि अटोमेटिक स्टेरिङ लक भएको कारणले उल्टो दिशामा गई नजानी गाडी कन्ट्रोल गर्न नसकी दुर्घटना भएको थाहा पाए।’
रक्सी खाएर रेस्टुरेन्टमा आएको, केटीलाई अँगालो मार्दै किस खान खोजेपछि म्यानेजरले गाली गरेको बयान गरेका रिसोर्टका सुरक्षा गार्ड सुरज चौधरीले पनि अदालतमा बयान बदले।
उनले अदालतमा भने 'रिसोर्टमा आएको / गएको सम्बन्धमा भएको कुरा मैले भनेको हो। उहाँहरू नाम याद भएन। उहाँहरू ४ जना आउनु भएको थियो। किस खाने र रक्सी खाने कुरा मैले भनेको थिइन। मैले सुरक्षा गार्डको रूपमा काम गर्ने ग्रिन भ्याली रिसोर्टमा आइ उहाँहरूले खाजा खाएर जानु भएको हो।'
चिरायु अस्पतालले रक्सी खाएको हो या हैन भन्ने स्वास्थ्य रिपोर्टमा मल्लले रक्सी खाएको देखिएको लेखिएको छ। तर उनीहरूले रगतको नमुना वा ब्रेथलाइजर प्रयोग गरेको देखिएन। यही कमजोरीलाई अदालतले समेत समातेको देखियो।
स्वास्थ्य परीक्षण गर्ने विशेषज्ञ डा. नेन्सी लामाले बकपत्रमा मल्लले मादक पदार्थ सेवन गरिएको जस्तो निजको बाहिरी अवस्था र श्वास गन्धको आधारमा देखिएको बयान दिए। उनले बयानमा चिरायु अस्पतालमा ब्रेथलाइजर टेस्ट गर्ने सुविधा नभएको र शङ्कास्पद अवस्थामा रगत परीक्षणबाट पनि जाँच गरिए पनि त्यसकालागि अरू नै विशेष अस्पतालको ल्याबहरूमा पठाउनु पर्ने भएका कारण सो नगरिएको खुलाए।
उनले बयानमा २०७६-९-११ मा मल्लको स्वास्थ्य परीक्षण गर्दा श्वास प्रश्वासमा समस्या, खोकी, उच्च रक्तचाप रहेको भनेर खुलाएका छन्। रक्सी सेवन गरेको भनी श्वासको आधारमा पत्ता लगाएको भन्ने उनको दाबीलाई अदालतले मल्लको पक्षको प्रमुख प्रमाण मानेको देखिन्छ।
त्यो समयमा प्रहरीले मादक पदार्थ सेवन गरे/नगरेको परीक्षण गर्न ब्रेथलाइजर प्रयोगमा ल्याइसकेको थियो। यती गम्भीर घटनामा पनि उसले आफूसँगै भएको प्रविधिको प्रयोग गरेको देखिएन। रक्सी खाएर गाडी चलाएर पैदल यात्रीको ज्यान गएको घटनामा अस्पतालका चिकित्सकले हाँ-फूको विधि अपनाएर एक ठुलो प्रमाण नष्ट गराएको देखियो।
सवारी चालक अनुमति पत्रमा बठ्याइँ
मल्लले बयानमा नेपालमै दुई पाङग्रे र चार पाङग्रे सवारी साधन चलाउन पाउने लाइसेन्स लिएको दाबी गरेका थिए। तर प्रहरी अनुसन्धानमा उनले २ पाङग्रे सवारी चलाउने लाइसेन्स पाएको तर सो लाइसेन्स पनि उनले मापसे गरेर चलाएकोमा ट्राफिकले लिएपछि फिर्ता नलिएको देखियो।
पूर्ण फैसलामा मल्लले सवारी चालक अनुमति पत्रबारे दिएको बयान उल्लेख गरिएको छैन। त्यसमा रक्सी खाएको हो हैन र जानाजान दुर्घटना गराएको हो हैन भन्नेमै जोड दिएको देखिन्छ।
उनले गाडी चलाउने अनुमति पत्र प्राप्त गरेको हो या हैन भन्ने प्रमाणका लागि अदालतले यातायात व्यवस्था विभागले पठाएको पत्रलाई प्रमाणको रूपमा स्वीकार गरेको देखिन्छ। फैसलाको पूर्ण पाठमा सवारी चालक अनुमति पत्रबारे न्यायाधीशले 'प्रतिवादीको गाडी चालक अनुमति पत्र हेर्दा अन्तर्राष्ट्रिय गाडी चालक अनुमति पत्र रहेको देखिएको' उल्लेख छ।
अमेरिकाको मेरिल्यान्डबाट मल्लको नाममा निस्किएको सवारी चालक अनुमति पत्र सिकारु रहेको र जुन साइट प्रयोग गरेर सो लाइसेन्स निकालिएको हो त्यो नक्कली भएको खोज पत्रकार उमेश श्रेष्ठले पुष्टि गरिसकेका छन्। उनले मल्लको नाममा लाइसेन्स जारी गर्ने साइटबाट उस्तै प्रकृतिको लाइसेन्स भुस्याहा कुकुरको नाममा निकालेका थिए। यसले पनि मल्लको नाममा जारी भएको भनिएको लाइसेन्स नक्कली रहेको पुष्टि हुन्छ नै।
लाइसेन्स पुष्टिका लागि नेपालस्थित अमेरिकी दूतावासमार्फत पुष्टि गर्न सकिने भए पनि प्रहरी अनि विभागले पनि अनुसन्धानकोक्रममा प्रयासै नगरी गुगल सर्च गरेर नमुना हेरेको आधारमा अन्तर्राष्ट्रिय लाइसेन्स भएको प्रमाणित गरेर गम्भीर अपराधमा मुछिएकाको पक्षमा बलियो प्रमाण जुटाइदिएको देखियो।
प्राविधिक प्रमाणलाई भन्दा बयानलाई मान्यता
प्रतिवादीको बकपत्रलाई मात्र आधार मानेको अदालतले मल्ल गएको भनिएको एलओडी क्लबको सिसिटिभी फुटेज मगाउने प्रयासै गरेको देखिन्न। न प्रहरीले नै उसले मापसे गरेको हो या हैन भनेर बलियो प्रमाण हुनसक्ने लाउन्जको फुटेज नै खोजी गर्यो। मल्लले अदालतमा रातभर घरमा रहेको बयान दिएका थिए। लाउन्जको सो दिनको फुटेज र बिल सङ्कलन गरेको भए उनले सत्य बोलेको हो या हैन र उनले रक्सी खाएको हो या हैन भन्ने बलियो प्रमाण सङ्कलन हुन्थ्यो।
दुर्घटनाको बेलामा सँगै रहेकी पारमिताको बयान त लिइएन नै उनले घटनापछि अन्तर्वार्ता दिँदा बोलेकोलाई समेत सरकारी वकिल कार्यालयका अधिकारीले प्रमाणको रूपमा अदालतमा पेस गर्न सक्थे तर गरेनन्। उनले एक युट्युबवरसँगको कुराकानीमा घटनाको दिन कारमा रहेका सबै निदाउँदा दुर्घटना भएको स्विकारेकी थिइन्। यसले मल्लको दाबी झुटो हो भन्ने पुष्टि गर्न सक्थ्यो।
अदालतले अकाट्य प्रमाणको रूपमा लिइनु पर्ने गाडीको प्राविधिक रिपोर्ट भन्दा प्रतिवादीको बयानलाई बढी पत्याएको फैसलाको पूर्ण पाठमा देखिन्छ। अर्को गाडीको गति २०-२५ किलोमिटर प्रति घण्टाको रफ्तारमा रहेकोलाई समेत गाडी सामान्य अवस्थामा चलेको प्रमाण मानेको छ।
घटनास्थलको मुचुल्का र सवारी दुर्घटना प्रतिवेदनले त्यसलाई काटेको छ। मुचुल्कामा लेखिएको छ :
सडकको पूरा चौडाइ ३४ फिट, सडकको बिच लेन १७ फिटबाट दक्षिणतर्फको सडकको पेटीमा रहेको टायरको डामबाट ४० फिटमा सडक पेटीमा रहेको बिजुलीको पोल कुच्चिएको, पोलबाट १९ फिट पश्चिम देब्रे खुट्टाको लेडिज जुत्ता रहेको बिजुलीको पोलबाट ५ फिट दक्षिण पूर्व फुटपाथमा आलो रगत बगिएको पोलबाट १९ फिट पूर्व सडकमा बा २५ प ७९५० नं. को मोटरसाइकलको अगाडीको सम्पूर्ण पार्टसहरु फुटी क्षतिग्रस्त अवस्थामा रहेको।
सडकको पूर्व उत्तर तर्फ ६७ फिटमा अगाडीको सम्पूर्ण भाग फुटी क्षति ग्रस्त अवस्थामा बा १४ च ६१२३ नं. को कार कुच्चिएको अवस्थामा रहेको। सोही स्थानमा विष्णुमती खोला तर्फबाट बुढानीलकण्ठतर्फ आउँदै गरेको पृथ्वी मल्लले कार चलाई ल्याएको बा १४ च ६१२३ नम्बरको कारले पल्लो साइडबाट हिँड्दै गरेकी पैदल यात्री लीला देवकोटालाई ठक्कर दिई गम्भीर घाइते बनाएको।
यसले सवारी सामान्य गतिमा रहेको र सामान्य अवस्थामा दुर्घटना भएको देखाउँदैन। तर मुचुल्का भन्दा मल्लको बयानलाई न्यायाधीशले पत्याएको देखियो।
न्यायाधीशले गरेको व्याख्या
मिसिल संलग्न कागजात अध्ययन गर्दा यी प्रतिवादीले चलाएको गाडी नं. चा १४ च ६१२३ को निजी कारको ठक्करबाट यी मृतकको मिति २०७६-८-२८ को बिहान अ १०:२० बजे मृत्यु भएको तथ्य दुर्घटना प्रतिवेदन, शव परीक्षण प्रतिवेदन प्रतिवादीको बयान समेतबाट पुष्टि भएको देखिन्छ।
यी प्रतिवादीको के कस्तो कार्य अवस्थाबाट उक्त घटना भएको हो सो तर्फ मिसिल संलग्न कागजात समेत हेर्दा उक्त दुर्घटना बिहान १०: २० बजेको समयमा भएको देखिन्छ। सो गाडीमा बसेका दुर्घटनाका प्रत्यक्ष साक्षी करिश मास्के रहेको देखिन्छ। यी प्रतिवादीले चलाएको गाडीले आफ्नो लेन छोडी अर्को लेनमा गई दुर्घटना भएको देखिन्छ।
उक्त गाडी मारुती सुजुकी रहेको र दुर्घटना हुँदा फुटपाथमाथि गराएको नभई अर्को गलत लेनमा गई दुर्घटना भएको देखिन्छ। सो तथ्यलाई मिसिल संलग्न फोटोबाट पुष्टि भएको देखिन्छ।
यी प्रतिवादीले रक्सी मादक पदार्थ सेवन गरेको हो, होइन भन्नेतर्फ विचार गर्दा यी प्रतिवादीलाई स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र हेर्दा यी प्रतिवादीको रगत परीक्षण नगरेको, बाहिर हेर्दा रक्सी खाए जस्तो देखिएको भनी बकपत्र गरेको देखिन्छ।
यी प्रतिवादीले चलाएको गाडीको गति तर्फ विचार गर्दा अधिकार प्राप्त अधिकारी समक्ष यी प्रतिवादीको बयानमा गाडीको गति २०-३० प्रति घण्टाको गतिमा रहेको भनी बयान गरेको र अदालतमा बयान गर्दा आफूले चलाएको गाडी १५-२० को गतिमा रहेको भनी खुलाएको देखिन्छ।
यी प्रतिवादीले उक्त दुर्घटना हुँदा आफ्नो गाडीको स्टेरिङ लक भएको र ब्रेक जाम भएको सोही कारणबाट गाडी अर्को लेन तर्फ गएको हो गाडी दुर्घटना पश्चात् मात्र पुनः स्टेरिङ अन भई स्टार्ट समेत अन हुन गएको अवस्था भएकोले यान्त्रिक गडबडीका कारण प्रस्तुत दुर्घटना भएको भनी बयानमा खुलाएको देखिन्छ।
प्रस्तुत मुद्दामा दुर्घटना हुँदाका बखत सोही गाडीमा सवार रहेका करिश मास्केले गरेको बकपत्र हेर्दा गाडीको आवाज बदलिएको, गियर बदल्न खोज्दा अचानक आवाज आएको, स्टेरिङ लक भएको, स्टार्ट समेत बन्द भएको, गाडी रोक्न खोज्दा गाडी नरोकिएको, ब्रेक नलागेकोले सडक पेटीमा गाडी ठोकिन पुगेको हो। गाडी ठोकिएपछि पुनः स्टार्ट गर्दा गाडी स्टार्ट भएको हो। घाइतेलाई उपचार तर्फ हामीले लगेको हो। जानी लापरबाही गरी दुर्घटना गराएको होइन। प्रतिवादीले र मैले मादक पदार्थ सेवन गरेको होइन। स्टार्ट बन्द भई स्टेरिङ फेल भएको कारणले दुर्घटना भएको हो भन्ने समेतको ब्यहोराको यी प्रत्यक्षदर्शी रूपमा रहेका सो गाडीमा सवार रहेका करीश मास्केको बकपत्र रहेको।
प्रतिवादीको गाडी चालक अनुमति पत्र हेर्दा अन्तर्राष्ट्रिय गाडी चालक अनुमति पत्र रहेको देखिदा यी प्रतिवादीले गरेको कसुर सवारी तथा यातायात ऐन, २०४९ को दफा १६१ (२) बमोजिमको कसुर नै हो भनी भन्न सकिने मिसिल संलग्न कागजातबाट देखिन आएन।
यी प्रतिवादीले गरेको उक्त कसुर सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ (३) बमोजिमको कसुर रहेको देखिन आएकोले निज प्रतिवादीलाई सोही ऐनको दफा १६१(३) बमोजिम छ महिना कैद सजाय एक हजार रुपैयाँ जरिवाना समेत हुने ठहर्छ।
न्याय कि अन्याय सिरिज
चैत २४, २०७८ बिहीबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।