पाल्पामा ५ दलीय चुनावी गठबन्धन हुने
पाल्पा : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पाल्पामा पाँच दलीय गठबन्धन हुने भएको छ। संघीय सरकारमा सहभागी रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा तथा जनता समाजवादी पार्टीले गठबन्धन गरी निर्वाचनमा जाने भएका हुन्।
बुधबार गठबन्धन दलहरुको संयन्त्रको बैठकले आगामी निर्वाचनमा जिल्लाका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय भएको हो। बैठकले चुनावी तालमेलका सम्बन्धमा कांग्रेस सभापति हिमालदत्त श्रेष्ठको संयोजकत्वमा संयन्त्र बनाएको छ।
उक्त संयन्त्रमा माओवादी केन्द्रका संयोजक नेत्र प्रसाद पाण्डे, एकीकृत समाजवादीका अध्यक्ष खिमानन्द पाण्डे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी र जनता समाजवादीका मेयरमान राना सदस्य रहेको संयोजक श्रेष्ठले बताए। संयन्त्रले गठबन्धन दलहरूबिच आवश्यक छलफल र परामर्श गर्न हरेक दलबाट ३–३ जना सहभागी हुने गरी एक कार्यदल गठन गर्ने निर्णय गरेको छ।
चैत २३, २०७८ बुधबार २१:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।