कर्णालीबाट गठबन्धनले पठायो एमालेलाई ‘क्लीनस्वीप’ गर्न सकिने रिपोर्ट 

कर्णालीबाट गठबन्धनले पठायो एमालेलाई ‘क्लीनस्वीप’ गर्न सकिने रिपोर्ट 

सुर्खेत : कर्णाली प्रदेशबाट गठबन्धन दलहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबै पालिका जित्न सकिने दावीसहित केन्द्रमा रिपोर्ट पठाएको छ। गठबन्धन दलहरुको एकताबाट कर्णाली प्रदेशका ७९ वटै पालिका जित्न सक्ने दाबीसहितको रिपोर्ट केन्द्रमा पठाइएको हो। 

सत्तारुढ गठबन्धन दल मिलेर चुनाव लडेको खण्डमा कर्णालीमा एमालेलाई ‘क्लीनस्वीप’ गर्न सकिने आधारसहित रिर्पोट पठाइएको छ। ‘कर्णालीमा रहेका सत्तारुढ गठबन्धन दलका सबै शिर्ष नेतृत्वहरु बसेर यहाँको अवस्थाका बारेमा आँकलन गरेर त्यसको रिपोर्ट केन्द्रमा पठाएका छौं,’नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाहीले भने, ‘कर्णालीमा गठबन्धन गरेर चुनाव लडेको खण्डमा एमालेलाई सहजै पराजित गर्न सकिन्छ भन्ने रिपोर्ट केन्द्रमा पठाएका छौं।’ २०७४ सालको स्थानीय तहको निर्वाचनमा गठबन्धन दलहरुले प्राप्त गरेको मत परिणामअनुसार सो विश्लेषणसहितको रिपोर्ट केन्द्रमा पठाइएको सभापति शाहीले बताए।

उनका अनुसार कर्णालीमा तीन पटक गठबन्धन बैठक बसे पनि कुन पालिका कसले लिने भन्ने बारे छलफल भएको छैन। अहिले गठबन्धन दलले कुन पालिका कसले लिने भन्ने निर्णय हामीले गरेका छैनौँ। माथि केन्द्रबाट कस्तो निर्देशन आउँछ सोही अनुसार हामी यता निर्णय गर्नेछौं,’उनले भने, ‘ गठबन्धन दलहरुबीच निरन्तर छलफल र बैठक भइरहेको छ।’

केन्द्रबाट भागबण्डाको विषयमा टुंगो लागेपछि पार्टीका जिल्ला कमिटीहरुलाई पालिकाको विषयमा जिम्मा दिइने उनको भनाइ छ।अहिले कर्णालीमा गठबन्धन दलहरुले एमालेलाई कसरी क्लिनस्विप गर्न सकिन्छ भन्ने विषयमा जोड–घटाउ गर्न थालेका छन्। केन्द्रबाटै नेपाली कांग्रेसले औपचारिक रुपमा गठबन्धनको विषयमा टुङ्गो लगाएपछि कर्णालीमा पाँच दलीय गठबन्धन पनि सक्रियरुपमा चुनाव केन्द्रित हुन थालेका छन्।

काँग्रेसका प्रदेश सभापति ललितजंग शाहीको अध्यक्षता, नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादीका पार्टी कार्यालयहरूमा बैठक गर्दै आएका छन्। बैठकमा कांग्रेसका सभापति शाही, नेकपा माओवादी केन्द्र प्रदेश कमिटीकी अध्यक्ष विमला केसी, नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापा, राष्ट्रिय जनमोर्चाका पूर्णबहादुर शाही, जनता समाजवादीका देवीकृष्ण न्यौपाने बैठकमा सहभागी हुँदै आएका छन्।

चैत २३, २०७८ बुधबार १९:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।