लागु औषध र एक लाख नगदसहित दुई जना पक्राउ
सुर्खेत : लागू औषध कारोबार गरिरहेको अवस्थामा सुर्खेत प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। वीरेन्द्रनगर नगरपालिका–१० पदमपुरमा कोठा भाडामा बस्दै आएका उनीहरूलाई लागू औषध नियन्त्रण ब्युरोको टोलीले आज (बुधबार) पक्राउ गरेको हो।
पक्राउ पर्नेमा वीरेन्द्र नगरपालिका–१३ बस्ने २५ वर्षीय वर्णबास बोहोरा र सोही ठाउँका २८ वर्षीय भिमा तामाङ रहेका छन्। उनीहरुले लागू औषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र ब्युरोबाट खटिएको टोलीले नियन्त्रणमा लिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बोहराको कोठा खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने (खैरो पदार्थ) आठ ग्राम ६७० मिलिग्राम, सेतो हिरोईन जस्तो देखिने पदार्थ सात ग्राम १४० मिलिग्राम, डिजिटल तराजु दुई थान, एटिएम कार्ड र नगद एक लाख ५६ हजार १२० रुपैयाँ बरामद गरिएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।
चैत २३, २०७८ बुधबार १७:२६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।