दक्षिण भारतीय फिल्मले सक्काएकै हो त नेपाली फिल्मको बजार !

दक्षिण भारतीय फिल्मले सक्काएकै हो त नेपाली फिल्मको बजार !

काठमाडौँ : ‘नेपाली फिल्ममा एकताका राजेश हमाल युग आयो, जसमा टाउको बिकाउने चलन थियो। पोस्टरमा राजेश हमालको फोटो देख्ने बित्तिकै दर्शक लाइन लागेर हल जान्थे। अहिले नाम बिकाउने चलन छ। 'ए मेरो हजुर ४', 'छक्का पञ्जा ४', 'प्रेमगीत ३', 'म यस्तो गीत गाउँछु २', 'नाइँ नभन्नु ल ५' आदि-आदि।

'योपछि खै के पो बिकाउलान्’, झोला फिल्मका निर्देशक यादवकुमार भट्टराइले नेपाली फिल्मको भविष्यबारे कलाकार रवीन्द्रसिंह बानियाँसँग दुखेसो पोखे। जवाफमा बानियाँ मौन रहे।

हिन्दी फिल्मको प्रभावले हैरान नेपाली फिल्म निर्माता अहिले  अहिले दक्षिण भारतीय फिल्मले नेपाली हलमा गरिरहेको एकछत्र राजले हैरान छन्।

नेपाली फिल्म एक दिन पनि हलमा नटिक्ने अवस्था आइसक्यो। 'हेल्लो जिन्दगी' हलमा लागेको दोस्रो दिनमै उत्रियो।

दक्षिण भारतीय फिल्म २ हप्तासम्म हाउसफुल चल्न थाले। जस्तो आरआरआर तेस्रो हप्ता पनि नेपाली हलबाट उत्रिने संकेत देखिएको छैन। जुन साता आरआरआर रिलिज भयो त्यो साता त कुनै नयाँ नेपाली फिल्म नै रिलिज भएन। अघिल्लो हप्ता रिलिज भएको 'चिसो एष्ट्रे' ले आरआरआरको प्रहार धान्नै सकेन।

अबका दिनमा पनि हरेक हप्ता नेपाली हलमा दक्षिण भारतीय फिल्म रिलिज हुने पक्का छ। हुन त दक्षिण भारतीय फिल्मको बढ्दो प्रभावबारे बलिउडमै बहस सुरु भइसक्यो। सलमान खान जस्ता सुपरस्टारले सोध्न थालिसके'साउथमा हाम्रो फिल्म किन हेर्दैनन् भनेर। 

के अब साउथ फिल्म रिलिज भएको दिन नेपाली फिल्मै रिलिज नगर्ने त?  नेपाली फिल्मको भविष्यबारे पनि बहस सुरु भइसकेको छ। तर यसमा सबैको आ-आफ्नै तर्क छ। कोही भविष्य उज्ज्वल देख्छन्, कोही अन्धकार। अधिकांश भने अलमलमा।

अन्तर्राष्ट्रिय रुपमै चर्चा कमाएको फिल्म 'कालो पोथी'का निर्देशक मीन भामसँग नेपाली फिल्म यस्तो बन्नुपर्छ भन्ने ठोस जवाफ छैन। उनले भविष्य पनि आकलन गरेका छैनन्।

'हामी सिनेमाको भाष्य यस्तो बन्नुपर्छ, उस्तो बन्नुपर्छ भन्ने बहसतिर नलागौँ। इमानदार भएर आफ्नो काम गरौँ। अवश्य कतै पुगिन्छ', उनले भने।

निर्माता समेत रहेका कलाकार रवीन्द्रसिंह बानियाँ नयाँ कन्सेप्ट र कामलाई निर्माताले पत्याउने वातावरण बनेको दिन नेपाली फिल्म उँभो लाग्ने बताउँछन्।

'कला भनेकै बाटो नभएको ठाउँमा हिँड्ने काम हो। हामी आफैँ बाटो खनेर सबैलाई त्यहीँबाट हिँडौँ भन्न सक्दैनौँ। तर यहाँ बिनाबाटो हिँड्नेहरूलाई निर्माताले रिस्क लिन चाहँदैनन्। जब नयाँ कन्सेप्ट र कामलाई निर्माताले पत्याउने वातावरण बन्छ, नेपाली फिल्म उँभो लाग्न समय लाग्दैन', उनले भने।

दुई प्रतिशतले हलमा फिल्म हेरे हुन्छ 'सुपरहिट'

नेपाली फिल्मको दर्शक कति छन्? कहाँ-कहाँ छन्? फिल्मलाई सुपरहिट भन्ने आधार के हो? यी प्रश्नको यकिन तथ्याङ्क र जवाफ त अहिलेसम्म प्रस्ट छैन। तर यदि चलचित्र युनिटले कमाइको रिपोर्ट साँचो दिने हो भने हलमा गएर फिल्म हेर्ने दर्शकको सङ्ख्या भने पत्ता लगाउन सकिन्छ।

हालसम्म सर्वाधिक कमाइ गरेको नेपाली फिल्म 'छक्का पन्जा ३' लाई आधार मान्ने हो भने यसको व्यापार १५ करोड हो। फिल्म युनिटका अनुसार, 'छक्का पन्जा ३' ले मल्टिप्लेक्समा पहिलो दिनमा ८० भन्दा धेरै शो पाएको थियो। नेपालभर दुई सयभन्दा धेरै हलमा एकसाथ प्रदर्शनमा आएको चलचित्रले पहिलो दिनमा झन्डै एक करोड २० लाख कमाएको थियो।

यो भनेको पहिलो दिनमा एउटा टिकटको मूल्य सरदर तीन सय राख्दा झन्डै ४० हजार मानिस हल पुगेर फिल्म हेरे बराबरको रकम हो। फिल्मको ग्रस कलेक्सन १५ करोडलाई आधार मान्दा झन्डै ५ लाख मानिसले छक्का पन्जा ३ हलमा गएर हेरेको मान्न सकिन्छ।

यो भनेको नेपालको कुल जनसङ्ख्याको १.७२ प्रतिशत हो। झन्डै ९८ प्रतिशत नेपालीले हलमा गएर फिल्म हेरेका छैनन्। सर्वाधिक कमाउने नेपाली फिल्मको आँकडाले भन्छ, नेपालको कुल जनसङ्ख्याको झन्डै २ प्रतिशतले मात्रै हलमा गएर हेर्ने हो भने, फिल्म सुपरहिट हुन्छ।

दक्षिण भारतीय फिल्मले देखेको नेपाली बजार

चलचित्र 'राधेश्याम' प्रदर्शनमा आउनुअघि त्यसका नायक प्रभासले एउटा भिडियो सन्देश जारी गरेरै नेपाली दर्शकलाई हलसम्म गएर फिल्म हेर्न आग्रह गरे। रिलिजअघि नै लगानी उठाइसकेको 'आरआरआर' फिल्मका निर्देशक एस.एस. राजामौलीले पनि नेपाली दर्शकका लागि छुट्टै भिडियो सन्देश नै बनाए।

झन्डै साढे तीन करोड लगानी गरेर 'केजीएफ-२' पनि नेपाल भित्र्याइएको छ। त्यसका नायकले पनि नेपाली दर्शकको नाममा अपिल गरिसके हलमा आएर फिल्म हेर्न।  यसले पुष्टि गर्छ- दक्षिण भारतीय फिल्मले नेपालमा ठुलो बजार देखेको छ।

युट्युबमा निःशुल्क फिल्म हेरेरै त्यहाँका प्रायः कलाकार यहाँ सुपरस्टार बनेका छन्। सुरुमा निःशुल्क हेराएर बिस्तारै पैसा उठाउन सुरु गरेको 'साउथ फिल्म'मा यति बेला वितरकहरूको पनि छुट्टै आकर्षण छ।

सुरु-सुरुमा त दुई तीन लाखमा किनेर समेत नेपाल ल्याइएको थियो साउथ फिल्म। अहिले मूल्य छोई नसक्नु छ। आरआरआर साढे तीन करोडमा नेपाल ल्याएका वितरकले केजिएफ-२ लाई त्यो भन्दा बढी तिरेका छन्।

नेपाली फिल्मको लगानी हेर्ने हो भने बढीमा २ करोडसम्म देखिन्छ। जस्तो केजिएफ-२ सँग जुध्न तयार भएको 'ए मेरो हजुर-४ को निर्माणपक्षका अनुसार यसको लगानी २ करोड हो।

यसले एउटा औसत नेपाली फिल्ममा हुने लगानीभन्दा धेरै खर्चेर साउथ फिल्म भित्र्याउँदै छन् नेपाली वितरक। साउथ फिल्ममा दर्शकको क्रेज देखेसँगै वितरकहरू नेपाल भित्र्याउन प्रतिस्पर्धामा उत्रिएका छन्।  

यसको अर्को बहस पनि उठाएको छ- करोड खर्चेर नेपाली हलमा साउथ फिल्म भित्र्याइएपछि नेपाली फिल्मलाई 'शो' किन दिने?

सरदरमा तीन-चार सय करोडमा बनेको फिल्म तीन करोडमा नेपाल ल्याउनु र नेपालमा तीन करोड पनि लगानी नभएको फिल्मले तिनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति सिर्जना भएको छ।

यसले नेपाली फिल्ममाथि चुनौतीको पहाडै उभ्याएको छ।

के भन्छन् वितरक ?

यही विषयमा निर्माता तथा वितरक सुशील पोखरेलले भने, 'कला स्वतन्त्र हुन्छ। अङ्कुश लगाउन मिल्दैन। हामीले अरू देशको फिल्मलाई हलमा नलगाउने भन्ने हुँदैन। अरू देशका फिल्म लागे पनि दर्शकको लाइन नेपाली हलको टिकट काउन्टरमा लगाउने फिल्म बनाउनुपर्यो।'

'यसका लागि के गर्ने त?'

केही समय मौन हुँदै उनले भने- 'राम्रो र मौलिक फिल्म बनाउने, फिल्ममा लगानी बढाउने।'

लगानी बढाउने कुरामा डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्य भने सहमत छैनन्। 'हामीले बजेटमाभन्दा कन्टेन्टमा ध्यान दिन जरुरी छ। सस्तो रकममा सशक्त फिल्म दिनसके मात्रै नेपाली फिल्मको भविष्य उज्ज्वल छ', उनले भने।

चैत २३, २०७८ बुधबार १५:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।